१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘नेपाल र बङ्गलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउनुपर्छ’

नेपाल र बङ्गलादेशबिच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुगाउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।आज नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित ‘नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपाल–बङ्गलादेश सम्बन्ध ऐतिहासिक रहेको बताउँदै अब त्यसमा नयाँ आयाम थप्नुपर्ने बताए।‘विगतमा बङ्गलादेश समस्यामा हुन्थ्यो।त्यति बेला उसलाई समस्या पर्दा नेपालले सहयोग गरेको इतिहास छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले भने, ‘पछिल्लो समय हाम्रा(नेपाल)का विपद्मा बङ्गलादेशले अतुलनीय सहयोग गरेको छ ।’ अब त्यस्तो सम्बन्धलाई सांस्कृतिक रुपमा बलियो पार्दै दुई देशको विकाससँग जोड्नुपर्ने मन्त्री भण्डारीले बताए।

बङ्गलादेशका लागि पूर्व नेपाली राजदूत वंशीधर मिश्रले बङ्गलादेशले नेपाल भनेपछि अत्याधिक सम्मान र आदर गर्ने गरेको आफूले पाएको बताए।उनले भने,‘म झन्डै दुई वर्ष त्यहाँ बसेँ, कहिल्यै अर्को देशमा छु जस्तो लागेन।निकै मित्रवत् र निकै सहयोगी देशका रुपमा मैले बङ्गलादेशलाई पाएँ ।’ बङ्गलादेशका राजनीतिज्ञ, कूटनीतिज्ञ र त्यहाँको समाजले नेपाली भन्नासाथ अत्यन्त आदर भाव प्रकट गर्ने गरेको आफ्नो अनुभव सुनाए।‘महाभूकम्पका बेला त त्यहाँको विमानस्थल नै नेपालकोझैँ प्रयोग भयो।प्रधानमन्त्री शेख हसिनाले निकै सहयोगी भाव दर्शाउनु भयो।कोभिडका बेला निकै सहयोग भयो,’ उनले भने।

नेपाल र बङ्गलादेशबिचको यो सम्बन्ध अब दुई देशबिचमा मात्र नभई जनस्तरसम्म पनि जोडिनुपर्ने पूर्व राजदूत मिश्रले बताए।उनले भने,‘हाम्रा तमाम समानता छन् र उस्तै विविधता पनि छन्।मुख्य कुरा सामूहिक स्वार्थ समान छ।यस्तोमा दुई देश र जनस्तरमा सहयोग आदानप्रदान गर्नसके दुवै देशको विकासमा राम्रो टेवा पुग्नेछ ।’ पछिल्लो समय नेपाल–बङ्गलादेशबिचमा भएको विद्युत् व्यापार सम्झौताले बङ्गलादेशसँग अन्य आपसी सम्बन्ध र सहकार्यका लागि बाटो खोलेको पनि उनले बताए।

नेपाल–बङ्गलादेश मैत्री संघको आयोजनामा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका डोटी र नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक भूमिका खेलेका थिए।बङ्गलादेशका जनप्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलको समेत सहभागी रहेको कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्काले बङ्गलादेशका नगर सरकारसँग सहकार्य गरेर जनस्तरको सम्बन्ध कायम गर्न आफूहरू लालायित रहेको बताए।

‘हामीलाई थाहा छ, पछिल्लो समय बङ्गलादेशले आर्थिक तथा सामाजिक दृष्टिकोणबाट राम्रो विकास गरेको छ।त्यो विकासको अभ्यास र अनुभव हामीलाई पनि खाँचो छ,’ उनले भने,‘त्यसका लागि हामी सहकार्य गरेर अघि बढ्न चाहन्छौँ।दुवै देशका सरकारले वातावरण निर्माण गर्न जरुरी छ ।’ नेपाल र बङ्गलादेशबिचको सांस्कृतिक विविधता र नेपालको पर्यापर्यटकीय सम्भावनाहरूका क्षेत्र बङ्गलादेशी पर्यटकका लागि रुचिका गन्तव्य बन्न सक्ने नगरप्रमुख खड्काले बताए।यस्तै नेपालका मौलिक उत्पादनहरू बङ्गलादेशी बजारसम्म पु¥याउन सके नेपालको पनि आर्थिक विकासमा टेवा पुग्न सक्ने उनले बताए।

बङ्गलादेशी नागरिक अभियन्ता शेख शाह आलमले दक्षिण एसिया सांस्कृतिक विविधतामा निकै धनी रहेको बताउँदै त्यसका लागि फरक संस्कृतिका बिचमा परस्पर सम्बन्ध जरुरी रहेको बताए।उनले भने,‘हाम्रा भिन्न सांस्कृतिक विशेषता रहे पनि भावना सदैव एक छन्।समग्रमा हामी सांस्कृतिक विविधताले धनी छौँ।यसलाई सामूहिक शक्तिका रुपमा प्रयोग गर्नुपर्छ ।’

कार्यक्रममा बङ्गलादेशको प्रतिनिधिमण्डल र नेपालको साहित्य, संस्कृति र पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको थियो।

पछिल्लो समय आर्थिक रुपमा बलियो हुँदै गएको बङ्गलादेश दक्षिण एसियामा आफ्नो सम्बन्धलाई अझैँ मजबुत बनाएर लैजाने अभियानमा रहेको जानकारहरू बताउँछन्।यस क्रममा बङ्गलादेश र त्यहाँका नागरिकको चासोमा नेपाल अग्रस्थानमा पर्न थालेको छ।शुक्रवार मात्रै दुई वटा चार्टड विमानबाट २०० बढी बङ्गलादेशी पर्यटक नेपाल भित्रिएका छन्।जसलाई पर्यटन बोर्डले बाजागाजासहित स्वागत गरेको छ।

प्रकाशित: १ भाद्र २०८० १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App