काठमाडौं- दक्षिण कोरियाली आरोही होङ साङ टेकले चारपटकसम्म ल्होत्से हिमाल (८,५१६) आरोहणको प्रयास गरे पनि सफल भएनन् । तर उनले हिम्मत हारेनन् । ल्होत्सेको चुचुरो चुम्नेसपनालाई पछ्याइरहे । त्यही सपना पूरा गर्न उनको टोली पाँचौपटक ल्होत्से आरोहणका लागि शनिबार बेसक्याम्प तर्फ हिँडेको छ । उनको टोलीमा १४ जना सदस्य छन् । आरोही होङसँग स्पेनका प्रसिद्ध आरोही इगोचेएगा जोर्गे समेत ल्होत्से आरोहणमा समावेश रहेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
‘सगरमाथा आरोहण गर्न सजिलो भयो । तर, ल्होत्से हिमाल आरोहण गर्न धेरै कठिन भएको छ । चारपटकसम्म पनि आरोहण गर्न नसक्दा आफैंलाई असफल आरोही महसुस भएको छ । पाँचौंपटक जसरी हुन्छ, सफल आरोहण गरेर फर्किने छु ।’
आरोही होङले सगरमाथा (८,८४८) र सिसापाङ (८,०४६) हिमालको सफल आरोहण गरिसकेका छन् । ‘सगरमाथा आरोहण गर्न सजिलो भयो तर, लोत्से हिमाल आरोहण गर्न धेरै कठिन भएको छ । चारपटकसम्म पनि आरोहण गर्न नसक्दा आफैंलाई असफल आरोही महसुस भएको छ,’ उनले भने, ‘यो पाँचौंपटक हो, जसरी पनि सफल आरोहण गरेर फर्किने छु ।’
उनका अनुसार धेरै विदेशी आरोही सगरमाथा आरोहण गर्न मात्रै आउँछन् । तर, प्राविधिक जटिलताले अप्ठेरो मानिने ल्होत्से हिमाल आरोहण गर्न हिम्मत गर्दैनन् ।
ल्होत्सेको दक्षिण रुटबाट आरोही होङले चारपटकसम्म प्रयास गरेका थिए । आरोहणको क्रममा रुट फिक्सिङ र मौसमले साथ नदिएपछि उनी बीच बाटोबाटै फर्किएको आरोहण एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रबन्ध निर्देशक वाङ्चु शेर्पाले जानकारी दिए ।
आरोहण दलका टिम लिडरसमेत रहेका होङले यसपटक प्राविधिक जटिलताबीच पनि आफूले ल्होत्से हिमाल (८,५१६) आरोहणमा कीर्तिमान राख्ने दाबी गरेका छन् ।
स्पेनी आरोही इगोचेएगाले यसअघि आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसकेका छन् । उनीहरुको आरोहण सफल बनाउन ट्रेकिङ क्याम्प नेपालले व्यवस्थापन गरेको बताएको छ ।
लोत्सेको दक्षिण क्षेत्रबाट आरोहणका लागि दक्ष आरोही फूर्वा वाङ्गेल शेर्पाको नेतृत्वमा नौजनाको सहयोगी टोली खटिएको छ । उनीहरुले नयाँ बाटो भएका कारण रुट फिक्सिङ गर्ने र आरोहीको सुरक्षाका लागि समेत काम गर्ने एजेन्सीका प्रमुख वाङ्छु शेर्पाको भनाइ छ ।
यसअघि दक्षिण क्षेत्रबाट ल्होत्से हिमाल आरोहणमा कुनै पनि आरोही सफल हुन नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । जापानी नागरिकले ल्होत्से आरोहण गरे पनि ४१ मिटर बाँकी रहँदै फर्किनुपरेका कारण सफल आरोहण भन्न नमिल्ने नेपाल पर्यटन विभागले जनाएको छ । यस्तै रसियन नागरिकले ल्होत्से आरोहण गरेको भनिए पनि पर्यटन मन्त्रालयमा यसको कुनै प्रमाण छैन ।
शनिबार लुक्लातर्फ प्रस्थान गरेका कोरियन र स्पेनिस नागरिकले कात्तिक ८ गते ल्होत्से हिमाल आरोहण गर्ने एजेन्सीका निर्देशक शेर्पाको भनाइ छ । उनका अनुसार मौसम र रुट फिक्सिङले साथ दिए तोकिएकै समयमा सफल आरोहण हुनेछ । यसअघि सगरमाथा जाने तीन क्याम्पबाट बाटो अलग्गिएर साधारण रुटबाट ल्होत्से हिमालको आरोहण गरिँदै आएको थियो ।
होङको आरोहणमा नेसनल जोग्राफी र जिसेभन कम्पनीले सहयोग गरेका छन् । नेपाल पर्वतारोहण संघका (एनएमए) अध्यक्ष सन्तवीर लामाले उनीहरुलाई सफल आरोहणकने शुभकामना दिँदै बिदाइ गरे । ‘दक्षिण क्षेत्रबाट ल्होत्से आरोहण गर्न सजिलो छैन । होङको उद्देश्य र चाहनालाई सफल बनाउन एनएमएको उत्तिकै भूमिका रहन्छ,’ उनले भने, ‘कोरियन र स्पेनी नागरिकको ल्होत्से सफल आरोहणले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा नयाँ आयम थप्नेछ ।’
एनएमएका सचिव टिकाराम गुरुङले टोलीलाई बिदाइ गर्दै ल्होत्से सफल आरोहण गरेर फर्कने आफ्नो विश्वास रहेको बताए । ‘आरोहीले सजिलो रुट रोज्ने भन्दा पनि कठिन रुटबाट आरोहण गरेको इतिहास अब्बल हुन्छ । कोरियन टोलीको अभ्यासले नेपालको पर्वतीय पर्यटनले विश्व बजारमा नयाँ सन्देश दिने छ,’ गुरुङले भने ।
५१ वर्षीय होङले विभिन्न देशका १८ वटा हिमाल आरोण गरिसकेका छन् । साथै उनले नेपालका अन्नपूर्ण, धौलागिरी हिमाल आरोहण गरिसकेका छन्।
प्रकाशित: २५ भाद्र २०७४ ०५:१३ आइतबार