१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

साल्ट ट्रेडिङले सेवा विस्तार गर्ने

उपभोक्तालाई चिनी, चामल, नुन, रासायनिक मल लगायतका वस्तु बिक्री-वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले लिमिटेडले सेवा क्षेत्र विस्तार गर्ने भएको छ। कर्पोरेसनले बुधवार स्थापनाको ६१ औं वार्षिकोत्सवको अवसरमा कर्पोरेसनले कारोबार र सेवा क्षेत्र विस्तार गर्ने जानकारी दिएको छ।

उपभोक्ताको माग र आवश्यकताअनुसार सेवा विस्तार गर्ने कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्। ‘कारोबार र सेवा विस्तार गर्न प्रयत्नशील छौं,’ श्रेष्ठले भनिन्, ‘उपभोक्तालाई सहज र सुलभ सेवा दिन्छौं।’

कर्पोरेसन सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुँदै आएको छ।

आयोडिनयुक्त नुन देशभर वितरण गर्न विशेष भूमिका निर्वाह गर्दै आएको छ। कर्पोरेसनले गुणस्तरीय वस्तुहरूको कारोबार गरी आम उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ।

कर्पोरेसनले आर्थिक वर्ष २०७९/८० मा ८ अर्ब ७७ करोड रूपैयाँका वस्तु बिक्री गर्न सफल भएको छ। साल्ट ट्रेडिङले नाफाभन्दा उपभोक्ताको सुविधालाई विशेष ध्यान दिँदै आएको कर्पोरेसनका विभागीय प्रबन्धक व्रजेशकुमार झाले बताए। साल्ट ट्रेडिङले व्यापारसँगै सामाजिक उत्तरदायित्वका काम पनि गर्दै आएको छ।

वार्षिकोत्सव कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेसनले जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए। उनले कर्पोरेसनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए।

‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेसनले खेलेको भूमिका उल्लेखनीय छ,’ मन्त्री रिजालले भने, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ।’

सरकारको नीतिनिर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले बताए।

वार्षिकोत्सवकका अवसरमा उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका सन्तानलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।

प्रकाशित: २८ भाद्र २०८० ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App