२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आमजनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन्। भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ। मलाई अधिकार छ, त्यसको दुरूपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ।’

आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे। प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले बताए।

वीरगञ्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘वीरगञ्जमा ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौं त्यत्तिकै थन्क्याएर राखिएको छ। त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो। अब त्यसरी हुँदैन। अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ।’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नैपर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं।’

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ। लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए।

प्रकाशित: २९ श्रावण २०८० ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App