७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

उदयपुरको पुँजीगत खर्च ७० प्रतिशत

पालिकातर्फ कटारी नगरको ९० प्रतिशत

उदयपुरको कटारी नगरपालिका।

वर्षको साल तमामी अर्थात् असार मसान्त आउन ३ साता मात्र बाँकी हुँदा उदयपुरको पुँजीगत बजेट ७० प्रतिशत खर्च भइसकेको छ।

आर्थिक वर्ष अन्त्य हुन जम्मा जम्मी ३ साता केही दिन मात्र बाँकी रहँदा पुँजीगत बजेटको खर्च हिस्सा ७० प्रतिशत हुनु सन्तोषजनक हो तर, उत्साहजनक होइन।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) उदयपुरका अनुसार समग्र बजेट खर्च अवस्था भने यो वर्ष राम्रै देखिएको छ। अर्थात् चालु र पुँजीगत दुवै शीर्षकको बजेट खर्च हिस्सा हेर्दा भने सन्तोषजनक मान्नु पर्छ। तर, चालुको दाँजोमा पुँजीगत खर्चको अवस्था भने निम्छरो देखिएको छ। चालु वर्ष उदयपुरमा संघीय कार्यालयतर्फ कुल पुँजीगत बजेट १ अर्ब ९३ करोड ३९ लाख ४३ हजार ८ सय रुपैयाँ हो। जसमध्ये जेठ ३२ गतेसम्म १ अर्ब ३५ करोड २२ लाख ३८ हजार ४ सय ५६ रुपैयाँ ६० पैसा खर्च भएको छ।

चालुतर्फ भने उत्साहजनक खर्च भएको कोलेनिका उदयपुरका प्रमुख कोष नियन्त्रक महेश दाहालले बताए। उनका अनुसार चालुतर्फ बजेट हालसम्म ९० प्रतिशत हिस्सा खर्च भइसकेको छ। दाहालले यो आर्थिक वर्ष चालुतर्फ ७ अर्ब ६ करोड ५७ लाख ६५ हजार ८ सय ७४ बजेटमध्ये हालसम्म ६ अर्ब ३५ करोड ५७ लाख ६५ हजार ८ सय ७४ रुपैयाँ खर्च भएको बताए।

दाहालका अनुसार संघतर्फ नेपाल सरकारले विभिन्न अस्थायी २ सहित ४२ वटा कार्यालयहरु (चुनावताका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय) मा सो परिमाणको बजेट प्राप्त भएको हो। जसमा ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहहरु पनि यही संख्याभित्र समावेश छन्।

स्थानीयतहतर्फ कटारी नगरपालिका उत्साहजनक खर्च गर्न सफल भएको छ। कटारीका प्रमुख प्रशासकीय अधिकृत अनिल किराँती अनुसार चालु वर्षको कुल बजेट ८० करोड ४६ लाख ५० हजार ५ सय ६४ मध्ये जेठ ३१ गतेसम्म ८९.९२ प्रतिशत अर्थात् ७२ करोड ३६ लाख १२ हजार ९ सय ५८ रुपैयाँ खर्च भइसकेको छ। त्यसैगरी दोस्रो ठुलो हिस्सा चौदण्डीगढी नगरपालिकाले हालसम्म ६८ करोड ३१ लाख ५७ हजार ३ सय ५४ रुपैयाँ अर्थात् ८१.३७ प्रतिशत खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चित्र गुरागाईँले बताएका छन्। उनका अनुसार चौदण्डीगढीको कुल बजेट ८३ करोड ९५ लाख ३५ हजार ४ सय ३३ हो।

सदरमुकामस्थित त्रियुगा नगरपालिकाले आकारको हिसाबले ठुलो तर, प्रतिशतको अनुपातमा तेस्रो हिस्सा खर्च गरेको छ। चालु वर्ष त्रियुगाको बजेट १ अर्ब २८ करोड ४३ लाख ७१ हजार ४ सय ५० रुपैयाँ रहेको मध्ये जेठ ३१ गतेसम्म १ अर्ब १७ लाख ६४ हजार ८ सय १ रुपैयाँ खर्च गरेको छ। अर्थात् त्रियुगाले हालसम्म समग्र बजेटको ७७.९९ प्रतिशत खर्च गरिसकेको लेखा अधिकृत विनया बस्नेतले बत्ताइन्। बेलका नगरपालिकाको जम्मा वार्षिक बजेट ७६ करोड ८१ लाख १० हजार ५ सय १८ मध्ये हालसम्म ६० करोड २६ लाख ४९ हजार ३ सय ३४ अर्थात् ७८.४५ प्रतिशत खर्च गरेको जनाएको छ।जिल्लागत कार्यालयहरुको दाँजोमा स्थानीयतहमा पुँजीगत रकम खर्च कम भइरहेको कोलेनिकाले जनाएको छ। समग्र बजेटको खर्च अनुपातमा स्थानीयतहको पुँजीगत खर्च उत्साहजनक हुन नसकेको पालिकाहरुले जनाएका छन्। विभिन्न चाडबाड र संघ तथा प्रदेश चुनावका कारण पनि खर्च हुन ढिलाइ भएको उनीहरूको जिकिर छ।

साउनदेखि असोज–कात्तिकसम्म दसैँ, तिहार, छठ, साकेला उँधौली, ल्होसारलगायत चाडपर्व परेको र त्यसपछि मंसिर ४ गते संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका कारण आचारसंहिता लागू हुनाले पनि चाहेर पनि समयमा काम गर्न नसकेर स्थानीयतहमा पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो। अर्को कुरा देशमा आर्थिक समस्या भएपछि अर्थ मन्त्रालयले समयमा बजेट निकासा नदिँदा पनि खर्च प्रतिशत बढाउन नसकिएको जनप्रतिनिधिहरु बताउँछन्।

उता प्रदेश सरकार मातहतमा रहेका १२ वटा कार्यालयहरुको बजेट भने यसमा समावेश छैन। प्रदेश अन्तर्गत रहेका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, आयुर्वेद अस्पताल, कृषि ज्ञान केन्द्र, पूर्वाधार विकास कार्यालय, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, डिभिजन वन कार्यालय गाईघाट र कटारी, सिँचाइ डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, खानेपानी फिल्ड कार्यालय र प्रदेश कोलेनिका प्रदेश मातहत रहेका छन्। प्रदेश मातहतका कार्यालयलाई प्राप्त हुने बजेटको निकासा र खर्च अख्तियारी प्रदेश कोलेनिकामार्फत हुने गरेको छ।

सरकारको नियमानुसार आर्थिक वर्ष सकिने अन्तिम महिना असार १५ गतेदेखि चालु बजेटको बैँक खाता बन्द हुन थाल्छ भने २४ गतेसम्म पुँजीगततर्फको बैँक खाता पनि बन्द हुन्छ। चालुतर्फ १४ गतेभित्र र पुँजीगततर्फको बजेट २४ गतेभित्र खर्च गर्न नसके बाँकी रकम २५ गतेभित्र संघीय कोषमै फिर्ता (फ्रिज) पठाउनु पर्ने आर्थिक ऐनले व्यवस्था गरेको छ। लिमचुङबुङ गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले संघबाट प्राप्त हुने निशर्त र राजश्व बाँडफाँड रकम संचित कोषमा जम्मा गर्न मिल्ने भए पनि विशेष अनुदान, सशर्त र समपूरक अनुदान बजेट भने असार २४ गतेभित्र खर्च नभए स्वतह: फ्रिज हुने व्यवस्था रहेको बताए।

प्रकाशित: ३२ जेष्ठ २०८० १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App