नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच छलफल भएको छ। अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले मंगलबार राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन्।
परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए। उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे। विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पु¥याउन सहयोग गर्न पनि अनुरोध गरे।
अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराए। सो अवसरमा चिनियाँ राजदूत सोङले चीन र भारतको बीचमा भएर सानो देखिए तापनि नेपाल सानो मुलुक नभएको बताउनुभयो। नेपालसँग भएको आफ्नो ऊर्जा र स्रोतमार्फत विकास गर्न सक्ने भन्दै उनले दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए। उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने सुझाव दिए। त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो। परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको बताए।
नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो।
प्रकाशित: २० भाद्र २०८० ०२:०२ बुधबार