२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा रोपाइँ महोत्सवको तयारी

पोखरा क्षेत्रमा धान रोप्दै महिला । तस्बिरः उमेश पुन/नागरिक

‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ।

पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) ले आयोजना गरेको यो महोत्सवको अहिले १८ औं संस्करण हो। खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वर्षेनी यस्तो महोत्सव आयोजना गर्दै आएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। २०६१ साल देखि परिषद्ले वर्षेनी यो महोत्सव आयोजना गर्दै आएको छ।

परिषद् अध्यक्ष श्रेष्ठका अनुसार पोखरा–१३, महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ गरी १२ रोपनी क्षेत्रफलमा खेतमा यो महोत्सव हुँदै छ। ‘मुख्य बालीको रुपमा परिचित धान खेती हुने क्षेत्रफल अहिले घटिरहेको छ । पोखरा र आसपासका फाँटमा अहिले धान खेती गर्न छाडेर घर बनाउन थालिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘धान खेती हुने ठाउँ पाउन पनि कठिन हुने अवस्था छ।’ परिषद्ले हरेक वर्ष आयोजना गर्ने यस्तो महोत्सवले पर्यटन प्रवर्द्धनमा थोरै भए पनि राहत मिल्ने गरेको उनले बताए।

‘कोभिड भन्दा अघिल्ला वर्ष यस्तै महोत्सवको अवसर पारेर विदेशी पाहुना नै पोखरा आउने गरेका थिए। कोभिडपछि विदेशीको आगमन खस्किएको मात्र हो,’ उनले भने। हरेक वर्ष फरक ठाउँमा महोत्सव आयोजना गरिरहँदा आगामी दिनमा यस्तै महोत्सव गर्ने ठाउँ समेत अभाव हुने सम्भावना रहेको उनले सुनाए । ‘सहरी क्षेत्रका फाँटमा धमाधम घर बनिरहेका छन्। अबको केही समयपछि त धान खेती गर्ने ठाउँ पाउन समेत मुस्किल हुन सक्छ,’ उनले भने।

असार १५ मा धान दिवस मनाईरहँदा धेरैतिर रोपाइँ जात्रा हुने गरेको छ। तर, पोखरामा हुने रोपाइँ महोत्सवले अन्यत्रको भन्दा विशेष महत्त्व पाउने व्यवसायी बताउँछन्।

‘अब धान खेती हुने क्षेत्र देख्न पनि नपाउने अवस्था छ। सकेसम्म ती क्षेत्रलाई जोगाउन पनि यस्ता कार्यक्रमले सघाउने अपेक्षा हो,’ उनले भने, ‘धानखेतीको महत्वबारे धेरथोर ज्ञान बाढ्न सघाएको छ भने पर्यटन प्रवर्द्धनमा पनि योगदान पुगेको छ। पोखरा क्षेत्रमा हुने रोपाइँ महोत्सवले पर्यटन क्षेत्रमा पहिचान बनाइसकेको छ।’ 

प्रकाशित: १४ असार २०८० १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App