५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

उदयपुरमा ४१ करोड विद्युत् महसुल उठ्नै बाँकी

उदयपुरमा झण्डै ४१ करोड विद्युत् महसुल उठ्न बाँकी छ। गत आर्थिक वर्ष ०७९/८० को बक्यौता ४० करोड ८५ लाख ९५ हजार ९ सय ३४ रूपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटले जनाएको छ।

सो बक्यौता सदरमुकाम गाईघाट र मातहतका विभिन्न उपशाखाबाट उठ्न बाँकी रकम हो। जसमध्ये ठूलो परिमाणको बक्यौता ३६ करोड रूपैयाँ उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले तिर्न बाँकी रहेको वितरण केन्द्र प्रमुख विजयबाबु खत्रीले बताए। खत्रीका अनुसार गत असार २९ गते उद्योगले १ करोड बुझाएर बाँकी रहेको ३६ करोड रूपैयाँ अहिलेसम्म बुझाइएको छैन। उद्योगले बुझाउन बाँकी सो बक्यौतामध्ये केही अंश भने ‘डेडिकेटेड फिडर’ लाइनको महसुल हो।

केही वर्षअघि लोडसेडिङको मारबाट उद्योग बचाउन सरकारले डेडिकेटेड फिडर लाइनको व्यवस्था गरेको थियो। राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने नीति अनुरूप उद्योगहरूलाई डेडिकेटेड फिडरको सुविधा उपलब्ध गराइएकोमा अहिलेसम्म सुविधाबापत दिएको महसुल सरकारले मिलान नगर्दा महसुल हर्जना र व्याज दोब्बर तेब्बर थपिदै गएको छ।

प्राधिकरणको नियम अनुसार विद्युत् महसुल ६ महिनासम्म नबुझाए बक्यौता परिमाणको २५ मासिक प्रतिशतका दरले हर्जना र व्याज जोडिदै जाने प्रावधान छ। साउन र भदौमा नबुझाउँदा ३६ करोडको हर्जाना र व्याज मासिक ९ करोडका दरले थपिदै जाने खत्रीले बताए।

प्राधिकरणले वितरण केन्द्र गाईघाटसँगै बेलटार र कटारी उपशाखामार्फत पनि करोडौं बक्यौता उठ्न बाँकी छ। चौदण्डीगढीको बेलटार उपशाखामार्फत १ करोड ४५ लाख ४० हजार ९ सय ५५ बक्यौता उठ्न बाँकी छ भने कटारी उपशाखामार्फत १ करोड १९ लाख ६३ हजार ६ सय ७३ बक्यौता रहेको खत्रीले बताए। जसमध्ये कोभिड १९ महामारीका बेला सरकारले दिने घोषणा गरेको छुट सुविधावापतको रकम पनि मिलान गर्न बाँकी छ।

 सुविधाबापत गाईघाट वितरण केन्द्रको १ करोड ६९ लाख, कटारीको ५८ लाख १८ हजार र बेलटारको ६५ लाख ५४ हजार ७२ रूपैया मिलान गर्न बाँकी रहेको छ। सो मिलानका लागि प्राधिकरण संघीय कार्यालयले उर्जा मन्त्रालयसँग समन्वय गरिरहेको खत्रीले बताए।

 प्राधिकरणको सडक बत्तीको महसुल पनि उठ्न बाँकी छ। सडक बत्तीतर्फ त्रियुगा नगरपालिकाको मात्र १ करोड ८६ लाख महसुल बुझाउन बाँकी छ। नगरपालिकाले नियमित महसुल नबुझाएकाले बक्यौता बढ्दै गएपछि पत्राचार गरेर ताकेता गरिरहेको खत्रीले बताए। उनका अनुसार उदयपुरमा १ सय ६७ वटा सडक बत्तीमध्ये त्रियुगामा मात्र १ सय ३० वटा जडान भएका छन्। उपशाखा बेलटारमातहत चौदण्डीगढी नगरपालिका ३१ वटा सडक बत्ती छन् भने कटारी नगरपालिकामा ५ वटा मात्र रहेको खत्रीले बताए।

बेलका नगरपालिकामा भने उपभोक्ताले प्राधिकरणमातहत नभएर एकीकृत ग्रामीण ऊर्जा विकास केन्द्र (संस्था) रामपुरमार्फत विद्युत् वितरण गरेर उपभोग गरिरहेका छन्। बेलकामा ६ हजार ५ सय ग्राहक रहेको र सबै उपभोक्तालाई केन्द्र आफैंले विद्युत् वितरण र नियमन गर्दै आएको छ।

गत वर्ष ४४ करोड महसुल

प्राधिकरणले आर्थिक वर्ष ०७९/८० मा ४४ करोड २७ लाख ९ हजार ८१ महसुल संकलन गरेको छ। यो परिमाण आर्थिक वर्ष ०७८/७९ को दाँजोमा ८ करोड ९ लाख ७ हजार ५ सय ८७ रूपैयाँले कमी हो। अघिल्लो आर्थिक वर्ष प्राधिकरणले ५२ करोड ३६ लाख १६ हजार ६ सय ६८ रूपैयाँ संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष महसुल घट्नुमा उदयपुर सिमेन्ट उद्योग धरासायी भएर हो।

प्राधिकरणका लेखापाल राजन राईका अनुसार उदयपुरमा रहेका उपभोक्तामध्ये उसिउलि सबभन्दा बढी विद्युत् खपत गर्ने र महसुल बुझाउने संस्था हो। जिल्लामा संस्थागत, सामुदायिक र निजी गरी जम्मा ग्राहक संख्या ६० हजार ६३ रहेकोमा उसिउलि एउटैले मासिक १ करोड हाराहारीको विद्युत् खपत गर्दै आएको छ।

झण्डै १ वर्षदेखि पटकपटक उद्योग बन्द हुँदै खुल्दै गरकोमा लगभग ६ महिनायता ठप्प भएपछि विद्युत् खपत घट्दा प्राधिकरणको महसुल संकलनमा पनि गिरावट आएको राईले बताए।

लेखा अधिकृत राईका अनुसार गाईघाट वितरण केन्द्र अन्तर्गत २९ हजार २ सय ९५ ग्राहक रहेका छन्। त्यस्तै कटारी उपशाखामातहत १६ हजार ३ सय ३५ र बेलटारमातहत १४ हजार ४ सय ३३ ग्राहक संख्या रहेका छन्। बेलका एकीकृत ग्रामीण ऊर्जा विकास केन्द्रमातहत ६ हजार ५ सय ग्राहक रहेका छन्। यो संख्याभित्र सरकारी, सामुदायिक, संस्थागत र व्यक्तिगत सबैखाले ग्राहक समेटिएको प्राधिकरणले जनाएको छ। 

प्रकाशित: १७ भाद्र २०८० ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App