८ वैशाख २०८१ शनिबार
अर्थ

अन्नपूर्ण पर्यटन महोत्सव हुने

पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा यही जेठ १७ गतेदेखि २० गतेसम्म कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो संस्करण हुन लागेको हो।

दोश्रो संस्करणसम्म भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण तीन वर्षदेखि रोकिएको महोत्सव यस वर्ष ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ हुने जानकारी आयोजकले दिएका छन्। महोत्सवको तयारी तीव्र पारिएको र हालसम्म ८० प्रतिशत तयारी सकिएको जानकारी महोत्सव संयोजक ललित गुरुङले दिए।

पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ।

महोत्सवको अवसरमा आयोजित अन्नपूर्ण म्याराथन प्रमुख आकर्षणको रूपमा रहने जनाइएको छ। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए।

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिन अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर महिला/पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गरिने संयोजक गुरुङले बताए।

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला र उरी हुँदै घान्द्रुक आई समापन हुने जानकारी आयोजकले दिएका छन्।

अल्टिमेट एड्भेञ्चर नेपालको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको पुरुषतर्फको स्पर्धामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सव संयोजक गुरुङले बताए।

महोत्सवको अवसरमा गाउँस्तरीय भलिबल, बास्केटबल, छेलो, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, घैंटो फुटाउने, म्युजिकल चेयरलगायतका खेलकुद गतिविधिहरू पनि हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय व्यवस्थापक विक्रम गुरुङले जानकारी दिए।

महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सव संयोजक गुरुङले बताए।

भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ। महोत्सवको अन्य आकर्षणहरूमा झाँकी प्रदर्शन, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, हर्स राइडिङ गर्दै पर्यटकीय गाउँ घान्द्र्रुकको अवलोकन, पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम हुने गुरुङले बताए।

महोत्सवले पर्यटनमा छाएको मन्दीको संकट मोचन गर्ने अपेक्षा गरिएको स्थानीय समाजसेवी किसम गुरुङले बताए। ‘कोभिड र अहिले छाएको मन्दीले पर्यटन व्यवसाय आक्रान्त छ। यो महोत्सवले पर्यटनमा देखिएको संकट मोचन गर्ने विश्वास हाम्रो छ’-उनले भने।

प्रकाशित: ११ जेष्ठ २०८० ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App