६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मंगलबारदेखि पोखरामा पाटाको शिखर सम्मेलन

राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुँदै

पर्यटकीय सहर पोखरा। तस्बिरः नागरिक

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट आगामि मंगलबारदेखि पोखरामा सुरु हुने भएको छ। चारदिनसम्म पोखरामा हुने यो सम्मेलनले कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्न सघाउने अपेक्षा पर्यटन व्यावसायीको छ।  

पाटाको शीखर सम्मेलन पहिलोपटक नेपालमा हुन लागेको छ भने पोखराले त्यो सम्मेलन गर्ने अवसर पाएको व्यवासायीले बताएका छन्। पोखराले पहिलो पटक यो सम्मेलन गर्ने अवसर पाउनु पर्यटन क्षेत्रका लागि सकारात्मक रहेको व्यवसायीको भनाई छ। सरकार र पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने यस कार्यक्रमको पोखरा पर्यटन परिषद् (पिटिसी)ले संयोजन गर्नेछ भने अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्नेछ। कोभिडले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि यो गतिलो अवसर रहेको व्यवसायीले बताएका छन्।

पाटाका महासचिव सुमन पाण्डेले शीखर सम्मेलनमा विभिन्न मुलुकका करिब १६० जना पाहुना, क्रेता र बिक्रेता सहित करिब २ सय ५० जना सहभागि हुने बताए। सम्मेलनमा सहभागि हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल चलाउने उनले बताए।  

कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई उठाउनका लागि यो शीखर सम्मेलन महत्वपूर्ण हुने उनले बताए। २०७२ को भूकम्पछि खस्किएको नेपाली पर्यटन बजारको रिकभर गर्न पनि पाटाले त्यो बेला विभिन्न योजना ल्याएको पाण्डेले बताए। ‘पोखराका लागि यो निकै महत्वपूर्ण अवसर हो। यसले पोखरालाई राम्रो, सुरक्षित र पर्यटनमैत्री सहरको रुपमा चिनाउन सघाउनेछ,’ उनले भने, ‘यहाँ व्यवसायिक भेटघाट पनि हुने भएकोले गतिलो अवसर अहिले पोखराले पाएको छ।’

उनका अनुसार विभिन्न मुलुकका ३५ जना क्रेता, २५ जना बिक्रेता समेत यो कार्यक्रममा सहभागि हुनेछन्। क्रेता र बिक्रेताबीच दुइदिनसम्म व्यवसायिक छलफल नै हुने उनले बताए। ‘व्यावसायिक अनुभव साटासाट गर्न पाउने यो गतिलो अवसर अहिले मिलेको छ, कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्न यसले सघाउनेछ,’ उनले भने।  

शीखर सम्मेलन विभिन्न देशका पर्यटन व्यावसायी सहभागि हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट गर्न पाइने उनले बताए। ‘पोखराका लागि यो निकै नै महत्वपूर्ण अवसर हो। धेरै मुलुकका पर्यटन व्यवसायीलाई पोखराले एकैपटक पाउँदैछ, एकै थलोमा भेला गराउँदा पर्यटन सम्बन्धित पर्याप्त छलफल गर्ने अवसर जुट्नेछ,’ उनले भने।  

पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठका अनुसार २५ जना नेपाली बिक्रेताले त्यो बेला अन्तर्राष्ट्रिय क्रेताहरुसँग प्रत्यक्ष भेट्न र व्यवसायिक अनुभव साट्न पाउनेछन। उनका अनुसार १५ जना विदेशी विज्ञको कार्यक्रमका प्रस्तुती रहनेछ। ‘खासगरि यो कार्यक्रम पर्यटनलाई कसरी जोगाउने भन्ने बारेमा छलफल हुनेछ। कोभिडको प्रभाव, जहाज दुर्घटनाबाट पर्यटनमा परेको नकारात्मक असरलाई कमजोर बनाउन यो कार्यक्रम प्रभावकारी हुनेछ,’ श्रेष्ठले भनिन। उनका अनुसार अमेरिका, एशिया, यूरोपियन मुलुकका क्रेताहरु आफ्नै खर्चमा नेपाल आउनेछन।  

‘विदेशी क्रेता आफ्नै खर्चमा यो सम्मेलनमा सहभागि हुन आउँदैछन । उनीहरुका लागि नेपाल पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य हो,’ उनले भनिन, ‘नेपालमा पर्यटकीय सम्भावना देखेरै उनीहरु सहभागि हुन थालेका हुन्।’ उनका अनुसार अहिलेसम्म नेपाललाई साहसिक गन्तव्यको रुपमा चिनाइएको थियो। तर, अब एडभेन्चर मात्र नभई कन्फेरेन्स, मिटिङका लागि पनि नेपाल र पोखरा उपयुक्त गन्तव्य हुन् भनेर बजारीकरण गर्न यो सम्मेलन सफल हुनेछ। त्यसबाहेक १० जना जति अन्तर्राष्ट्रिय संचारमाध्यमका संचारकर्मी पनि पोखराको यो कार्यक्रममा सहभागि हुन आउनेछन्।  

श्रेष्ठका अनुसार मालदिभ्सका पर्यटन मन्त्री, विभिन्न मुलुकका पर्यटन बोर्डका प्रमुख कार्यकारी सहित उच्च सरकारी अधिकारीहरु पनि सहभागि हुनेछन्। नेपालले पहिलोपटक आयोजना गर्न लागेको  यो सम्मेलन पर्यटन क्षेत्रका लागि प्रतिष्ठित कार्यक्रम रहेको श्रेष्ठले बताईन। पाटा वार्षिक शिखर सम्मेलन २०२३ ले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित बनाउने अपेक्षा गरिएकोे उनले बताइन।  

‘नेपालले तेस्रोपटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा वार्षिक शीखर सम्मेलन आयोजना गर्न लागेको छ,’ उनले भनिन, ‘नेपालमा यो कार्यक्रम आयोजना गर्न पाउँदा समग्र पर्यटन क्षेत्र खुसी र उत्साही छ। हामीले पर्यटनमा थप माइलेज बढने समेत अपेक्षा गरेका छौ।’ नेपालले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय कार्यक्रममले आगामि दिनमा नेपालमा विदेशी पर्यटक आगमनमा समेत बृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन क्षेत्र कोभिड–१९ पूर्वको अवस्थामा फर्किने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

गत जनवरी देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको अवस्थामा पोखरामा हुन थालेको यो कार्यक्रमले पोखराको पर्यटन क्षेत्र अझै चलायमान हुने अपेक्षा व्यवसायीको छ। सम्मेलनमा सहभागि हुन आउने अन्तर्राष्ट्रिय टुर अपरेटर्सलाई पोखरामा पर्यटक पठाउन थप उत्साही बनाउने अपेक्षा व्यवसायीको रहेको अध्यक्ष श्रेष्ठले बताए।

सम्मेलनमा सहभागि ती पाहुनालाई पोखरा क्षेत्रका साहसिक गतिविधिमा समेत संलग्न गराउँदा उनीहरुलाई नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा बेच्नका लागि थप सहयोग हुने उनले बताए । नेपालले पाटा इन्टरनेशनलको सदस्यता सन् १९७५ मा लिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०८० १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App