२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट: अर्थमन्त्री महत

मोरङ व्यापार संघको ६६ औं बार्षिक साधारणसभामा सहभागि हुँदै अर्थमन्त्री प्रकाशशरण महत। तस्बिरः चुमन बस्नेत/नागरिक

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगायएको बताएका छन्।

सोमबार मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको बताएका हुन्।

उनले आन्तरिक उत्पादन बढोस्,आयात निरुत्साहित होस् भनेर मात्रै भ्याट लगाइएको बताए। महतले आन्तरिक उत्पादनलाई भ्याट नलगाइएको स्पष्ट पारे। महतले भने,‘आलु र प्याजमा आन्तरिक उत्पादनलाई नभई आयातितलाई मात्रै भ्याट लगाइएको हो।’ महतले आयातित आलु र प्याजमा भ्याट लगाउँदैमा सर्वसाधारण उपभोक्तालाई मर्का नपर्ने बताए। उनले डिपार्टमेन्ट स्टोर्समा आलु र प्याजमा भ्याट लागे पनि अन्यलाई भ्याट नलाग्ने स्पष्ट पारे। ‘हामी कृषि प्रधान देश भन्छौं, आलु र प्याज यति अर्बको आयात गर्ने, आलु र प्याज यहाँ उत्पादन गर्न नसक्ने? जमिन बाँझो छाड्ने? विदेशबाट किनेर मात्रै खाने? भन्ने बहसलाई मध्यनजर राखेर आलु र प्याजमा कर लगाएका हौं।’  अर्थमन्त्री महतले भने।

नेपालको अर्थतन्त्रमा समस्या रहेको स्वीकार गर्दै उनले पूँजीगत खर्च कम भइरहेको बताए। आन्तरिक र बाह्य ऋणको व्याज तिर्नुपर्ने भएकाले पूँजीगत खर्चमा दबाब परिरहेको महतको भनाइ छ। भूकम्पको बेला लिएको ऋण तिर्ने बेला भएको भन्दै उनले साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आएको स्पष्ट पारे। चालु आवको अन्त्यमा ब्याजदरमा सुधार हुने भन्दै उनले पूँजीगत खर्च र मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउने बताए। खाने तेलमा आफूले कर नबढाएको दाबी गर्दै महतले अघिल्लै सरकारको करलाई निरन्तरता दिएको स्पष्ट पारे। नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको सबै भन्दा ठूलो समस्या भुक्तानी सन्तुलनको रहेको बताए।

उनले मुलुकको विकासका लागि कृषि, पर्यटन, जलविद्युत र मानव संसाधनको उपयोग गर्नुआबश्यक रहेको बताए। कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आलु, प्याजमा लगाइएको भ्याटबारे पुनर्विचार गर्न आग्रह गरे। यस्तै ड्राइफ्रुट,ध्यु तेलमा भन्सार बढाउँदा राजस्व बढ्ने नभई चोरी पैठारी बढ्ने बताए। हालै उद्घाटन भएको रेलमार्ग नियमति सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न, बर्षायाममा भारत निर्यात हुने दरमा नेपाली उद्योगीहरूलाई विद्युत उपलब्ध गराउन, अर्थतन्त्र चलायमान बनाउन ऋणको व्याजदर घटाउने नीतिगत व्यवस्था गर्न मोरङ व्यापार संघका तर्फबाट अध्यक्ष रिजालाले अर्थमन्त्री महतसँग आग्रह गरे।  

प्रकाशित: ४ असार २०८० १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App