२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कार निर्यातमा चीनले जापानलाई उछिन्यो

जापानलाई उछिन्दै चीन संसारकै सबैभन्दा बढी कार निर्यातकर्ता बन्न पुगेको छ। यससँगै दशकौंदेखि युरोपेली, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरूको रजगज सकिएको छ।

चीनले वर्षौदेखि संसारसँग प्रतिस्पर्धा गर्ने औद्योगिक नीति लिएपछि उसले कार उत्पादन बढाएको थियो। त्यसो त, कार खपतमा संसारमै बढी देखिएको चीनमा केही समययता क्रमशः घट्दो क्रममा छ। उत्पादन बढ्दो तर खपत घट्दो हुँदा, उसले आफ्ना कारहरू निर्यातमा जोड दिइरहेको छ।  

वैकल्पिक इन्धन (इभी)का कारहरूमा यतिबेला चीनको बिवाइडीले सबैलाई उछिनेको छ। सन् २०२१ मा दक्षिण कोरियालाई चीनले कार निर्यातमा उछिनेको थियो। त्यस्तै जर्मनीलाई २०२२ मा उछिनेको थियो भने यस वर्ष जापानलाई उछिन्ने मुडिज डेटाले जनाएको छ। चीनमा सन् २०१७ मा नै घरेलु कार खपत उच्च बिन्दुमा पुगेको थियो। तथापि चीनमा विदेशी कम्पनीका साथै घरेलु कम्पनीले पनि आफूलाई अब्बल साबित गर्न उत्पादनलाई जारी राखे।

यतिबेला चीनका घरेलु कार खपतमा तीन वटा समस्या देखिएको केही विज्ञ बताउँछन्। पहिलो त, पेट्रोलियम पदार्थ उपयोग हुने कारको बिक्री स्वात्तै घट्यो, दोस्रोमा वैकल्पिक इन्धनको कारको अभूतपूर्व लोकप्रियता र तेस्रोमा निजी कार राख्नैपर्ने बाध्यताको अन्त्य गर्ने गरी सहरी क्षेत्रमा बढ्दो ट्याक्सी सेयरिङ ट्रेन्ड। यसले कार उत्पादकहरूलाई दबाबमा राख्यो। त्यसपछि चिनियाँ उत्पादकहरूले आफ्ना उत्पादनका लागि बाहिर बजार खोज्नैपर्ने बाध्यता बनाइदियो।

कारको उत्पादन बढ्ने र बिक्री कम हुने अवस्थाले यतिबेला अढाई करोड कार अझै पनि प्रयोगविहीन अवस्थामा रहेको अटामोबिलिटी नामक संस्थाका सल्लाहकार तथा क्रिसेलर कम्पनीका चीन सल्लाहकार बिल रुसो बताउँछन्।

चीनले आफ्नो आवश्यकता चीनकै कारखानाबाट पूरा गर्ने नीति लिएपछि घरेलु कारखानाहरूलाई निकै महŒव दियो। यसैबीच बिवाइडी नामक कम्पनी अरूलाई उछिन्दै कार उद्योगकै नम्बर एक बन्न पुगेको हो।

चीनमा यतिबेला चेरी, साइक, बिवाइडी, गिली र चागनजस्ता घरेलु कार कम्पनीहरू छन्। त्यस्तै टेस्ला, फोर्ड, निसान, हुन्डाईजस्ता कम्पनीले पनि आफूलाई त्यहाँ राम्रै स्थानमा राखेका छन्।  

जुलाईको अन्त्यसम्म चीनबाट निर्यात हुने कारको संख्या ३८ लाख पुगिसकेको छ। १८ लाख भने पेट्रोलियम कार रहेका छन्। यो अघिल्लो वर्षको तुलनामा ७४ प्रतिशतले बढी हो। यत्तिका निर्यातका बाबजुद कम्पनीले राम्रो नाफा कमाउन भने नसकेको केहीको दाबी छ। कतिसम्म भने हुन्डाईले चीनमा रहेका दुई कारखानाबाट उत्पादित कार निर्यात गरिरहेको छ भने बाँकी दुई कारखाना बिक्रीका लागि सूचना जारी गरेको छ।

केही वर्षयता चीनसँगै अन्य मुलुकका कार उत्पादकहरूले भारत, भियतनाम, इन्डोनेसिया, ब्राजिलजस्ता मुलुकमा कारखाना स्थापना गरिरहेका बेला चीनमा उपयोग हुन बाँकी रहेका कारहरूको अवस्था के हुने हो भन्ने चिन्ता बढाएको कोरिया अटोमोटिम टेक्नोलोजी इन्स्टिच्युटका कार्यकारी सल्लाहकार ली हाङ कू बताउँछन्।  

पहिल्यै तयार पेट्रोलियम कारहरू बिक्री नभई थन्किरहेका बेला निर्यातले धान्नुपर्ने अवस्था सिर्जना भएको देखिएको छ। तर पछिल्लो समय चिनियाँ कम्पनीले गरेको लोभलाग्दो निर्यातको आँकडा हेर्ने हो भने सन् २०३० सम्म ९० लाख कार पुग्ने देखिएको छ। जुन विश्वभरको कार बजारको ३० प्रतिशत हुन आउँछ भने सन् २०२२ मा बनाएको १६ प्रतिशतभन्दा यो औधी लोभलाग्दो तथ्यांक हो।

चीनले एसियाली तथा युरोपेली बजारलाई ध्यान दिएको अटोमोबिलिटी डेटाको भनाइ छ। चिनियाँ इभीले आफ्नो कम दामका कारण संसारभर बजार बनाइसकेका छन्। कतिसम्म भने बिवाइडी कम्पनीका संस्थापक तथा अध्यक्ष वाङ चुआङफुले अर्को वर्ष चार लाख वटा कार निर्यात गर्ने घोषणा गरिसकेका छन्। बिवाइडीले इभीमा प्रयोग हुने ब्याट्रीसमेत बनाउने हुनाले ऊसँग धेरै कुराको फाइदा रहेको विश्लेषकहरू बताउँछन्। 

वारने बफेटद्वारा लगानी गरिएको यो कम्पनीसँग लगानीका हिसाबले अन्य कम्पनीभन्दा पाँच वर्ष अगाडिको प्रविधि, व्यापकता र आर्थिक सुदृढता छ भने १० वर्षसम्म अझै पनि अरूले प्रतिस्पर्धाका लागि भेट्न नसक्ने विश्लेषण गरिएको छ। यही सशक्तताको फाइदा बिवाइडीले उठाइरहेको अटोमोबिलिटीको विश्लेषण छ।

प्रकाशित: २८ भाद्र २०८० ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App