२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता

पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो।

आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको संख्या भने बढेको छ। सो कार्यालयका अनुसार आव २०७९/८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो।

विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव लगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए।

आव २०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ। ती शीर्षकबाट आव २०७९/८० मा एक करोड छ लाख ३९ हजार दुई सय ५० रूपैयाँ राजस्व संकलन भएको प्रमुख सिंहले बताए।

उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उद्यमी थपिएका छन् भने तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिला गरी चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ।

आव २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रम अन्तर्गत तीन सय ६२ पुरुष र ९८ महिला गरी चार सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए।

यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन्। गत आव २०७४/७५ देखि आव २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ।

गत आव २०७४/७५ देखि आव २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट रु छ करोड ९७ लाख ९२ हजार सात सय ८० राजस्व संकलन भएको कार्यालय प्रमुख सिंहले बताए।

प्रकाशित: ५ श्रावण २०८० ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App