coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेची राजमार्गमा सवारी भाडा समायोजन: ‘सहमति’ नाममा ठगिँदै यात्रु

मेची राजमार्गको कन्याममा सवारीका साधन। तस्बिरः भीम/नागरिक

इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा यात्रुवाहक सवारी साधनको भाडा दर घटाइएको छ।तर, वैज्ञानिक भाडा दर निर्धारण गर्नुपर्नेमा व्यवसायीको ‘मुख हेरेर’ उनीहरूकै सहभागितामा ‘सहमति’ को भाडा दर निर्धारण गर्दा यात्रु भने नीतिगत रूपमै ठगिने भएका छन्।

मेची राजमार्गको भाडा दर समायोजन गरी एकरूपतासमेत कायम गर्न इलाम, पाँचथर, ताप्लेजुङ र झापाका सरोकारवालाको संयुक्त बैठक इलाममा बसेको थियो। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मेची राजमार्गको इलाम–बिर्तामोड खण्डको भाडा दर ४ सय २५ रुपैयाँ निर्धारण गरेको छ।

गत असोजमा तोकिएको यो रुटको भाडा दर (४ सय ३० रुपैयाँ) अहिले वैज्ञानिक समायोजन गर्दा ४ सय १६ रुपैयाँ हुन आउने यातायात व्यवस्था कार्यालयले जनाएको छ। तर, ताप्लेजुङबाहेक ३ जिल्लाका व्यवसायीसमेत सहभागी बैठकमा प्रशासनले यो रुटमा वैज्ञानिक भाडादर भन्दा ९ रुपैयाँ बढी निर्धारण गरेको छ। यसअघि पनि यो रुटको तोकिएको भाडा (४ सय ३० रुपैयाँ) प्रशासनले कार्यान्वयन गराउन नसक्दा सवारीका साधनले यात्रुबाट ५ सय रुपैयाँ असुल्दै आएका छन्।

यस्तै, बैठकले इलाम–फिदिमको भाडा दर ४ सय रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको भाडा दर ४ सय १० रुपैयाँ रहे पनि सवारीका साधनले मनपरी भाडा उठाइरहेका थिए। अहिले समायोजन गर्दा यो रुटको भाडा दर पनि ३ सय ९६ रुपैयाँ हुन आउँछ। तर, ‘सहमति’ कै लागि यहाँ पनि ४ रुपैयाँ बढी भाडा निर्धारण गरिएको छ।

मेची राजमार्गकै इलाम–ताप्लेजुङ खण्डको भाडा दर ९ सय रुपैयाँ रहेकामा अहिले वैज्ञानिक समायोजन गर्दा ९ सय ७० रुपैयाँ हुन आउँछ। तर, यो रुटको भाडा दर ८ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

इन्धनको मूल्य घटबढसहित विभिन्न १३ सूचकका आधारमा भाडा दर समायोजन गर्ने गरिएको छ। तर, यी सूचकबाहेक पनि यातायात व्यवसायीले थप सुविधा पाउने गरी ‘सहमति’ को भाडा दर सिफारिस गरिएको हो। यसअघि निर्धारित भाडादर समेत कार्यान्वयन हुन नसक्दा यात्रु सधैँ मारमा परिरहेका छन्।

भाडा दर वैज्ञानिक बनाउनुभन्दा पटक–पटक व्यवसायीको ‘मुख हेरेर’ तल–माथि गर्ने गरिएको भन्दै उपभोक्ता चिन्तित छन्। सवारीका साधनले तोकिएभन्दा बढी भाडा खुलेआम रूपमा असुलिरहे पनि प्रशासन ‘मूकदर्शक’ मात्रै बनिरहेको यात्रुको गुनासो छ।

‘सरकारले वैज्ञानिक भाडा दर भन्दै बेला–बेला सार्वजनिक सवारीको भाडा दर तोकिदिन्छ तर कार्यान्वयन गर्न प्रशासन नै लाचार भन्दा हामी ठगिनुपरेको छ,’ बिर्तामोडबाट इलाम बजार आएका एक यात्रुले नयाँ भाडा दर तोकिएको सूचना पाएपछि ठट्यौलीमा सुनाए, ‘अब फेरि एक पटक यात्रुका आँखामा छारो हाल्न खोजिएछ।’

व्यवसायीले भने सरकारले सडकमा ‘मनपरी’ भइरहँदा पनि प्रशासनले बेवास्ता गरेकाले आफूहरू ठगिएको बताएका छन्। उनीहरूले निजी सवारीका साधनले भाडाका यात्रु बोकिरहेको, बिमा सुविधा कार्यान्वयन हुन नसकेको, इन्धन र अन्य क्षेत्रको मूल्यअनुसार भाडा दर समायोजन हुन नसक्दा आफूहरू समस्यामा पर्ने गरेको बताए।

पूर्वेली जिप तथा ट्याक्सी प्रा.लि अध्यक्ष गृष्म सुब्बाले अहिलेको भाडा दर उपयुक्त नै भएपनि सरकारले आफैँले बनाएको कानुन लागू गर्न नसक्दा व्यवसायी समस्यामा रहेको बताए।

‘भाडा १०/१५ रुपैयाँ तल–माथि हुँदा व्यवसायीलाई घाटा हुने होइन तर प्रशासनले प्रचलित कानुन कार्यान्वयन नै गराउन नसकेकाले समस्या निम्तिएको हो, यसको सोझो असर यात्रुमा परिरहेको छ,’ उनले भने, ‘भाडा दर कम भएको कारणले होइन, अरू दर्जनौँ कारणले चाहिँ व्यवसायी मारमा छन्, सरकारले प्रभावकारी अध्ययन गरोस्।’

सिडिओ श्रवणकुमार पोख्रेलले स्थानीय अवस्था अनुसार सहमतिमा भाडा दर सिफारिस गरिएको बताए। 

‘यसअघि तोकिएको भाडा दर कार्यान्वयन हुन नसकेको गुनासो धेरै आइरहेको छ, अहिले सिफारिस गरिएको दरमा व्यवसायीसमेतको समर्थन रहेकाले कार्यान्वयनको आशा गर्न सकिन्छ,’ उनले भने, ‘कार्यान्वयनको सुनिश्चितताका लागि यो प्रयास गरिएको हो।’

बैठकमा इलामका सिडिओ पोख्रेल, यातायात व्यवस्था कार्यालय प्रमुख छविलाल खतिवडा, कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुवास कार्की, पाँचथरस्थित जिल्ला प्रशासन कार्यालय तथा व्यवसायीका प्रतिनिधि, ताप्लेजुङका ट्राफिक प्रहरी र व्यवसायीका प्रतिनिधि तथा इलामका राजनीतिक दल, जनप्रतिनिधि, व्यवसायी र झापाका यातायात व्यवसायीका प्रतिनिधिलगायत सहभागी थिए।

बैठकमा दलका प्रतिनिधि र पत्रकारले भाडा दर समायोजन गर्दा यात्रुको पीडा र उनीहरूको आर्थिक स्तर पनि अध्ययन गर्न ध्यानाकर्षण गरेका थिए। व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी भाडा दर समायोजन गर्दा यात्रुलाई मारमा पार्न नहुने उनीहरूले सुझाएका थिए।

सार्वजनिक सवारीका साधनले यात्रुलाई टिकट अनिवार्य दिनुपर्ने, प्राथमिक उपचारका सामग्री प्रत्येक गाडीमा राख्नुपर्ने, क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, ट्राफिक जाँच गर्दा सडकको फराकिलो स्थानमा गर्नुपर्ने, चढाएका यात्रुलाई अनिवार्य रूपमा उनीहरूको गन्तव्यमै पुर्‍याएर छाड्नुपर्ने र यातायात व्यवसायी, ट्राफिक प्रहरी र सवारी चालकले यात्रुलाई मर्यादित व्यवहार गर्नुपर्ने सहमति पनि बैठकले गरेको छ।

इलामका ग्रामीण सडकको सार्वजनिक सवारीको भाडा दर पनि चाँडै समायोजन गरी सार्वजनिक गरिने यातायात कार्यालय प्रमुख खतिवडाले जानकारी दिए।

प्रकाशित: ८ जेष्ठ २०८० १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App