१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

विराटनगर भन्सार: गत वर्षको भन्दा ७ अर्ब कम राजस्व संकलन

चालु आर्थिक वर्षको १० महिनामा विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षको १० महिनाको भन्दा कम राजस्व संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा करिब ७ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षको १० महिनामा ३४ अर्ब ३२ करोड ९२ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ६६ करोड ९२ लाख ६३ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको १० महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५६. २२ प्रतिशत मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयको तथ्याँकले देखाएको छ। चालु आर्थिक वर्षको साउन देखि वैशाख सम्मको १० महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४९ अर्ब २१ करोड ७५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएको थियो। तर, विराटनगर भन्सार कार्यालयले २७ अर्ब ६६ करोड ९२ लाख ६३ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष २०७९/८० को सुरुवात देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले वैशाख महिनामा लक्षको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वैशाख महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ५ अर्ब २७ करोड ५६ लाख ७० हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएको थियो। तर, विराटनगर भन्सार कार्यालयले २ अर्ब ५२ करोड १८ लाख ३८ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै चैत महिनाका लागि ५ अर्ब ४५ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा २ अर्ब ८० करोड १४ लाख ४८ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन लक्षको ५५.९८ प्रतिशत हो।

फागुन महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब ३७ करोड ३३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिएकोमा ३ अर्ब ७ करोड १९ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ।

फागुन महिनामा लक्षको तुलनामा ५७.१७ प्रतिशत राजस्व संकलन गरे पनि अघिल्ला ३ महिनाको तुलनामा सुधार भएको देखिएको छ। विश्वव्यापी आर्थिक मन्दी उस्तै भए पनि जोगवनी नजिकको मिरगञ्ज पुल पूर्ण रुपमा सञ्चालनमा आएको र आयात प्रतिबन्ध खुकुलो भएसँगै विराटनगर नाकाबाट हुने व्यापारमा सुधार आउँदा राजस्व असुलीमा पनि सुधार देखिएको हो। माघ महिनामा लक्षको ५३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।

विराटनगर भन्सार कार्यालयलाई माघ महिनाका लागि ५ अर्ब १५ करोड २६ लाख ४६ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ७३ करोड ११ लाख १५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब २३ करोड ७८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा लक्षको ४६ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो।

पुस महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४२ करोड ५९ लाख २७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। यस्तै मंसिर महिनामा ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

कात्तिक महिनामा ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सारले २ अर्ब ९३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। असोजमा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ संकलनको लक्ष तोकिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भदौमा ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

साउनमा ३ अर्ब ६४ करोड ८६ लाख ६१ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको १० महिनामध्ये लक्षको सबै भन्दा बढी साउन महिनामा राजस्व संशलन भएको थियो।

साउन महिनामा लक्षको ८०.९० प्रतिशत राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। सबै भन्दा कम पुस महिनामा लक्षको ४६.३२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App