coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

मेक इन नेपाल स्वदेशी समिट २०२३

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा मंगलबार राजधानीमा भएको मेक इन नेपालः स्वदेशी समिट २०२३ को कार्यक्रममा यस्तो आग्रह गरिएको हो।

परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा पनि उद्योगहरूलाई सहुलियत दिने गरी सार्वजनिक निजी साझेदारी मोडलमा औद्योगिक पार्कहरू बनाएर लगानी आकर्षित गर्नुपर्ने बताए।

‘सरकारले छिमेकी मुलुक भारतमा जस्तै औद्योगिक पार्क निर्माण गरेर लगानीलाई आकर्षित र औद्योगिकरणलाई प्रोत्साहित गर्न आवश्यक छ,’ उनले भने, ‘वर्षौंअघि घोषणा गरेर आजको दिनसम्म विकास हुन नसकेका ६ वटा औद्योगिक क्षेत्र निजीक्षेत्रको संलग्नतामा विकास र सञ्चालन गर्न सकिन्छ।’

 परिसंघले शक्तिखोर वा मयुरधापमा सार्वजनिक निजी साझेदारी मोडलमा नेपालकै नमुना औद्योगिक पार्क बनाउने सोचका साथ सरकारलाई आशयपत्र बुझाउँदै आइरहेको छ।

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

भारतमा मेक इन इन्डिया अभियानअन्तर्गत उच्च सम्भावनाका २५ वटा उद्योगहरू पहिचान गरेर नीतिगत प्राथमिकता दिएको छ। जसका उत्पादनहरूको खपत ठूलो परिमाणमा नेपालले समेत गरिरहेको छ। परिसंघले पनि नेपालको उच्च सम्भावनाका १० क्षेत्रहरू पहिचान गरेको छ। यसमा जलविद्युत्, सूचना प्रविधि, औषधीजन्य, मेडिकल सर्भिस, उत्पादन, हस्तकला उद्योग, फाइनान्स तथा इन्स्योरेन्स र पर्यटन तथा हस्पिटालिटी र व्यावसायिक कृषि क्षेत्र रहेका छन्।

परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने अभियानको अगुवाई गर्दै आइरहेको बताए। ‘नेपाली उत्पादन मात्रै होइन्, नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्व बजारमा पुर्याउने लक्ष्य राखेको छ,’ उनले भने ‘यसको वार्षिक एक हजार नयाँ उद्योग दर्ता, एसडिजीको लक्ष्यअनुसार जीडिपीमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्याउने लक्ष्य राखेका छौं।’

परिसंघले सन् २०३० भित्र औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना र ५ वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउने योजना बनाएको छ। ‘मेक इन इन्डिया’ अभियानको पनि हिस्सा रहेको विश्व प्रसिद्ध संस्था केपिएमजीबाट हामीले गराएको अध्ययनको प्रतिवेदनले यी लक्ष्य हासिल गर्न ३४ क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्न जरुरी छ। अध्यक्ष अग्रवालले छिमेकी मुलुक भारतले ‘मेक इन इन्डिया’ अभियान घोषणा हुँदा सन् २०१५ जीडिपीमा उत्पादनकमूलक उद्योगको हिस्सा १२ प्रतिशत मात्रै भएकोमा अहिले सुधार भएर १७ प्रतिशत हिस्सा ओगट्ने भइसकेको बताए।

परिसंघले सन् २०३० भित्र औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना र ५ वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउने योजना बनाएको छ।

‘भारतले अभियान थाल्दा उत्पादनमूलक क्षेत्रको हिस्सा १२ प्रतिशत मात्रै थियो,’ उनले भने ‘भारतले ५ वर्षकै अवधिमा जीडीपीमा उत्पादनमूलक क्षेत्रको हिस्सा १७ प्रतिशत पुर्‍याइसकेको छ। सन् २०२५ सम्ममा २५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।’

परिसंघका अध्यक्ष अग्रवालले नेपालले पहिलो चरणको आर्थिक सुधारको नीतिगत प्रयासपछि जीडिपीमा १२ प्रतिशत उत्पादन क्षेत्रको हिस्सा पुगेपनि अहिले खुम्चिएर ५ प्रतिशतमा झरेको बताए। ‘उत्पादनमूलक क्षेत्रको जीडिपीमा हिस्सा सुधार गर्न पनि मेक इन नेपाल एउटा परिणाममुखी अभियान हो।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले लगानीमैत्री औद्योगिक वातावरणको निर्माणका लागि सरकार तयार रहेको बताएका छन्। मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक श्रोतको सदुपयोग गर्न आवश्यक वातावरण बनाउन सरकार तयार रहेको बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले लगानीमैत्री औद्योगिक वातावरणको निर्माणका लागि सरकार तयार रहेको बताएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा मंगलबार राजधानीमा भएको मेक इन नेपालः स्वदेशी समिट २०२३ को उद्घाटन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढ्न आवश्यक रहेको बताए। ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य थप प्रभावकारी रूपमा हुन आवश्यक रहेको छ,’ मन्त्री रिजालले भने ‘औद्योगिकरणको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव छैन।’  

प्रकाशित: ३ जेष्ठ २०८० ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App