९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

म्यानपावरको बोली बिक्छ पीडितको प्रमाण पनि बिक्दैन

दैनिक दुई–तीन सय पीडित न्याय माग्दै वैदेशिक रोजगार विभाग पुग्छन् तर महिनौंसम्म विभागले उनीहरूलार्ई झुलाउँदै आएको कुरा सामान्य बनिरहेको छ। पीडितको हातमा ठगिएको प्रमाण भए तापनि म्यानपावरको बोली नै बलियो भएको छ। विभागका कर्मचारीको काम पीडितको प्रमाण हेरेर आज हुन्छ, भोलि हुन्छ भन्दै महिनौं झुलाउनु हो भन्ने गुनासो पीडितहरूले गर्ने गरेका छन्।

सुरेश श्रेष्ठ आफू ठगिएकाले न्याय माग्दै सिन्दुपाल्चोकबाट काठमाडौंस्थित वैदेशिक रोजगार विभागमा धाएको करिब दुई महिना भइसक्दा पनि उनले न्याय पाएका छैनन् तर श्रेष्ठले हरेश भने खाएका छैनन्।

बसुन्धरास्थित ग्रोथ प्रोसेस इन्टरनेशनल इमप्लोएमेन्ट प्रालि म्यानपावरका निर्देशक निमबहादुर भण्डारीले १४ जना भन्दा बढी युवाबाट प्रतिव्यक्ति ३/४ लाख रकम उठाएका छन्। भण्डारीले ती युवालाई मलेसिया लगायतका अन्य देशमा एक लाख तलब हुन्छ भनी सम्झौता गराउँदैै आएको गुनासो पीडितको छ। राम्रो तलब पाउने आश्वासन दिई सम्झौता गराएर विदेश पठाएपछि भनेबमोजिमको तलब नपाएका कारण पीडितहरू महिनौदेखि ग्रोथ म्यानपावर विरुद्ध विभागमा उजुरी दिँदै आएका छन्।

करिब तीन लाख रकम ग्रोथ म्यानपावरलाई बुुझाएर, मासिक एक लाख तलब पाउने सम्झौता गरी गत वर्षको मंसिर १६ गते मलेसिया उडेको श्रेष्ठले बताए। ‘मासिक एक लाखको आसमा ऋण गरेर तीन लाख बुझाएर मलेसिया गएको थिएँ। मलेसिया पुगेर काम गर्दा मासिक तलब ४० हजार मात्र हातमा पर्‍यो। एक लाखको सपनाले घर परिवार छोडेर आइयो,’ उनले भने, ‘नेपालमा कुल्ली काम गर्नेले नै राम्रो तलब थापेका हुन्छन्। तीन लाखले त गाउँघरमा सानोतिनो व्यवसाय नै चलाउन पुग्थ्यो।’

सुरेश श्रेष्ठ आफू ठगिएकाले न्याय माग्दै सिन्दुपाल्चोकबाट काठमाडौंस्थित वैदेशिक रोजगार विभागमा धाएको करिब दुई महिना भइसक्दा पनि उनले न्याय पाएका छैनन् तर श्रेष्ठले हरेश भने खाएका छैनन्।

म्यानपावरले गराएको सम्झौता अनुसारको तलब नभएपछि उनी चैत ३१ गते नेपाल आएर वैशाखमा ग्रोथ म्यानपावर विरुद्ध विभागमा उजुरी हाले तर उनले अझै न्याय पाएका छैनन्। ग्रोथ म्यानपावरका निर्देशक भण्डारीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘मलेसियामा राम्रो कम्पनी छ। हामी मासिक तलब एक लाख हुने ग्यारेन्टी दिन्छौं। मलेसिया मात्र होइन्, अन्य देशका राम्रो कम्पनीमा पनि तलब आकर्षक हुन्छ। हामीले विदेश पठाएका नेपाली युवाले वर्षौं भइसक्यो, मासिक दुई अढाइ लाख कमाउन थालेको। मासिक तलब नेपालबाटै सम्झौता गरेर जाँदा ढुक्क हुनुहोस्।’

ग्रोथ म्यानपावरका निर्देशक भण्डारीलाई श्रेष्ठले किन झुट बोलेर फसाएको भन्दा उल्टै गालीगलोज गर्ने, कहाँ गएर मुद्दा हाल्ने हो हाल्दा हुन्छ भन्दै धम्की दिने गरेको पीडितहरूले बताएका छन्।

‘विभाग गएर म्यानपावर विरुद्ध उजुरी हाल्दा महिनौं बितुञ्जेलसम्म पनि म्यानपावर सञ्चालकसँग भेट गराउँदैनन्। यदि भेट भइहाल्यो भने पनि म्यानपावरवालाकै ठूलो स्वर हुन्छ,’ श्रेष्ठले भने, ‘म्यानपावरवालाले वरिपरि गुण्डा झैं छाती फुलाउँदै आँखा तर्दै विभागमै पीडितलाई घेर्छन्। त्यतिमात्र कहाँ हुनु विभागका वरिष्ठ कर्मचारीहरू पनि त्यहीं हुन्छन्,’ उनले थपे ‘तर म्यानपावरकै पक्षमा हुन्छन्। म्यानपावरवालाको ठूलो स्वरलाई समर्थन गर्दै बोलिरहेका हुन्छन्।’

विभागका कर्मचारी र म्यानपावर व्यवसायीहरूको बीचमा न्यायको भिख माग्दै गरेका श्रेष्ठ मात्र छैनन्। उनी जस्ता हजारौं पीडितको प्रमाण लत्याएर म्यानपावर व्यवसायीको बोलीकै भरमा पीडित सधैं उत्पीडनमा परिरहेका छन्। पीडितलाई एक्लै–दुक्लै पार्दै म्यानपावरवालाले धम्कीसहित गाली गर्ने गरेको भनाइ पीडितको छ।

श्रेष्ठसँगै उक्त म्यानपावर कम्पनीले सम्झौता गराउँदै लाखौं असुल गरेका अन्य १३ जना पीडितहरू पनि सम्पर्कमा आएका छन्। ती पीडितहरूमा तिलक कुँवर, प्रेम विक, पूर्ण केसी, दिनाराम मल्ल, गोविन्द ठकुरी, भक्त क्षेत्री, शेरबहादुर क्षेत्री, हेमन्त क्षेत्री, दिलबहादुर जोगी, कृष्ण नन्दन, सन्तोष कुमार, नयन प्रसाद र प्रकाश अधिकारी रहेका छन्।

यी सबै पीडितहरू उक्त म्यानपावर कम्पनीबाट गरिएको सम्झौता अनुसार तलब नपाएकाहरू हुन्। कति पीडितहरू विदेशमै काम गरिरहेका छन् भने कति वैदेशिक रोजगार विभागमा उजुरी दिन स्वदेश फर्किएका छन्।

‘जसोतसो तीन लाख ऋण लिएर म्यानपावरलाई बुझाइ विदेश आएको छु। म्यानपावरका निर्देशक भण्डारीले तलब एक लाख हुन्छ भनेर सम्झौता गराए। यहाँ आएपछि मासिक ४० हजार पनि हात परेको छैन्। स्वदेश फर्किउँ त आउने पैसो छैन। साथीभाइ प्रमाणसहित विभागमा पुग्दा विभागका कर्मचारी म्यानवापरवालाको पक्षमा देखिन्छन्। लाख लाखको बिटो म्यानपावरलाई बुझाइयो। अहिले म्यानपावरलाई फोन, म्यासेज गर्दा कुनै प्रतिक्रिया आउँदैन्,’ विदेशमा नै रहेको एक पीडितले भने। विदेश आउँदाको ऋण चुक्ता गरेर मात्र स्वदेश फर्किने ती युवकले बताए।

विभागका कर्मचारी र म्यानपावर व्यवसायीहरूको बीचमा न्यायको भिख माग्दै गरेका श्रेष्ठ मात्र छैनन्। उनी जस्ता हजारौं पीडितको प्रमाण लत्याएर म्यानपावर व्यवसायीको बोलीकै भरमा पीडित सधैं उत्पीडनमा परिरहेका छन्।

पीडितहरूले भने, ‘सयौं पटक ग्रोथ म्यानपावर धाउँदा उनीहरूको गाली बाहेक केही उपलब्धि भएको छैन। न्यायको भिख माग्दै वैदेशिक रोजगार विभाग गइयो तर म्यानपावर कम्पनीहरूसँग मिलापत्र गर्नु, आधा रकम दिए पनि लिइहाल्नु पछि त्यही पनि नपाइएला।’ यसरी न्यायको आश बोकेर आएका हजारौं पीडित निराश भएर वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनी धाउँदै दिन बिताइरहेका छन्।

हातमा म्यानपावर कम्पनीहरूले ठगी गरेको प्रमाण छ तर विभागले पीडक विरुद्ध कुनै उजुरी लिनै मान्दैन्। विभागका कर्मचारी भन्छन्, ‘तपार्इंहरू बाहिरै गएर मिलापत्र गर्नुहोस्।’ पीडितका अनुसार कर्मचारी त पीडक उम्काउने सहजकर्ता पो बनेका छन्।

वैदेशिक रोजगारीमा ठग्ने र ठगिने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको छ। व्यवसाय गर्ने एजेन्ट तथा म्यानपावर कम्पनीहरूले पीडितलाई गलाउने, थकाउने अनि पचाउने नीति लिएका छन्। पीडितले महिनौं म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभाग धाउँदा पनि न्याय पाउन सकेका छैनन्। दैनिक दुई, तीन सय पीडितहरू न्याय पाउने आशमा प्रमाणसहित वैदेशिक रोजगार विभागको ढोका ढकढक्याउन पुग्छन् तर त्यो ढोका पीडितहरूको लागि खुल्दैन।

प्रकाशित: ७ श्रावण २०८० ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App