१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वृद्धिका लागि यतिखेर नेपालले पर्यटन र जलविद्युत् क्षेत्रमा ठूलो लगानी खोजेको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा संयुक्त रूपमा आयोजित नेपाल–चीन १४औं गैरसरकारी सहयोग मञ्चको बैठकमा बोल्दै महराले उक्त कुरा बताएका हुन्। महराले चीनका उद्योगी, व्यवसायीलाई लगानीका लागि नेपालको नीति सहयोगी रहेको समेत जानकारी गराए।

पर्यटन र जलविद्युत्को अलावा नेपालमा निर्माणको क्षेत्र पनि लगानीका लागि उपयुक्त रहेको उनको भनाइ छ। चीनले हासिल गरेको उच्च आर्थिक वृद्धिबाट लाभ उठाउन नेपाल लालायित रहेको बताउँदै महराले नेपालमा बढीभन्दा बढी लगानी गर्न चीनका व्यवसायीलाई आग्रह गरे।

नेपाल र चीनका उद्योगी, व्यवसायी सम्मिलित उक्त बैठकमा बोल्दै महासंघकी अध्यक्ष तथा मञ्चकी सहअध्यक्ष भवानी राणाले नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गइरहेकाले गुणस्तरीय होटल, रेस्टुरेन्टलाई लगानी गर्न सकिने क्षेत्रको रुपमा औंल्याइन्। वान वेल्ट वान रोडमा नेपाल पनि पाटर्नर भएकाले यसले समग्र आर्थिक क्षेत्रको विकास गर्ने उनको भनाइ छ। नेपाललाई यतिखेर निकै ठूलो लगानी खाँचो रहेकाले नेपालमा लगानी गर्न राणाले चिनियाँ उद्यमी, व्यवसायीलाई आग्रह गरिन्। सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार पूर्वाधार निर्माण, जलविद्युत्, उत्पादनमूलक क्षेत्र, पर्यटन जस्ता क्षेत्रमा धेरै काम गर्न सकिने उनको भनाइ  छ।

चीन र नेपालका निजी क्षेत्रको विकास तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् १९९६ मा मञ्चको स्थापना गरिएको हो। मञ्चको बैठक हरेक वर्ष हुने गर्छ।

चीनबाट आएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा मञ्चका सहअध्यक्ष सिए चिनरोङले चीनका व्यवसायी नवीकरणीय ऊर्जा, पर्यटन, हार्डवेयर तथा निर्माण क्षेत्रमा आदानप्रदान र सहयोग गर्न तयार रहेको बताए। साथै उनले मञ्चको १३औं बैठकमा भएको सहमति अनुसार 'चीन–नेपाल संस्कृति आदानप्रदान' कार्यान्वयन गर्न आवश्यक रहेको बताए। पछिल्लो समयमा चीनसँगको व्यापार, व्यवसाय वृद्धि हुनुको साथै चीनले नेपालमा लगानी पनि वृद्धि गर्दै गइरहेको व्यवसायीले बताए। उनले सन् २०१७ को फेब्रुअरीसम्म चिनियाँ उद्यमीहरूले नेपालको गैरवित्तीय क्षेत्रमा ३५ करोड ७० लाख अमेरिकी डलर लगानी गरेको जानकारी दिए।

चीनको ओबोर अवधारणा तथा १३औं पञ्चवर्षे योजना र नेपालको राष्ट्रिय पुनर्निर्माण तथा विकास योजनाबीच समन्वय कायम भई दुई देशबीच परापूर्व कालदेखि स्थापित आर्थिक तथा सामाजिक आदानप्रदानलाई थप नयाँ उचाइमा पुर्‍याउने उल्लेख गर्दै सिएले दुई देशका महासंघको सम्बन्धलाई थप मजबुत बनाई सहकार्यमा जोड दिनुपर्ने बताए।  चीनका व्यवसायी दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप प्रवर्द्धन र विकास गर्न तत्पर रहेको उनले बताए।

नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालको विकास प्रयासमा महŒवपूर्ण साझेदारको रूपमा काम गर्न पाउँदा चीन  निकै खुसी रहेको बताइन्। सोही कार्यक्रममा  महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दुवै महासंघको पहलमा स्थापित मञ्चका माध्यमबाट आपसी सहकार्य हुने बताए। 

उक्त बैठकमा विभिन्न विषयगत क्षेत्रमा दुई देशका उद्यमी व्यवसायीबीच विस्तृत छलफलसमेत भएको थियो। महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले नवीकरणीय ऊर्जा एवं जल ऊर्जामा लगानीको सम्भाव्यता, महासंघका सहरी विकास समितिका सभापति ओम राजभण्डारीले हार्डवेयर तथा भवन निर्माण सम्बन्धी सामग्री र महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा चिनियाँ संयुक्त लगानीमा पर्यटनका सम्भाव्यता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ जेष्ठ २०७४ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App