२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

छयालीस व्यवसायीको बैंक खाता रोक्का

तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तः शुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ। तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो।

तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले बताए। ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन्। कतिपयले भ्याटको अद्यावधिक समेत नगरेको पाइएको छ’, उनले भने।

कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले बताए। व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए। उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ।

बहत्तर हजार बढी करदाता

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९/८० मा करिब १० प्रतिशत करदाता वृद्वि भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले बताए।

पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतना बढ्दै गएको छ। प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार दुई सय ८४ र व्यापारीतर्फ २३ हजार चार सय ३७ जना रहेका छन्।

प्रकाशित: १२ श्रावण २०८० ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App