४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सञ्चालक केदारनाथ शर्माले हिनामिना गरेको उदयपुरस्थित तुलसी सहकारी भवन अगाडी जम्मा भएका बचतकर्ता । तस्विरः महेश्वर/नागरिक

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्। उदयपुर र मोरङलगायत ८ जिल्लामा सहकारी तथा विभिन्न कम्पनीको माध्यमबाट लुटधन्दा मच्चाउँदै आएका शर्मा मंगलबार नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ।  

उदयपुर र मोरङमा तुलसी सहकारी र गार्डेनमार्ट डिपार्टमेन्टमार्फत ठगी आरोपी शर्मा हाल पक्राउ पर्नुको कारण भने भक्तपुरमा आफै अध्यक्ष रहेको शिवशिखर सहकारीको अर्बौँ रकम हिनामिना गरेको आरोपमा हो। गाईघाटमा दुईवर्षदेखि तुलसी सहकारी र गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै स्थानीय सर्वसाधारणको झण्डै ५० करोड बचत रकम हिनामिना गरी फरार थिए। प्रहरीको खोजी सूचीमा परेपछि माघ अन्तिमतिर भारत पलायन भएको खवर बाहिरिए पनि सहकारीका ३ जना पदाधिकारी बिराटनगरस्थित तुलसी सहकारीको रकम हिनामिना आरोपमा माघ दोस्रो साता पक्राउ परेपछि भारत भागेका थिए।

उदयपुर र मोरङका हजारौँ सर्वसाधारणको बचत हिनामिना गरीा बेपत्ता भएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) खोजी जारी राख्ने क्रममा पक्राउ गर्न सफल भएको हो। उदयपुरमा ४ हजार २ सय बढी सर्वसाधारणको बचत, निक्षेप र शेयर फिर्ता नदिएको भन्दै पीडितहरुले सहकारी घेराउ गरेलगत्तै सम्पर्कविहीन भएका उनको खोजी गर्न त्रियुगा नगरपालिका, जिल्ला प्रहरी र पीडित संलग्न छानविन समिति जिल्ला प्रशासन कार्यायलले गठन गरेको थियो। छानविनको क्रममा शर्मा नेपालमै नरहेको निश्कर्ष निस्केको थियो।

बाँकेको उढरापुर गाउँपालिका २ स्थायी ठेगाना भएका शर्मा त्यसबेला भैरहवा नाका भएर भारततर्फ भागेको छानविन समितिले जनाउदै खोजी गरी कारबाही गर्न प्रहरी प्रशासन गुहारेको थियो । उनीसँगै सहकारीका कानुनी सल्लाहकार र काठमाडौंँ बस्दै आएका उनका श्रीमति र छोरा पनि भूमिगत भएको निश्कर्ष निकाल्दै समितिले सर्वसाधारणको रकम सुरक्षित गरिदिन प्रशासनसँग आग्रह गरेको थियो ।  

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट र मोरङमा बिराटनगर महानगरपालिका ८ मा कार्यालय खोलेर सहकारी सञ्चालन गर्दै आएका शर्मा दुवै ठाउँका हजारौँ सर्वसाधारणको रकम बचत गराउन सफल भइ फरार रहेको २ महिनापछि भारत भागेको प्रहरीले जनाएको छ। सम्पर्कबिहीन भएको २ महिनापछि मात्र उदयपुरका बचतकर्ताहरु आफु ठगिएको चाल पाएर रकम फिर्ता माग्दै सहकारी घेराउ गर्न उत्रदासम्म  रकम शर्मा लापत्ता भईसकेका थिए। फिर्ता मागेको महिनौँ दिनसम्म बचत नपाईरहेका बेला मिति उल्लेख नभएको सूचना भित्तामा टाँसेर ‘१५ दिनका लागि सहकारीको कारोबार रोकिएको’ जानकारी दिएपछि बचतकर्ताहरु झस्कन पुगेर घेराउमा उत्रिए। ४ हजार २ सय बढी सर्वसाधारणको झण्डै ५० करोड बचत रकम जम्मा गर्न सफल शर्माले एउटै व्यक्तिबाट ५० हजारदेखि ४ करोडसम्म ठगेको पाइएको छ।

सिआईबीले विभिन्न सहकारीमा बचत गरेको साढे ११ अर्बभन्दा बढी रकम शर्माले हिनामिना गरेको जनाएको छ। सर्वसाधारणको रकम हिनामिना गरेको आरोप लागेसँगै फरार भएका शर्मा भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीको निवर्तमान अध्यक्ष, मोरङको तुलसी सहकारीको अध्यक्ष र शिखर अर्गनाईजेसनको सञ्चालक भएको प्रहरीले जनाएको छ। असार ११ गते नेपालगञ्जबाट पक्राउ परेका उनलाई बुधबार सिआइबीले काठमाडौँमा सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढाएको जनाएको छ। उनी संलग्न समूहले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा मुख्य कार्यालय राखी नेपालका विभिन्न ३५ जिल्लामा शाखा कार्यालय र सेवा केन्द्र खोलेर १ लाख ६८ हजार ७ सय २५ सर्वसाधारण निक्षेपकर्ताको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप प्रहरीमा परेको छ।  

शर्मा अध्यक्ष रहेको मोरङको तुलसी बहुमुखी सहकारीमा २१ हजार १ सय ५४ सर्वसाधारणको  १ अर्ब ५४ करोड ७५ लाख रकम हिनामिना भएको छ । उनले प्रचलित सहकारी ऐन् र नियमावलीविपरित सहकारी संस्थाबाट आफू र आफु नजिकका व्यक्तिको नाममा बिभिन्न ४३ कम्पनी सञ्चालनमा ल्याई ऋण लगानी गरेको सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् । उनका अनुसार सो रकमको साँवा ब्याजसमेत सहकारीमा फिर्ता नगरेको, सहकारीको निक्षेप आफु र आफ्ना नजिकका व्यक्तिको नाममा जग्गा, जमिन, सवारी साधन खरिद गरी सर्वसाधारणको बचत दुरुपयोग गरी सहकारी संस्थामाथि हानि पु¥याएको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको छ।  

प्रकाशित: १४ असार २०८० ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App