१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन महिनामा दुईपटक कर्जा ब्याज वृद्धि

काठमाडौं – तीन महिनाअघि वार्षिक ८.९९ प्रतिशतमा लिएको आवास कर्जाको ब्याज अहिले ११ प्रतिशत पुगेको छ । सुरुमा ८.९९ प्रतिशतमा बैंकबाट लिएको आवास कर्जाको ब्याज डेढ महिनाअघि नै बैंकले ९.५० प्रतिशत पुर्याएका थिए । ऋण लिएको तीन महिना नहुँदै अहिले बैंकले पुनः बढाएर ११ प्रतिशत पु¥याएका छन् । त्यसरी कर्जाको ब्याजदर बढाएको जानकारी फोनमार्फत ऋणीलाई गराएका छन् ।

निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर बढाउनुपरेको भन्दै बैंकरहरुले धमाधम कर्जाको ब्याज बढाउन पुगेका हुन् । बैंकहरुले ऋणीलाई फोन गरेर ब्याज बढेको जानकारी गराएका छन् । यतिबेला बैंकहरुले १६ प्रतिशतसम्म कर्जामा ब्याज लिइरहेका छन् ।

पछिल्लो समय बैंकहरुले लगानीयोग्य पुँजीको अभाव भएको भन्दै मुद्दती खातामा १३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरिसकेका छन् । बिहीबारमात्रै जनता बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याजदर दिने योजना अघि सारेको छ । 

तरलताको अभावका कारण निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि ब्याजदर बढेको नेपाल बैंकर्स संघका सल्लाहकार अशोक राणाले बिहीबार नागरिकलाई बताए । ‘अहिले बैंकहरुले १४ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन्,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका राणाले भने, ‘महँगो ब्याजदरमा निक्षेप लिएपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्ने नै भयो ।’ 

बैंकहरुले उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकाले तुरुन्तै एकपछि अर्को गर्दै कर्जाको ब्याज बढाएका हुन् ।  

महँगो ब्याजदरमा निक्षेप लिएका कारणले पनि बैंकहरुले कर्जाको ब्याज बढाउन बाध्य भएको एक बैंकरले बताए ।
साधारण बचत खातामा बढीमा ४–५ प्रतिशत ब्याजमा बैंकहरुले निक्षेप लिए पनि मुद्दती खातामा सर्वसाधारणलाई १३ प्रतिशतसम्म ब्याज दिएर रकम संकलन गरेका छन् । 

‘निक्षेपको ब्याज बढेकाले कर्जाको ब्याजदर बढेको हो,’ ती बैंकरले भने, ‘१३ प्रतिशत ब्याजमा निक्षेप संकलन गरेका बैंकले कर्जा लगानी त्यही अनुसार गर्दा कर्जाको ब्याजदर बढ्नु स्वाभाविकै हो ।’

तर, सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याजदर भने बैंकले खासै बढाएका छैनन् । बचतको ब्याजदर कम भएका कारण उनीहरुले त्यो रकम मुद्दती खातामा सार्न थालेका छन् । 

‘बढी ब्याज आउने भएका कारण ग्राहकले बचत खातामा भएको पैसा मुद्दती खाता धमाधम सारेका छन्,’ एक बैंकरले भने, ‘मुद्दती बचतमा १३ प्रतिशत ब्याज पाउने भएपछि ४–५ प्रतिशत ब्याज पाउने बचत खातामा पैसा राख्ने कुरै आएन ।’ 

बैंकहरुले पहिले नै सम्झौता भइसकेका सर्वसाधारण ऋणी तथा उद्योगीलाई समेत पत्र पठाएर कर्जाको ब्याजदर बढाएको जानकारी दिएका छन् । 

ऋणको ब्याजदर बढेका कारण ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था आएको भन्दै उद्योग व्यवसायीले विरोध गर्दै आएका छन् । ऋणको ब्याजदर बढ्दा लगानी घट्ने, रोजगारीका अवसर संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
बैंकहरुले नाफामात्र कमाउन मात्र लागेकोले यसबाट चाँडै अर्थतन्त्रमा बिचलन आउने उद्योगीहरुको भनाइ छ । 

‘निक्षेपको ब्याजदर बढ्दा कर्जामा ब्याज पनि बढ्छ,’ एक बैंकरले भने, ‘बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी प्रशस्त हुँदा निक्षेप र कर्जाको ब्याजदर घटेर तल आउने गर्छ । तर, त्यस्तो रकमका अभाव भएका बेला दुवैको ब्याजदर बढ्छ ।’
अघिल्लो वैशाखमा आएको भूकम्प र त्यसपछिको तराई–मधेस आन्दोलनका समयमा बैंकिङ प्रणालीमा प्रशस्त रकम थियो । बचतकर्ताले सुरक्षित हुन बैंकमा लगेर पैसा जम्मा गरेका कारण बैंकिङ प्रणालीमा यथेष्ठ लगानीयोग्य पुँजी  थियो । त्यसबेला बैंकहरुले बचत खातामा एक प्रतिशतदेखि १.५ प्रतिशतसम्म ब्याज दिइरहेका थिए । कर्जाको माग नभएकाले ६ देखि सात प्रतिशत ब्याजदरमा बैंकहरु कर्जा लगानी गर्न बाध्य थिए । 

तर, अहिले परिस्थिति उल्टिएको छ । लगानीयोग्य पुँजीको अभाव बैंकहरुलाई छ । यस्तो अवस्थामा ब्याजदर बढाएर भए पनि बैंकहरु निक्षेप तान्न लागिपरेका छन् । महँगो ब्याजमा लिएको निक्षेप रकम महँगै दरमा लगानी गर्दा कर्जाको ब्याजदर बढेको बैंकरहरुको दाबी छ । 

तर, ऋणीहरु भने बढ्दा छिटोछिटो ब्याज बढाउने बैंकले घट्दा भने घटाउन आनाकानी गर्ने गरेको आरोप लगाउँछन् । 

खुला बजार अर्थनीति अनुसार केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरमा अंकुश लगाउन सकिरहेको छैन । त्यसैले पनि बैंकहरुले मनोमानी किसिमले कर्जाको ब्याजदर बढाएका हुन् । ‘केही बैंकले एक महिनामा र केहीले ३–३ महिनामा कर्जाको ब्याजदरमा हेरफेर गर्ने गर्छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘पुराना बैंकले भन्दा नयाँले कर्जा र निक्षेपको ब्याजदर छिटोछिटो परिवर्तन गर्छन् ।’

वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनपछि बजारमा प्रशस्त रकम आउने अनुमान गरिएको थियो । तर, त्यसरी गरिएको अनुमान अनुसार रकम नआएको बैंकरहरु बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार जति कर्जा प्रवाह बढी भयो त्यो अनुपातमा निक्षेप भने बढेको देखिएको छैन । यसको मार गाडी खरिद गर्ने, ऋण लिएर घर बनाउनेदेखि लिएर ऋण लिएर उद्योग चलाउनेसम्मलाई परेको छ । हिजो कम ब्याजदरमा कर्जा लिएकाहरु आज बढी ब्याज तिर्न बाध्य छन् ।  
सुरुमा नयाँ कर्जाको योजनामा मात्र बढेको ब्याजदर विस्तारै पुराना कर्जाको पनि पटकपटक बढ्न पुगेको छ । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App