४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन राजमार्गः पोखरादेखि विजयपुरसम्मको अतिक्रमण हटाउन थालियो

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रमा भएको अतिक्रमण हटाउँदै पोखरा महानगरपालिकाको डोजर। तस्बिरःउमेश पुन/नागरिक

पृथ्वी राजमार्गको पोखरादेखि विजयपुरसम्मका सडक किनारका अतिक्रमित संरचना भत्काउन थालिएको छ। पोखरा महानगरपालिकाले राजमार्ग अतिक्रमण गरी बनाएका संरचना हटाउन सुरु गरेको हो।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पृथ्वी राजमार्गलाई चार लेनमा बिस्तार गरिँदै छ। हाल पोखरादेखि तनहुँको आबुखैरेनीसम्मको ८० किलोमिटर सडक बिस्तारको काम भइरहेको छ।

राजमार्गको पश्चिम तर्फको जामुने–पोखरा खण्डमा बिस्तार गर्नका लागि काम सुरु गर्ने तयारी भएको सडक विभागले बताएको छ। सडक निर्माणको अवस्था बुझ्न यही असार २७ गते एडिबीको टोली पोखरा आउने विभागले बताएको छ।

एडिबीको टोली पोखरा आउने भएपछि पोखरा महानगरले हतार-हतार पृथ्वी राजमार्ग मिचेर पोखराको पृथ्वी चोकदेखि विजयपुरसम्म बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो। जसको पहिलो दिन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आफै पुगेर निर्देशन दिएपछि अवैध संरचना भत्काउन सुरु गरिएको छ।

यो सडक खण्डमा अवैध संरचना हटाएको पहिलो पटक भने होइन। यसअघि दुई पटक सो क्षेत्रमा बनेका अवैध संरचना हटाउन डोजर चलाई सकिएको छ। करिब पाँच वर्ष अघि पनि यसरी नै सो क्षेत्रमा डोजर चलाइएको थियो। तर अवैध संरचना हटाएको लामो समयसम्म पनि सडक बिस्तार नभएपछि पुनः अतिक्रमण सुरु भएको थियो। हाल सोही अतिक्रमित संरचना महानगरले हटाएको हो।

पहिलो चरणमा पृथ्वी चोकदेखि विजयपुर खोलासम्म बनेका अवैध संरचना हटाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। उनका अनुसार यी क्षेत्रमा राजमार्गको २३ मिटर मापदण्डमा पर्ने राजमार्गको दायाँबायाँ दुबैतर्फ रहेका सबै अवैध संरचना हटाइनेछ। त्यसपछि दोस्रो चरणमा विजयपुरदेखि लेखनाथ हुँदै तनहुँको सीमासम्मका अवैध संरचना हटाइने उनले बताए। ‘हामीले एक महिना अघि नै सूचना निकालेर अवैध संरचना हटाउन आग्रह गरेका थियौँ,’ उनले भने, ‘तर अटेर गरेर नहटाएपछि डोजर चलाएका हौँ।’

प्रमुख आचार्यले आउँदो बुधबार बाटो निर्माणको अवस्था बुझ्न एडिबीको टोली आउन लागेको जानकारी दिए। ‘त्यसैले उहाँहरू आउनु अगाडि नै दायाँबायाँका अतिक्रमित संरचना हटाउन महानगरले चासो लिएको हो,’ उनले भने। मापदण्ड भित्र अवैध संरचना जस्ताको तस्तै देखेमा एडिबीले हात झिक्नसक्ने खतरालाई ध्यानमा राखेर अवैध संरचना भत्काउन महानगरले तदारुकता देखाएको उनको भनाई छ।

पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा महानगरमा मात्र १७० वटा घर भत्काउनुपर्ने महानगरले बताएको छ। ती मध्ये ११२ घर तथा भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको सडक आयोजनाले बताएको छ। 

प्रकाशित: २५ असार २०८० ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App