१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘नेपालगन्ज ग्रिन सिटी’ बन्दै

बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग, एकान्त तथा मनोरम वातावरणसहित ‘नेपालगन्ज ग्रिन सिटी’ निर्माण हुने भएको छ। रासिद अहमद कुरेसी अध्यक्ष रहेको कालिका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हरियाबाबा रोड, रामनगरमा उक्त ग्रिन सिटी निर्माण गर्न थालेको हो।

निर्माणाधीन उक्त सिटी नेपालगन्जका १३ र १७ नम्बरसँग पनि जोडिएको छ। उक्त सिटी २५ बिगाहा क्षेत्रफलमा फैलिने भएको छ। ५० बिगाहा क्षेत्रफलमा फैलाउने उद्देश्य राखिएको नेपालगन्ज ग्रिन सिटीका प्रोजेक्ट डाइरेक्टर इरसाद राईले जनाए। यसका लागि थप २५ बिगाहा जग्गा खरिद भएको उनी बताउँछन्। कुल पाँच अर्ब लगानीमा निर्माण हुन थालेको उक्त ग्रिन सिटीले नेपालगन्जमा लगानी भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यहाँ करिब एक हजार घरधुरी हुनेछन्। यहाँका लागि बैंक र ठुला अस्पतालसँग समन्वय भएको उनको भनाइ छ। ‘ठुलो व्यवस्थित सिटी हुन्छ,’ उनले भने, ‘जसका लागि अस्पताल, बैंक, व्यावसायिक स्थान त चाहिन्छ।’ यसका लागि काठमाडौं र भारतीय अस्पतालहरूलाई लगानी गर्न अनुरोध गरिरहेको बताइएको छ। उक्त ग्रिन सिटीभित्र व्यावसायिक मार्केट पनि हुनेछ। जसले यहाँ बसोबास गर्ने नागरिकलाई किनमेलका लागि बाहिर जानुपर्ने झन्झट नहोस्।

यसमा पाँच सयभन्दा बढी किफायती हाउजिङ युनिट तथा सर्भिस प्लेटको विकास गर्ने लक्ष्य छ। ‘व्यक्तिगत घर प्राकृतिक प्रकाश, भेन्टिलेसन अनुकूल हुनेछन्,’उनले भने, ‘प्रत्येक घरलाई वर्षायामको पानी संकलन गर्न सकिने गरी डिजाइन गरिएको छ।’ प्रत्येक घरधुरीलाई घरआँगनमा बिरुवा रोप्न प्रोत्साहन गरिनेछ। स्वच्छ हरियालीसहित परिदृश्यका लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याई हरियाली सहरलाई प्रोत्साहन गरिएको भन्दै उनले भने, ‘प्रत्येक घरमा उपयुक्त क्रस, भेन्टिलेसन, प्राकृतिक प्रकाशसहितको डिजाइन गरिएको छ। मौसम अनुकूल हावापानीलाई सामना गर्न साइड प्लानिङ गरिएको छ।’

कुशल योजनासहित पूर्वाधार लागतलाई न्यूनतम आधार बनाई साइड प्लानिङ गरिएको उनको भनाइ छ। शान्त, स्वच्छ तथा हरियाली वातावरणमा अवस्थित रहेको यस क्षेत्रमा घडेरी र घर किनमेल सुरु भइसकेको छ।  

नेपालकै नमुना बस्ती हुनेगरी आफ्नै कम्पाउन्डभित्र स्कुल, कलेज, हस्पिटल एवम् व्यावसायिक योजना हुने छन्। ग्रिन सिटीभित्रै बसोबास गर्ने जनशक्तिलाई लक्षित गरी रोजगार दिने उद्देश्यले विभिन्न उद्योग तथा कलकारखाना खोलिने योजना रहेको उक्त कम्पनीले जनाएको छ। ‘हरेक आयस्तरका वर्गलाई लक्षित गरी सबै अट्न सक्ने गरी प्लानिङ गरिएको छ,’ उनी भन्छन्, ‘कम्पाउन्डभित्र विद्युतीय तार अन्डरग्राउन्ड गरिने छ।’

प्रकाशित: १८ असार २०८० ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App