१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्थमन्त्री महत भन्छन्ः समस्यालाई कहालिलाग्दो मात्र नबनाऔं

पर्यटन व्यावसायी भन्छनः पाहुना आएनन, किस्ता तिर्न सक्दैनौ

पोखरा पर्यटन परिषद् (पिटिसी)को सोमबार आयोजित साधारणसभा। तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सिमित रहेको, पोखरा–मुग्लिन सडक बिस्तारले गति नलिँदा पर्यटक आगमन प्रभावित भएको, सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रममा ध्यान नदिएको लगायतका गुनासो पोखराका पर्यटन व्यावसायीले बारम्बार गर्ने गरेका छन्। पर्यटक आगमन प्रभावित हुँदा आम्दानी गुमेको र बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा झनै नोक्सान खेप्नुपरेको गुनासो पनि व्यावसायीको छ।  

पर्यटन व्यावसायीले लामो समयदेखि एकैखालका यस्तै गुनासा गरिरहँदा सोमबार पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यावसायीलाई अझै केही समय धैर्य गर्न सुझाव दिएका छन्। अर्थमन्त्री महतले लामो समयदेखिका समस्यालाई कहालिलाग्दो नबनाउन पनि सुझाए।  समस्यालाई कहालिलाग्दो बनाएर असन्तुष्ट बनिरहँदा आफ्नै कारणले सबैतिर खराब हुने उनको सुझाव छ। 

‘पर्यटन क्षेत्रले बेलाबेला नराम्रोसँग धक्का खाएको छ । तरपनि पर्यटक क्षेत्र गतिशिल नै छ । भूकम्प, कोरोना संक्रमण जस्ता घटनाले पर्यटनमा प्रभाव पारेको हो,’ पोखरा पर्यटन परिषद् (पिटिसी)को २३ औं वार्षिक साधारणसभामा अर्थमन्त्री महतले भने, ‘यति हुँदाहुँदै पनि पोखराको पर्यटनको भविश्य राम्रो छ। बेलाबेला हन्डर खाएपनि यसले भविश्यमा उज्यालो छर्नेछ।’ समस्या आयो भन्दैमा निराश हुने हो भने सधैं निराशा आइरहने उनले बताए।  

अर्थमन्त्री महतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब सावाब्याज तिर्नेुपर्ने भएपनि त्यो कमाउन नसकेको बताए। विमानस्थलले संचालन खर्च समेत जुटाउन नसकेको पनि उनले बताए। ‘हामी पनि व्यावसायी जत्तिकै चिन्तित छौ। कसरी हुन्छ विमानस्थललाई अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्न सकिन्छ भनेर काम गरिरहेका छौ,’ उनले भने, ‘विमानस्थल आर्थिक अवस्था चूनौतीको विषय छ। विमानस्थललाई कहाँ र कसरी हवाई सञ्जालमा जोड्ने भन्नेमा हामीले पनि कोशिष गरिरहेका छौं।’

माग न्यून भएको बेला व्यावसायीले लगानी गरेको र अहिले त्यसबाट कमाउन गाह्रो भएको उनले बताए। ‘माग न्यून भएको बेला पारेर व्यावसायीले लगानी गरे। बजार स्थिति नबुझि लगानी गर्दा अहिले समस्या भयो,’ अर्थमन्त्री महतले भने। उनले पर्यटक आगमन अझै सोचेअनुरुप हुन नसकेको पनि बताए। त्यसबाहेक अहिले बिस्तार भईरहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्मको सडकको कामले वर्षायाम सकिएपछि गति लिने पनि बताए।

‘स्थलमार्ग राम्रो हुनासाथ आन्तरिक पाहुना पनि आउन थाल्नेछन, त्यसबाहेक भारतीय पर्यटक पनि पोखरा आउनेछन,’ उनले भने, ‘पाहुना नआउँदाको अप्ठ्यारो व्यावसायीले खेप्नु नै भयो, अबको केही समय धैर्य गरौ। पर्यटनबाट पक्का राम्रो हुनेछ।’ उनले अन्तर्राष्ट्रियस्तरका पाहुना भिœयाउनकै लागि पोखरामा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि त्यहाँका केही बाधा व्यवधान हटाउन आवश्यक रहेको उनले बताए। त्यसबाहेक काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि साँघुरो रहेको बताए। ‘पोखरा र भैरहवासँग मात्र समस्या होईन, काठमाडौंसँग पनि आफ्नै बाध्यता छन,’ उनले भने।  

त्यसअघि व्यावसायीले सरकारले पर्यटन व्यावसाय जोगाउनका लागि पर्याप्त कदम नचालेको भन्दै अर्थमन्त्रीलाई गुनासो सुनाएका थिए। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्र कहिले ढल्दै त कहिले उठ्दै यो अवस्थामा आएपनि अबका दिन कठिनपूर्ण रहेको बताए। उनले विना पर्यटक व्यावसाय चलाईरहेको बताए। ‘बाटोको कारण आन्तरिक पाहुना पनि आउन छाडे। पर्यटकीय सिजनको सुरुवाती यो समयमा पोखराका होटलको अकुपेन्सी करिब १५ प्रतिशत मात्र छ,’ सुवेदीले भने, ‘अक्टोवर–नोभेम्बरको बुकिङ अहिल्यै ९० प्रतिशत कटिसक्नुपर्ने हो। तर, त्यो अवस्था छैन।’

उनले व्यावसायी पलायनको बाटोमा रहेको बताए। कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्रका करिब ३० प्रतिशत व्यावसायी पलायन भएकोमा त्यो आकार अब छिटै ६० प्रतिशत पुग्ने सुवेदीको भनाई छ। उनले आगामि असोजमा तिर्नुपर्ने त्रैमासिक किस्ता तिन सक्ने अवस्था नरहेको बताए। ‘बैंक ब्याजदर उत्तिकै बढ्ने, पाहुना नआउने हो भने प्रथम त्रैमासिक किस्ता तिर्न सकिन्न,’ सुवेदीले भने।  

परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराईले राज्य नै भए वा नभएको भन्ने आशंका लाग्न थालेको बताए। ‘कुनैपनि काम बेलैमा हुँदैनन, विमानस्थल बन्यो तर उडान भएन, बाटो बनाउन तोकिएको भन्दा बढी लाग्ने पक्का भईसक्यो, यस्तो समस्यालाई सल्टाउने अभिभावक को भन्ने नै यकिन भएन,’ भट्टराईले भने, ‘काममा भएको ढिलासुस्तीलाई अनुगमन गर्ने कसले भन्ने नै भएन।’ भट्टराईले सरकारले पर्यटनमा बजेट विनियोजन भएपनि त्यो अनुसार प्रवद्र्धन गर्न नसकेको बताए।  

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराका लागि पर्यटन ‘लाइफलाइन’ भएकोले यसबारे सरकार चिन्तित हुनुपर्ने बताए। ‘सरकार यो लगानीप्रति चिन्तित हुनुपर्ने हो, तर, त्यो चिन्ता देखिएन। ठुलो जोखिम मोलेर व्यावसायीले लगानी गरेका छन, व्यावसाय चलाउन संघर्ष गरिरहेका छन,’ मुल्मीले भने, ‘तर, सरकार यसबारे पटक्कै पनि गम्भीर देखिएन।’ पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायसेवा निगमले सहयोग नगरेको उनले बताए।  

संघीय र प्रदेश सरकार पर्यटन व्यावसाय बचाउनेतिर नलागेमा व्यावसायीले सामूहिक रुपमा लाग्नुपर्ने पनि उनले बताए। ‘यतिसम्मकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउनुपर्छ भनेर नागरिक उड्डयन प्राधिकरण नै लागेको छैन,’ उनले भने, ‘यो बेला न त राजमार्गको अवस्था ठिक छ नत हवाई सेवा नै सर्वसुलभ छ। यतिसम्मकी पोखरा–काठमाडौं हवाई भाडा उत्तिक महंगो भएकोले सबैको पहुँच पुग्दैन।’

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो समय पर्यटन क्षेत्र निकै नै समस्याग्रस्त अवस्थाबाट गुज्रेको बताए। उनले बाटोघाटोका कारण पर्यटकले आउजामा सास्ती खेप्नुपरेको बताए। बिस्तार भईरहेको राजमार्गको काम निकै नै ढिलागतिमा भईरहेको उनले बताए। त्यसबाहेक बैंक तथा वित्तीय संस्थाको महंगो ब्याजदरका कारण पनि व्यावसायी नोक्सानमा रहेको अध्यक्ष श्रेष्ठले बताए। पर्यटनमा विदेशी लगानी भिœयाउन सरकारले कदम चाल्नुपर्ने पनि उनले बताए। बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्र नोक्सानमा रहेको भन्दै लगानी गर्न समेत छाडेको उनले बताए।

प्रकाशित: १८ भाद्र २०८० ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App