१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा कफि खेती गर्न कस्सिए धनबहादुर

चितवन कफि खेतीका लागि त्यति प्रख्यात जिल्ला होइन। तर, चितवनका व्यवसायी धनबहादुर श्रेष्ठ कफि प्रति आफ्नो भविष्य देखेर अगाडि बढेका छन्। यतिखेर कफि खेती गर्न उनी व्यस्त छन्। मकवानपुर र चितवनको पहाडी क्षेत्रमा लगाउने गरी चार लाख बिरुवा तयारी अवस्थामा राखेका छन् । उनीले चितवनको परेवाकोट मकवानपुरको राक्सिराङ र सिलिङगेमा बिरुवा हुर्काएका हुन्। ‘पहाडी क्षेत्रमा कफि खेतीको प्रचुर सम्भावना देखेर आक्रषित भएको श्रेष्ठ बताउँछन्। ‘चितवनको आधा भाग पहाडी क्षेत्रमा पर्दछ। यहाँको माटो अनार र कफिका लागि उपयुक्त छ,’ परेवाकोटमा कफि लगाउन खाल्टो खन्दै गर्दा भेटिएका श्रेष्ठले भने, ‘यो माटोमा कफि लगाउने सोच बनाएको हुँ।’  

भण्डारामा होटल र हस्पिटल सञ्चालन गरेर बसेका चार बर्षअघि ब्राजिल भ्रमण गएका थिए। त्यसपछि उनले नेपालमा कफि खेती गर्ने सोच बनाएका हुन्। ‘ब्राजिलमा कफि खेती सम्बन्धी काम सिकेर आँए । धनकुटामा मेरा आफन्त पनि कफि लगाउनुहुन्छ,’ उनले भने, ‘मकै कोदोमाभन्दा राम्रो आम्दानी हुने देखेपछि पहाडी क्षेत्रमा लगानी गरेको छु।’ ३० बर्षसम्म उत्पादन दिने अरबी जातका कफिका बिरुवा उनले लगाउँदै छन् । उनले गत जेठ महिनामा बीउ जमाएका हुन्। यो जातको कफि ३ सय देखि १ हजार मिटर उचाईसम्म फल्ने उनले बताए।  

रामेछापमा जन्मेका श्रेष्ठलाई जुनार र सुन्तला खेतीको राम्रो ज्ञान छ। बाँदरले पनि नोक्सान नगर्ने हुनाले कफि खेतीमा उनको ध्यान गएको हो। अहिलेसम्म उनले बिरुवा हुर्काउन मात्रै २० लाख रुपैयाँ खर्च गरेका छन्। ६० लाख रुपैयाँ एक बर्षमा आम्दानी गर्ने उनको लक्ष्य छ। ‘कफि खेती राज्यले गर्नुपर्ने हो।  यो निर्यात हुने वस्तु हो,’ उनले भने ‘राज्यले आम्दानी बढाउन कफि खेती गर्नुपर्दछ ।’ परेवाकोट पुर्व पश्चिम राजमार्गको लोथरदेखि ९ किलोमिटर उत्तर तर्फमा पर्दछ। यो ९ सय ८० मिटरको उचाईमा अवस्थित छ। यहाँ उनले एक लाख ५० हजार बिरुवा हुर्काएका छन्। यो विरुवा डेढ सय विगाहा क्षेत्रफलमा लगाउन मिल्ने उनले बताए। उनले परेवाकोटमा जग्गा किनेर खेती गर्न लागेका हुन्। केही ठाउँमा जग्गा भाडामा लिएका छन्। करिव चार सय विगाहालाई पुग्ने गरी विरुवा हुर्काएको उनले बताए। सिलिङगेमा एक लाख ५० हजार र मनहरीमा एक लाख बिरुवा हुर्काएका छन्। दुई मिटरको ग्यापमा बिरुवा रोपिन्छ।  

बीउ जमाएको एक बर्षपछि रोप्नको लागि बिरुवा तयारी हुन्छ । बिरुवा लगाएको दुई बर्षपछि फल दिन सुरु हुन्छ । राम्रोसंग हुर्किएको बिरुवाबाट २० केजिसम्म कफि उत्पादन गर्न सकिने उनले बताए। कफि फल्न थालेपछि तीन हजार जनाले रोजगारी पाउने उनले बताए। ‘यस क्षेत्रमा चेपाङ र तामाङ समुदायको बस्ती छ । समुहमार्फ खेती गरिएको छ । १ सय ८० जना यहाँ आवद्ध हुनुहुन्छ,’ उनले भने ‘किन्ने ग्यारेन्टी मैले गरेको छु।’ यसले यी समुदायका मानिसहरुको जिवन स्तर सुधार हुने उनको विश्वास छ। राज्यलाई चितवनमा कफि खेती हुन्छ भन्ने देखाउन यो क्षेत्रमा हात हालेको उनले बताए।

कफि खेतीका लागि गुल्मी प्रख्यात छ । चितवनमा परीक्षणकै चरणमा छ। तर, चितवनको पहाडी क्षेत्र कफिका लागि उपयुक्त जमिन रहेको तत्कालिन कृषि विकास कार्यालय चितवनले आफ्नो पुस्तकमा नै उल्लेख गरेको छ । राप्ती नगरपालिकाले कफिका लागि कुनै योजना बनाएको छैन। तर, यो खेती सफल भए सहयोग गर्ने नगरपालिका प्रमुख शम्शेर लामा बताउँछन्। ‘अहिले उहाँलाई अनुदान आवश्यक पर्दैन,’ उनले भने ‘पछि यो समुहमा आवद्ध किसानहरुले सहयोग माग्नुभएमा गछौँ।

प्रकाशित: ८ जेष्ठ २०८० ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App