१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

औजार पाउँदा उद्यमी खुसी

कार्यालयमै उद्यमीहरूलाई मेसिन औजार हस्तान्तरण गरिँदै। तस्बिर: गोविन्द/ नागरिक

दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।

आफूहरूले स्थानीय स्तरमा सुरु गरेको उद्योगलाई सरकारले साहरा दिएको हिमाली मसला उद्योग दुल्लुका प्रोप्ररार्ईटर राजु खड्काले बताए। वास्तविक उद्यमीका लागि यस्ता अनुदानका कार्यक्रमले ठूलो सहयोग पुर्‍याएको देवी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक देवीकुमारी दाहालले बताइन्।

‘केही गर्छु भन्ने किसानका लागि मेसिन औजार वितरण कार्यक्रमले खुसी ल्याएको छ।’ उद्यमी देवीकुमारी दाहालले भनिन्, उद्यमीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमले उत्पादनमुखी बनाउनेछ।’

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले उद्यमीहरूलाई उपयुक्त प्रविधि तथा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनका लागि मेसिन औजार हस्तान्तरण कार्यक्रम गरेको छ। जिल्लाभरबाट आवेदन दिएका मध्ये छानिएका ४७ जना उद्यमीलाई विभिन्न प्रकारका मेसिन औजारहरू दिइएको हो।

कार्यालयबाट सूचना प्रकाशन गरिएपछि उद्यमीले दिएका आवेदन छनौट गरी आवश्यकतानुसार उद्यमीलाई उद्योग प्रवद्र्धन गर्न सहयोग पुग्ने औजारहरू दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख कल्पना खत्रीले बताइन्।

२० लाख रूपैयाँ बजेटमा ४७ जना किसानलाई मेसिन औजार किनिएको हो। उद्यमीहरूले आफैं औजार किनेर कार्यालयमा देखाइ विलभरपाई पेश गरेपछि भुक्तानीको हुने व्यवस्था गरिएको छ।

पुरुषको नाममा भएको फर्मबाट ५० प्रतिशत र महिला, दलित लगायत लक्षित वर्गको नाममा भएको फर्मबाट ७० प्रतिशत अनुदान दिइएको कार्यालय प्रमुख खत्रीले बताइन्। मिल, फर्निचर, होटल व्यवसाय, सिलाइ कटाइ मेसिन, ब्युटीपार्लर, मसला उद्योग, डेरी उद्योग लगायतका उद्योगका लागि पनि मेसिन औजार हस्तान्तरण गरिएको थियो।

बिहीवार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले आफ्नै कार्यालयमा उद्यमीहरूलाई मेसिन औजार हस्तान्तरण गरेको थियो। 

प्रकाशित: १० असार २०८० ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App