५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

भदौ तेस्रो सातादेखि नाडा अटो सो

नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो सो –२०२३ आयोजना गर्ने भएको छ।  

सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरू सम्मिलित हुने प्रदर्शनीको १५ औं संस्करण टाटा मोटर्स जेनुइन आयलले आयोजना गर्ने भएको हो।  

काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी रहेको छ।

अहिले बजार सुस्ताएको भए पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिता हुँदा केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सकिने ध्येयले यस किसिमको व्यापारिक गतिविधि गर्न लागिएको आयोजकले बताएका छन्। आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा बजारलाई चलायमान बनाउन मदत पुग्ने विश्वास आयोजकको छ। साथै, आउँदै गरेका चाडपर्वको पूर्वार्धमा आयोजना हुन लागेको उक्त प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल र ब्लकहरू रहने आयोजकले जनाएका छन्। आयोजकका अनुसार उक्त प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु सेवा प्रदायकको सहभागिता रहने छ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे,  

२२ ब्राण्डका दुई पाङ्ग्रे, सात ब्राण्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट लगायतका कम्पनीहरूको सहभागिता रहने भएको छ।

प्रदर्शनीलाई व्यवस्थित बनाउन र भिडभाड कम गर्न भदौ ११ गतेदेखि खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था आयोजकले गरेका छन्। यस्तै भदौ २५ गतेसम्म अग्रीम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफरसमेत रहेको छ। ६ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकको विश्वास छ भने कुजु नेपालको प्रयोजनमा नाडाले एक जनालाई याडिया इएटएस प्रो इलेक्ट्रिक स्कुटर उपहार दिने व्यवस्थासमेत गरेको छ। 

प्रकाशित: १२ भाद्र २०८० ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App