१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत)। रुविभ्याली गाउँपालिका-१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ। भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर,बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।

मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ। हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ।

लामा भन्छन्, गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ। फलेको पनि छ। गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन।

एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ। नफलेको बोट कुनै छैन।

‘सुरुका वर्ष केही बोटमा मात्र फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन। यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको छ। बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ’, लामाले विकटको समस्या सुनाए।

हिउँदमा जसोतसो हप्तामा दुई-तीन पटक गाउँमा गाडी पुग्छ। बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन। डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन। हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेंसी झर्न झन्डै दुई दिन लाग्छ। गाउँमै दैनिक दुईचार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए।

लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाएका छन्। समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ। भारत र चीनबाट आएको स्याउ अहिले शहरबजारमा प्रतिकिलो  चार सय रुपैयाँको हाराहारीमा छ। तर,लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा एक सय ५० रुपैयाँमा दिंदै छन्। एक सय ५० रुपैयाँ किलोले नै हिसाब गर्ने हो भने पनि नौ लाख रुपैयाँ बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ।

कानुन विषय पढेका लामा अहिले पनि एउटा गैरसरकारी संस्थामा जागिर खाँदै छन्। आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखेको र अहिले त्यसैगरी स्याउ फलाउने रहरले लामाले दिदी प्रविना माया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाएका हुन्। माटो परीक्षण गरेर प्राविधिक सल्लाह अनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ।

‘हामी सानो छँदा घरमा दुई बोट थियो। धेरै फल्थ्यो। गाउँभरिका मान्छेलाई खान पुग्थ्यो। मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखें। जागिरको सिलसिलामा ठाउँठाउँमा पुग्दा पनि स्याउ फलेको देखें। जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाह अनुसार मुस्ताङको मार्फाबाट एक सय २० रुपैयाँका दरले बिरुवा ल्याएर लगाएँ’, लामा भन्छन्, ‘आमा र दिदीले नियमित हेरचाह गर्नुहुन्छ, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन/चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौं।’

फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन्। स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति दुई सय रुपैयाँमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ। लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ। गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन। गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उनको माग छ।

स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो। धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ। काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ।

प्रकाशित: ६ भाद्र २०८० ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App