१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराको पर्यटनलाई ‘ड्रागन बोटरेस’ कोसेली

पहिलो पटक पोखराले अन्तर्राष्ट्रिय विमान अवतरण गराउँदै

पोखरामा हुने ड्रागन बोट रेस फेस्टिभलबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट। तस्बिरः सन्तोष पोखरेल/नागरिक

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुने भएको छ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलकै अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गर्ने तयारी पनि छ।  

असार ८ र ९ गते हुने फेस्टिभलको तयारी स्वरुप चीनबाट डुंगा पोखरा ल्याईसकिएको र अहिले ती डुंगालाई फेवातालमा परीक्षण गरिरहेको आयोजकले बताएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेका छन।  

तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा आयोजकले पोखरामा थप चिनियाँ पर्यटक भित्र्याउने ढोका यो महोत्सवले खोल्ने बताएको छ। पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले पहिलोपटक पोखरामा यो महोत्सव गर्न पाउनु पर्यटन क्षेत्रका लागि ठुलो मौका भएको बताए। उनले आगामि दिनमा नेपालमा चिनियाँ पर्यटकको आकार बढाउन यो कार्यक्रमले सघाउने बताए।

‘पर्यटन क्षेत्रमा अफसिजनको बेलामा यो महोत्सव हुन थालेको छ। अफसिजनमै थप पाहुना भित्र्याउनका लागि यसले ढोका खोल्नेछ,’ रेग्मीले भने, ‘पहिलो पटक पोखरामा हुँदैछ। कठिन अवस्थामा यो कार्यक्रम पहिलो पटक आयोजना गर्न पाउनु निकै नै महत्वपूर्ण अवसर हो।’ उनले पोखरामा जनवरी १ देखि संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि पनि यसले ढोका खोल्न थालेको बताए।  

नेपालका लागि चिनियाँ दुतावासका डेपुटि चिफ अफ मिसन (डिसिएम) वाङ सिनले पोखरामा हुने यो फेस्टिबलले नेपाल र चीनबीचको सम्बन्धको नयाँ च्याप्टर थपिएको बताए। उनले पोखरामा यो महोसत्वले सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा पार्ने बताए। ‘पर्यटन प्रवद्र्धनका लागि यो निकै नै महत्वपूर्ण अवसर हो। यसले आगामि दिनमा चिनियाँ पर्यटक भित्र्याउन थप बल पु¥याउनेछ,’ उनले भने।  

उनका अनुसार यो फेस्टिभलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगिहरु सहभागि हुनेछन। दुइसय र पाँचसय मिटरमा गरि दुई भागमा आठवटा बोटमार्फट रेस हुनेछ। प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने उनले बताए। यही फेस्टिभलको क्रममा दुवै देशका सांस्कृतिक प्रस्तुती र खानाको प्रदर्शनी पनि हुने उनले बताए। रेसका लागि चिनबाटै नेपालको केरुङ नाका हुँदै आठवटा विशेष डुंगा पोखरा ल्याइएको छ। कार्यक्रममा सहभागि हुनका लागि चीनको लिङजी सहरबाट नगर प्रमुख सहित ६० जना पाहुना पोखरा आउने तयारी पनि भएको उनले बताए।  

चीनले यसअघि यसप्रकारको बोट फेस्टिभल ५० भन्दा बढी देशहरुमा आयोजना गरिसकेको छ। यो प्रतियोगितालाई एशियन गेममा पनि सहभागि गराइएको विज्ञप्तीमा उल्लेख छ। पोखरामा यो गतिविधिलाई हरेक वर्ष आयोजना गर्नेगरि यो पटक कार्यक्रम गर्न थालिएको विज्ञप्तीमा जनाइएको छ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले संस्कार र सद्भाव साट्नका लागि पनि यो महोत्सव महत्वपूर्ण भएको बताए। ‘पोखराबारे चिनियाँ पर्यटनमाझ प्रचार प्रसार गर्न यो महोत्सव काफि हुनेछ। यसले आगामि दिनमा थप चिनियाँ पाहुना पोखरा भिœयाउने अवसर दिलाउनेछ,’ उनले भने।  

कोभिड संक्रमण सुरु भएपछि आफ्ना नागरिकलाई घुमघाममा रोक लगाउँदै आएको चीनले गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटाएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

गत मे महिनामा मात्र नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ । यो आगमन आगामि दिनमा बढ्दै जाने अपेक्षा पर्यटन व्यावसायीको छ। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने मुलुकको तेश्रो नम्बरमा चीन रहेको छ। निनियाँ पाहुना लक्षित गरेर पोखरामा विभिन्न पूर्वाधार पनि व्यावसायीले बनाएका छन्।

पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण गर्ने भएको छ। चीनको सिचुआन एयरलाइन्सले छेङदु–पोखरा चार्टर्ड उडान गर्ने तयारी पनि गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आगामि बुधबार बिहान ९ बजे २५ मिनेटमा सिचुआन एयरलाइन्सको जहाज पोखरा अवतरण गर्नेछ। १५८ सिट क्षमताको एयरबस–३१९ जहाज पोखरा आउने भूलले बताए।  

भूलका अनुसार पोखरा अवतरण गरेको जहाज सोहिदिन ११ बजे काठमाडौं जानेछ र काठमाडौंबाट सेडयूल फ्लाइट अनुसार यात्रु लिएर छेङदु पुुग्नेछ। ‘सिचुआन एयरलाइन्सले उडान स्वीकृतिका लागि पत्राचार गसिकेको छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको जहाज अवरण गर्ने तयारी छ,’ भूलले भने।

प्रकाशित: १ असार २०८० १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App