१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नागढुंगा मलेखु खण्डमा निर्माण सामग्रीको चरम अभाव

फाइल तस्वीर

संघीय सरकारले उच्च प्राथमिकतामा राखेर विस्तार गरेको नागढुंगा–नौबिसे–मलेखु सडकखण्डले कच्चा सामग्रीको चर्काे अभाव सामना गरिरहेको छ।

संघीय सरकारले राजमार्गको नागढुंगा–नौबिसे–मलेखु खण्डको ५६ किलोमिटर सामरिक सडक कनेक्टिभिटी तथा व्यापार सुधार आयोजना अन्तर्गत स्तोन्नतिको काम अघि बढाउँदै आइरहेको छ।

अहिले थाक्रे गाउँपालिका र स्थानीयवासीको अवरोधको कारणले निर्माण कम्पनीले थाक्रे गाउँपालिकामा बस्ने आग्राहाखोला खानीबाट निर्माण सामग्री उत्खनन् गर्न पाइरहेको छैन। नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्ड गुजुरीका योजना प्रमुख ईश्वरबहादुर रिजालले तोकिएको आग्राहा खोला खानीबाट निर्माण सामग्री उत्खनन गर्न नपाए सडक निर्माणको काम प्रभावित हुने बताए।

संघीय सरकारले उच्च प्राथमिकतामा राखेर विस्तार गरेको नागढुंगा–नौबिसे–मलेखु सडकखण्डले कच्चा सामग्रीको चर्काे अभाव सामना गरिरहेको छ।

‘निर्माण कम्पनीले आगामी भदौ–असोज महिनादेखि नै सडक कालोपत्रे गर्ने योजना बनाएका छन् तर अहिलेदेखि नै निर्माण सामग्री उत्खनन् गरेर निर्माण सामग्रीको जोहो गर्न नसके सडक कालोपत्रे गर्ने कार्य प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘अहिले स्थानीय जनताको अवरोधको कारणले खानीबाट निर्माण सामग्री उत्खनन गर्ने काम प्रभावित भइरहेको छ।’

योजना प्रमुख रिजालले आग्राहा खोलाको खानीको वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षण गरेर सबै प्रक्रिया अघि बढाए पनि अनुमति नपाउँदा समस्या भइरहेको बताए।

‘तत्कालीन गृहमन्त्री रवि लामिछानेले अवैध क्रसर तथा खानी उद्योग बन्द गर्ने निर्णयको कारणले पनि तीन महिनाभन्दा धेरै समय योजनाको काम निर्माण सामग्रीको अभावको कारणले प्रभावित भयो,’ उनले भने ‘अहिले पनि स्थानीयको अवरोधको कारण निर्माण कम्पनीले खानीबाट निर्माण सामग्री झिक्न पाइरहेका छैनन्।’

योजनाका अनुसार अहिले निर्माण कम्पनीले सडक चौडा गर्ने क्रममा निस्किएको निर्माण सामग्री ढुंगाको प्रयोग गरेर मात्रै काम चलाउँदै आइरहेका छन्। थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले आवश्यक प्रक्रिया पूरा गरेर नआएकाले खानी उत्खनन् गर्न नदिइएको बताए। ‘हामी विकास निर्माणको अवरोधक त होइनौं,’ उनले भने ‘स्थानीय तहमा अनुमति नलिई यहाँको प्राकृतिक स्रोत उत्खनन् गर्न त दिनुभएन नि!’

अध्यक्ष आचार्यले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर अघि बढेको खण्डमा खानी उत्खनन कार्यलाई आवश्यक सहजीकरण गरिने दाबी गरे। काठमाडौं भित्रिने मुख्य राजमार्गको नागढुंगा–नौबिसे–मलेखु खण्डको ५६ किलोमिटर सामरिक सडक कनेक्टिभिटी तथा व्यापार सुधार आयोजना अन्तर्गत स्तरोन्नति गर्ने काम एक वर्ष अघि सुरु गरिएको थियो।

साढे ६ अर्ब रूपैयाँ खर्चेर दुई खण्डको झण्डै ५६ किलोमिटर स्तरोन्नतिको काम सुरु गरिएको हो। नौबिसे–मुग्लिन खण्डमा ९६ किलोमिटर सडक पर्छ तर पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किलोमिटर र दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नतिको काम अगाडि बढाइएको हो। मलुखु–मुग्लिन भने छुट्टै खण्ड छुट्याएर निर्माण गरिँदैछ।

योजनाका अनुसार अहिले निर्माण कम्पनीले सडक चौडा गर्ने क्रममा निस्किएको निर्माण सामग्री ढुंगाको प्रयोग गरेर मात्रै काम चलाउँदै आइरहेका छन्।

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले उक्त सडक ६ अर्ब ६४ करोड रूपैयाँ लागतमा स्तरोन्नति गर्न लागेको हो। महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्डको ठेक्का जियाङ्सु/सगुन जेभीले १ अर्ब ३१ करोड ८४ लाख लागतमा पाएको हो।

योजना कार्यालयका अनुसार पहिलो खण्डको भौतिक प्रगति ३० प्रतिशत भएको छ भने वित्तीय प्रगति २० प्रतिशत भएको छ। आगामी आवभित्रै यो सडक खण्डको सडक चौडा गर्ने काम सकिने योजना कार्यालयले जनाएको छ। पहिलो खण्ड दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का अगाडि बढाइएको हो। यो खण्डको एक वर्ष म्याद सकिएको छ। आगामी एक वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ।

दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको ठेक्का शर्मा/लामा/जिआइसिजी जेभीले पाएको छ। उसले ५ अर्ब ३३ करोड १९ लाख रूपैयाँमा उक्त खण्ड विस्तार गर्नेछ। योजना प्रमुख रिजालले यो खण्डको भौतिक प्रगति १५ प्रतिशत भएको बताए।

‘नागढुंगा–नौबिसे खण्ड दुई वर्षभित्रै र नौबिसे–मलेखु खण्ड तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको छ,’ उनले भने ‘दुई खण्डको एक वर्ष म्याद सकिइसकेको छ।’ योजना कार्यालयका अनुसार अहिले सडक चौडा गर्ने, क्रस डेनेज र अन्य संरचना निर्माणको काम भइरहेको छ।

नौबिसे–मलेखु खण्डको बजारक्षेत्रमा डेडिकेटेड ४ र सर्भिस लेन २ थप गरेर ६ लेनको हुनेछ। खानीखोला, महादेव बेसी, धार्के बजार, गजुरी लगायत ६ लेनको हुनेछ। अरू ठाउँमा कतै ३ लेन हुनेछ। अप्ठेरो भूभागमा २ लेनको मात्रै हुनेछ। नागढुंगा–मुग्लिन खण्डमा २६ वटा र नागढुंगा–नौबिसे खण्डमा दुईटा मात्रै पुल निर्माण गर्नुपर्नेछ। त्यो खण्डमा खत्रीपौवा र नौबिसे बजारमा मात्रै पुल बनाउनुपर्छ।

नौबिसे–मलेखु खण्डको बजारक्षेत्रमा डेडिकेटेड ४ र सर्भिस लेन २ थप गरेर ६ लेनको हुनेछ। खानीखोला, महादेव बेसी, धार्के बजार, गजुरी लगायत ६ लेनको हुनेछ।

यो परियोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो। योजनाले राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणको लागि नागढुंगा–मुग्लिन सडक खण्डको बजार क्षेत्रमा आकाशेपुल, ब्रेकर सुधार लगायत काम गर्ने जनाएको छ।

बजारक्षेत्रमा करिब १९ वटा आकाशे पुल निर्माण गर्ने योजना छ। ‘यो सडक स्तरोन्नतिसँगै राजमार्गको मोडहरू सुधार गरिनेछ। एउटा पुल भएको ठाउँमा अर्काे पुल थपिनेछ,’ उनले भने, ‘सडक चौडा भएसँगै आवातजावत सहज हुने अपेक्षा गरेका छौं।’

योजनाले यो सडक बनेसँगै सवारी दुर्घटना पनि न्यूनीकरण हुने जनाएको छ। व्यापारिक मालसामान बोकेका सवारी साधनलाई उच्च प्रथामिकतामा राखेर हिँड्ने लेनको विकास गरिनेछ।

प्रकाशित: २९ जेष्ठ २०८० ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App