१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलले ६ महिनामा १५ सहरमा फोरजी पुर्‍याउने

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आगामी ६ महिनाभित्रमा १५ सहरमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) पुर्‍याउने भएको छ। सन् २०१८ को अन्त्यसम्म मुलुकका ४० सहरमा फोरजी विस्तार गर्ने योजना उसको छ।

'हामीले आगामी ६ महिनाभित्र १५ सहरमा फोरजी पुर्‍याउँदै छौं,' एनसेलका कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले नागरिकसँग भने, 'काठमाडौंबाट सुरु भएको फोरजी सेवालाई सकेसम्म छिटो अन्य सहरमा पुर्‍याउने लक्ष्य छ।' एनसेलले सन् २०१७ भित्र कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा पुर्‍याउने लक्ष्य लिएको छ।

सरकारबाट फोरजी सेवा सञ्चालन अनुमति पाएलगत्तै एनसेलले तीव्र रुपमा आफ्नो सेवा विस्तार गर्ने गरी योजना बनाएको छ। काठमाडौंपछि दोस्रो चरणमा पोखरामा फोरजी पुग्दैछ। असार १७ गतेबाट पोखरामा यो सेवा सञ्चालन हुने जनाएको छ। त्यसलगत्तै विराटनगर, बुटवल, भैरहवा, धरान, वीरगन्ज, नेपालगन्ज लगायत प्रमुख सहरमा फोरजी सेवा पुर्‍याउने एनसेलले सार्वजनिक गरिसकेको छ।

पहिलो चरणमा एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुरु गरेको थियो।

एनसेलको हाल विभिन्न सहरमा आफ्नो फोरजी अर्थात लङ टर्म इभोलुसन (एलटिई) टेस्ट गरिरहेको छ। फोरजी सेवा पुर्‍याउने काम तीव्र रुपमा भएकाले सन् २०१८ भित्रमा ४० सहरमा एनसेलको फोरजी सेवा विस्तार हुने शर्माले जानकारी दिए।

अर्को ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले गत पुसदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालन गरिसकेको छ भने अन्य सहरमा पनि छिट्टै पुर्‍याउन काम गरिरहेको जनाएको छ। केही दिनअघि मात्र निजी क्षेत्रको अर्को दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमले फोरजी सञ्चालनको अनुमति पाएको छ। उसले साउनको मध्यतिरबाट फोरजी सञ्चालन गर्ने बताएको छ।

तीनवटा कम्पनीले फोरजी अनुमति पाएपछि यसमा प्रतिस्पर्धा हुने देखिएको छ। बजारमा प्रतिस्पर्धा चर्को भए पनि ग्राहकले फोरजी सेवामा हुनुपर्ने पूर्ण गुणस्तर सेवा पाउन सकेका छैनन्। यसको कारण कम्पनीहरुले थोरै फ्रिक्वेन्सीमा सेवा प्रवाह गर्नु हो। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई १८०० मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गरी ५/५ मेगाहर्ज फ्रिक्वेन्सीबाट मात्र फोरजी चलाउन दिएको छ। १८०० मेगाहर्ज ब्यान्डमा टेलिकमले १५ मेगाहर्ज र एनसेलले ११ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ।

फोरजी सेवाबाट ग्राहकले तत्काल महŒवपूर्ण ठूला फाइल आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सजिलै हेर्न, अनलाइन खेल खेल्न सक्नेछन्। फोरजी प्रविधिले उच्च गतिको मोबाइल डाटामा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न मद्दत गर्छ र नेपाली कन्टेन्टको विकास तथा प्रयोग बढाउनमा ठूलो भुमिका खेल्छ।

प्राधिकरणका अनुसार सरकारले ब्रोडब्यान्ड सेवालाई अति महत्वका साथ अघि बढाइरहेको छ। प्राधिकरणले सन् २०२० को अन्त्य सम्ममा देशको कुल जनसंख्याको ९८ प्रतिशतमा ब्रोडब्यान्ड सेवा पुर्‍याउने लक्ष्य लिएको छ। ब्रोडब्यान्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँपालिकामा ब्रोडब्यान्ड सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित: २ असार २०७४ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App