२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पहिरो पीडित तथा प्रभावितलाई १६ लाख रुपैयाँ हस्तान्तरण गरिने

गत असार २ र ४ गते आएको पहिरो प्रभावित सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले क्षेत्र । तस्बिर: नागरिक।

समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियान सिदिङ्वाको अगुवाइमा सङ्कलित झन्डै १६ लाख रुपैयाँ राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई हस्तान्तरण गरिने भएको छ । 

गाउँपालिकाबाट पीडित परिवारको एकिन विवरण निर्णय भई प्राप्त भएको सोही विवरणका आधारमा सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई १५ लाख ९० हजार ६ सय ५० रुपैयाँ राहत रकम हस्तान्तरण गरिने यो अभियानका अभियन्ता मध्येका एक राजकुमार बानियाँले जानकारी दिए ।

उनका अनुसार सिदिङ्वा गाउँपालिकाको वडा नं १ कालिखोला,वडा नं २ सादेवा र वडा नं ३ आङ्खोप,वडा नं ४ साब्लाखु,वडा नं ५ लिम्बूदिन,वडा नं ६ मेहेले र वडा नं ७ सुरुम्खिमका पहिरो पीडित तथा प्रभावित परिवारलाई राहत रकम वितरण गरिने छ। सिदिङ्वा गाउँपालिकाका सृजनशील व्यतित्वहरुको अगुवाइमा सङ्कलित राहत सहयोग अन्तर्गत मृतक तथा बेपत्ता परिवारलाई प्रति परिवार ६१ हजार रुपैयाँका दरले राहत रकम दिइने छ। 

सिदिङ्वा वडा नं ६ मेहेले भालुखोपमा पहिरोमा गणेश तामाङ तथा मुकुभज्याङ्का बाबुछोरा क्रमशःकेशरबहादुर राई र सुरेश राईको मृत्यु भएको थियो। भालुखोपका यादवबहादुर बुढा क्षेत्रीकी श्रीमती भगिमायाँ,बुहारी सन्ध्या र नाति प्रज्ववल बेपत्ता छन्। समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियानले बेपत्ता सदस्यका परिवारलाई पनि मृतक सरह राहत उपलब्ध गराउने योजना बनाएको छ। जस अनुसार मृतक गणेशबहादुरका आफन्त तथा परिवारले ६१ हजार,मृतक बाबु केशरबहादुर र छोरा सुरेशका आफन्त तथा परिवारले समान ६१ हजार र बेपत्ता तीन जनाका आफन्त यादवबहादुरले ६१ हजार रुपैयाँ राहत रकम पाउने भएका छन्। पहिरोमा परी घाइते दुई जनालाई यो अभियानमार्फत जनही २१ हजार रुपैयाँका दरले राहत रकम दिइने भएको छ। घर पूर्ण रुपमा क्षति भएका पालिका भरीका २७ परिवारलाई प्रति परिवार २४ हजार रुपैयाँका दरले राहत रकम दिइने छ । 

यस्तै अति जोखिममा परेका २० परिवारलाई ८ हजार रुपैयाँका दरले र जोखिममा रहेका ७२ परिवारलाई ५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गर्ने समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियानले जनाएको छ । यो अभियान अन्तर्गत मृतकका बालबच्चाको शिक्षा र पालन पोषणका लागि ५ जना बच्चाको बैंक खाता खोली उनीहरूको खातामा १ लाख ९२ हजार ६ सय ५० रुपैयाँलाई दामाशाहीले बाँडी खातामा जम्मा गरिने भएको छ । समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियानले २० हजार रुपैयाँ सम्मको सहयोग रकम सोझै नगदै र सो भन्दा माथिको रकम भने चेकमार्फत हस्तान्तरण गर्ने समेत जनाएको छ ।

 यसअघि सिदिङ्वा गाउँपालिकाले मृतक,बेपत्ता,पहिरो पीडित तथा प्रभावितलाई कार्यविधि बनाएरै सहयोग रकम हस्तान्तरण गरेको छ । सिदिङ्वाले मृतक तथा बेपत्ता सदस्यका परिवारलाई जनही ६० हजार रुपैयाँका दरले तथा पशु चौपाया गुमाएका परिवारलाई समेत राहत रकम दिएको जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकाले सिदिङ्वाको मेहेलेका ३ मृतक तथा ३ बेपत्ता सदस्यलाई प्रति सदस्य ५० हजार रुपैयाँका दरले राहत रकम दिएको छ।  

प्रकाशित: १० श्रावण २०८० १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App