२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा लगानी गर्न आग्रह

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्। चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको छ, अब नेपालमा लगानी गर्नुहोस् ।’

नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हाम्रो कर स्ल्याबहरू सबैभन्दा कम छन्, व्यापारका लागि पनि उपयुक्त वातावरण बनेको छ । त्यसैले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानीका अवसरहरू छन् ।’ उनले नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजान पूर्णरूपमा अनुमति दिएको पनि स्पष्ट पारे।  

वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भजे, ‘नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न पनि सक्नेछन्, स्वेदेशी र विदेशी लगानीलाई कुनै भेदभाव गरेको छैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन ।’ नेपालमा पछिल्लो समय सुधार भएका कानुनले व्यावसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास दिलाउँदै उनले श्रम कानुनलाई सुधारेर कम खर्चिलो जनशक्ति उपलब्ध गराउने नीति पनि लिइएको जानकारी गराए ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को सञ्चालनका लागि प्रक्रियामा सरलता कायम गर्न आफूहरू गम्भीर भएर लागिपरेको बताउँदै उनले भने, ‘एफडिआईको स्वचालित स्वीकृतिका लागि आवश्यक नियम विकास गर्दैर्छौं ।’ उनले मेलामा सहभागी हुन छेन्दु आएका विदेशी उद्योगी व्यवसायीलाई नेपालमा रहेको लगानीको अवसरबाट फाइदा लिन पनि आह्वान गरे ।  

नेपालमा लोकतान्त्रिक पद्धतिको स्थायित्व र संस्थागत विकासका लागि पनि वैदेशिक लगानी आवश्यक भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक शान्ति प्रक्रिया, लोकतान्त्रिक राजनीतिक परिवर्तन, गणतन्त्र र समाजवादोन्मुख समावेशी लोकतन्त्र स्थापना गर्न तथा संविधानलाई संस्थागत गर्न आर्थिक समृद्धि र विकास जरुरी छ, त्यसका लागि नेपाललाई एफडिआइसहित अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।’

सम्मेलनमा सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै श्रेष्ठले भने, ‘नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र नेपालको साहसिक पर्यटनको अनुभव गर्न यहाँहरूलाई आग्रह गर्दछु ।’ उनले नेपालको वास्तविक प्रकृतिमा रमाउन आग्रह गर्दै भने, ‘तपाईंहरू नेपालको भव्य हिमालयको अद्भूत दृश्यहरू देखेर जीवनभरको अनुभव गर्नुहुनेछ ।’

नेपाल–चीनबीच सताब्दीऔंदेखि उत्कृष्ट सम्बन्ध र मित्रता रहँदै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘दुई देश पहाड र नदीले जोडिएका छन्, हामी भौगोलिक निकटता र सांस्कृतिक आत्मियताले गाँसिएका छौं, हाम्रो असल मित्रता विश्वसनीय छ ।’ नेपाल–चीन एकअर्काको सार्वभौमसत्ता, भौलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहँदै आएको उल्लेख गर्दै उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाल आफ्नो भूमि चीन र अन्य छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा सधैं प्रतिबद्ध छ ।’

नेपाल–चीनबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ तुल्याउन यसलाई विकास र समृद्धिमा लागि प्रयोग गर्ने रणनीति अपनाइएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कमार्फत सम्पर्क सञ्जाललाई विस्तार गर्न हामी लागिपरेका छौं ।’

नेपालको विकासमा चीनले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको स्मरण गर्दै उनले भने, ‘हाम्रो खुसीका लागि चीनले उच्च गुणस्तरीय पूर्वाधार निर्माण, समृद्धिका लागि पहल, मानवता र प्रकृतिबीचको सद्भाव प्रवद्र्धन गर्ने तथा मानव उन्नति र विकासका नयाँ स्वरूप सिर्जनामा महत्व दिएको छ ।’ उप्रधानमन्त्री श्रेष्ठले नेपालजस्ता विकासोन्मुख देशहरूको क्षमता विकास र समृद्धिसहित आधुनिकीकरणमा चीनले पुर्याएको सहयोगको प्रशंसा गरे ।

सिचुवान प्रान्तसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र सिचुआनबीच भूगोल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्बन्धका धेरै समानता रहेको बताए । नेपाल र चीनका जनताले बुद्ध शिक्षा र दर्शनलाई उच्च सम्मान गर्ने भएकाले यसले पनि द्विपक्षीय सम्बन्धलाई प्रगाढ तुल्याएको बताए। श्रेष्ठले पछिल्लो समय छेन्दु चीनको प्रवेशद्वार बनेको उल्लेख गर्दै चीनसँगको नेपालको कुल व्यापारको एकतिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको बताए।  

नेपालका लागि अन्तर्राष्टिय मेला निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले मेलाले नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले यस्ता मेलाले जनस्तरको सम्बन्धलाई पनि प्रवद्र्धन गर्ने बताए । नेपालले सन् २०१३ देखि यस मेलामा भाग लिँदै आएको छ । रासस

प्रकाशित: १५ असार २०८० ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App