२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भन्सार छलिएको सामान बरामद

फाइल तस्वीर

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

शुक्रबार मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना २ ख ४९०२ नम्बरको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बताए।

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको उनले बताए। उनका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण सङ्कलन गरिएको हो। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको जानकारी प्रहरी उपरीक्षक रेग्मीले दिए।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायतका सामान रहेको उनले बताए। उनका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए। ‘बरामद सामानको आयातसम्बन्धी कुनै बिलबिजक र राजस्व तिरेको कागजात भेटिएको छैन’, रेग्मीले भने, ‘उक्त कन्टेनर भन्सारबाट कर नतिरी भिœयाइएको हो कि होइन भन्ने बारे अनुसन्धान गरिरहेका छौं।’

थप अनुसन्धान गरी कानुनी कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइने जानकारी प्रहरी उपरीक्षक रेग्मीले दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले उक्त कन्टेनर भन्सार भित्रबाट नआएको बताए।

प्रकाशित: १४ श्रावण २०८० ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App