२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट

सरकारले बजेटमा कटौती गरेपछि वीरगन्ज महानगरपालिकाको बजेटमा पनि त्यसको असर परेको छ। चालू आर्थिक वर्षमा महानगरपालिकाले ल्याएको बजेट भन्दा १२ करोड बजेट घटाएर आगामी वर्षका लागि बजेट प्रस्तुत गरिएको छ।

महानगरपालीकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो।

महानगरपालिकाको नगर सभाको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै उपमेयर इम्तियाज आलमले बुधबार बजेट प्रस्तुत गरेका हुन्। यद्यपि, चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ३३ करोडको बजेट ल्याएको थियो।

आगामी आ.व.का लागी प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत, र पुँजीगततर्फ  ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको उपमेयर इम्तेयाज आलमले बताए।

अगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक आय तथा राजस्वबाट १ अर्ब २० करोड ४४ लाख, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लख, राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख व्यहोरिने जानकारी गराएको छ।

महानगरको प्राथमिकताका क्षेत्रहरू

आगामी आर्थिक वर्षका लागि महानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरेको छ।

महानगरले पहिलो प्राथमिकतामा गुणस्तरीय पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीय गन्तव्य, डिजिटल प्रशासन, योजनाबद्ध सहरको विकास र सुन्दर वीरगन्जको पहिचान स्थापित गर्ने भनेको छ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि, सबैका लागि अनिवार्य निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति महानगरले लिएको छ। साथै पर्यटनमार्फत वीरगन्जलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने नीति अवलम्बन गरिएको छ।

परम्परागत मठ–मन्दिरहरू, मस्जिद र ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा स्थलहरूको संरक्षणलाई महानगरले प्राथमिक सूचीमा राखेको छ।

त्यसैगरी महानगरले बजेटमा शिक्षा क्षेत्रतर्फ १२ करोड २० लाख र खानेपानी तथा सर-सफाई तर्फ १२ करोड रुपैयाँ छुट्ट्याएको छ भने विकेन्द्रित स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ।

यस्तै लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, वासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ।

महानगरपालिकाको १३ औ अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगन्जलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने जोड दिइएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा बिन्द्धवासिनी मन्दिर, भिस्वा बौद्ध बिहार र नृसिंह मन्दिरको सौन्दर्य करणको लागि बजेट राखेको छ।

कला, धर्म र संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि स्थानीय समुदायसँगको सहकार्यमा परम्परादेखि चलिआएका जात्रा, पर्व र मेलाको आयोजनामार्फत धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिने नीति महानगरपालिकाले अवलम्बन गरेको छ।

वीरगन्जको आर्थिक क्षेत्रलाई मजबुत पार्न उद्योग वाणिज्य संघ एवं स्थानीय संघ संस्थासँगको साझेदारीमा वीरगन्जमा लाग्दै आएको रात्रि बजारलाई थप परिष्कृत गर्दै निरन्तरता दिने भनिएको छ।

महानगरपालिकाले वडा नम्बर १७ मा ऐतिहासिक अलौँ संग्राहालय निर्माण २० लाख बजेट छुट्टाइएको छ।

वडा अध्यक्षलाई १ करोड ८ लाखसम्मको बजेट

आगामी आर्थिक वर्षमा वडा अध्यक्षलाई दिइने बजेटमा थप गरिएको छैन। चालू आर्थिक वर्षमा दिइएको बजेटलाई नै निरन्तरता दिइएको छ।

महानगरले आगामी आर्थिक वर्षका लागि वडा कार्यालयहरूमा जाने बजेट पुरानै बजेट सेलिङ राखेको स्रोतले जनाएको छ। एक वडा अध्यक्षका अनुसार आगामी आर्थिक वर्षमा वडा अध्यक्षहरुलाई कम्तीमा ६० लाखदेखि १ करोड ८ लाखसम्म बजेट दिइएको छ।

बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार वीरगन्ज महानगरले आज आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ६ असार २०८० १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App