२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जल्दीगाड जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । आयोजनाको प्रवर्धक सांग्रिला हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबिच मंगलबार ६ महिना हिउँद ६ महिना वर्षायाम हुनेगरी टेक और पे मोडलमा पिपिए हस्ताक्षर भएको हो । 

आयोजनाले उत्पादन गरेको विद्युत् हिउँद याममा ८ रूपैयाँ ४० पैसा र वर्षायाममा ४ रूपैयाँ ८० पैसामा विद्युत् प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको छ । आयोजनाका तर्फबाट सांग्रिला हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  

सांग्रिला हाइड्रोपावर प्रालिमा मलेसियामा बसेर विभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल व्यवसायी गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र सञ्चालकहरूमा एनआरएनए आइसिसी उपाध्यक्ष एवम् सफल व्यवसायी आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष एवम् कतारका सफल युवा व्यवसायी राज रेग्मी, युवा व्यवसायी नवीन कँडेल, युवा व्यवसायी रविन गुरुङ सहित व्यवसायी सरोज धितालसमेत रहेका छन भने यसलाई चुस्त र बलियो टिमवर्कसहित अघि बढ्ने न्यौपानेले बताए ।  

उक्त हाइड्रोपावरमा ठुलो लगानी एनआरएनएहरूको रहनेछ भने नेपालमा रहेर विभिन्न क्षेत्रमा अब्बलता कमाएका व्यवसायीहरूको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए । रुकुमपश्चिम आठबिसकोट नगरपालिका वार्ड नम्बर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ ।

विद्युत्गृहदेखि नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेसनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेसनमा जोडिनेछ । आयोजनासम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रूपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक रूपमा १२७.२९ गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन हुनेछ ।

प्रकाशित: २९ भाद्र २०८० ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App