५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

आर्थिक वर्षको योजना बनाउन पोखरा महानगरको बैठक

नयाँ आर्थिक वर्ष २०८०/८१ काे संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्। बैठक सबै वडामा गरिने महानगरले जनाएको छ।

महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब रुपैयाँ बढीको लगानीमा नयाँ परियोजना सञ्चालनको तयारीमा रहेको महानगर प्रमुख आचार्यले जानकारी गराए। योजना तर्जुमा गर्दा परिणममुखी योजनाहरुलाई प्राथमिकतामा राख्न समेत महानगर प्रमुख आचार्यले आग्रह गरेका छन्। ‘सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्छ,’आचार्यको भनाई थियो। स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले सुनाए।

योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध महानगर प्रमुख आचार्यले गरेका छन्। ‘वडास्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ, उनले भने, ‘वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ।’पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अर्बाै रुपैयाँ लगानीको वातावरण तयार गरेको स्पष्ट पारे।

समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको खाँचो उनले औल्याए। वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्नुपर्नेमा जोड दिएका छन्। आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन।

तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनुपर्ने बताए।  

प्रकाशित: ३० वैशाख २०८० १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App