२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डिम्याट नभर्दा तामाकोशी सेयरबाट दोलखाबासीले ३ अर्ब गुमाउदै

दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रबासीका लागी प्रदान गरेको सेयरलाई डिम्याट खातामा अभौतिकिकरण (स्थानान्तरण) नगर्दा आयोजनाको प्रभावित दोलखा जिल्लाबासीले करिब ३ अर्ब नाफा गुमाउने भएका छन्।

आयोजनाले प्रभावित क्षेत्र दोलखा जिल्लाबासीका लागी छुट्याएको १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर ५ बर्ष अघि आवेदन लिएर भराएको थियो। २ लाख ७६ हजार दोलखाबासीले भरेको उक्त सेयर जिल्लाबासीको सहजताका लागी बैंक खाता र डिम्याट खाता बिनै फारम र नागरिकताको भरमा भरिएको थियो।  

सेयर परेपछि कारोबार गर्न डिम्याट खाता खोलेर अनिवार्य रुपमा आफ्नो सेयरलाई डिम्याट खातामा अभौतिकिकरण अर्थात स्थानान्तरण गर्नुपर्ने हुन्छ। सेयर भरेका दोलखाली मध्ये हाल सम्म ३० प्रतिशतले समेत यसरी आफ्नो सेयरलाई डिम्याटमा अभौतिकिकरण गरेका छैनन्। आयोजनाका अधिकारीहरुका अनुसार अभौतिकिकरण नगर्दा तामाकोशीले छिट्टै खुलाउने तयारी गरिरहेको राईट सेयरबाट ठुलो संख्याका दोलखाबासी बञ्चित हुदैछन्।  

त्यतिखेर दोलखाबासीलाई छुट्याईएको सेयर सबैले सजिलो गरी भर्न पाउन भनेर तत्कालिन जिल्ला स्तरिय नेतृत्वको दबाबमा आयोजना र बिक्री प्रबन्धक कम्पनीले पछि खाता खुलाएर प्रक्रिया अगाडी बढाउने गरी फोटो, फारम र नागरिकताको भरमा सेयर भराएको थियाे। तामाकोशीको बिक्री प्रबन्धक कम्पनी सनराईज क्यापीटलका अनुसार २ लाख ७६ हजार दोलखाबासीले भरेकोमा हाल सम्म ७७ हजार जनाले मात्र सेयरलाई डिम्याट खातामा सारेका छन्।  

निर्माण सम्पन्न भएर नाफा कमाउन थालिसकेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले राईट सेयर निष्कासन गर्ने तयारी गर्दैछ। राईट सेयर मार्फत आयोजनमा सेयरधनी रहेका जो कोहीले आफुसंग भएको जतिकै सेयर संख्या बराबरको सेयर १ सय रुपैंयामा पाउनेछन्। ‘गत बर्षको भदौमा सम्पन्न कम्पनीको साधारणसभाबाट राईट सेयर निष्कासन गर्ने निर्णय भए अनुसार सबै प्रक्रिया पुर्याएर द्यितोपत्र बोर्डमा पठाएका छौं’ माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले भने – ‘बोर्डबाट निर्णय भएर आए लगतै आयोजनाको सेयर पाएका सेयरधनीहरुका लागी राईट सेयर निष्कासन गर्छौ’। उनले त्यतीखेर सहजताका लागी बैंक खाता र डिम्याट बिनै सेयर भरेका बहुसंख्यक दोलखाबासी राईट सेयरको प्रक्रियाबाट छुट्ने जोखिम बढेको सुनाए। ‘बैंक खाता र डिम्याट खाता खोलेर तुरुन्तै आफ्नो सेयरलाई अभौतिकिकरण गर्नुस भनेर सञ्चार सहितका बिभिन्न माध्यम मार्फत सुचना जारी गर्दै आएका छौं’ गौतमले भने– ‘तर मानिसहरुमा चासो बढेकै देखिदैन’।

आयोजनाले प्रभावितबासीका लागी छुट्याएको सेयर २ लाख ७६ हजार दोलखाबासीलाई अत्ति प्रभावित, प्रभावित र कम प्रभावित गरेर ३ ओटा श्रेणी बिभाजन गरी बाँडफाड गरिएको थियो । उनिहरुलाई क, ख र ग गरेर तिन भागमा बिभाजन गरिएको थियो । अत्ति प्रभावित क वर्गका बासिन्दाले १ सय २, प्रभावित ख वर्गका बासिन्दाले ४८ र कम प्रभावित ग वर्गका बासिन्दाले ३४ कित्ता सेयर पाएका थिए। आयोजनाको सेयर बिक्री प्रबन्धक कम्पनी सनराईज क्यापीटलले एक साता अघि दिएको तथ्यांक अनुसार क वर्गका २२ सय, ख वर्गका ५० हजार र ग वर्गका १ लाख ६३ हजार जनाले आफ्नो सेयरलाई डिम्याट खातामा लगेका छैनन्।

 बिहिबारको सेयर बजारमा माथिल्लो तामाकोशीको सेयर मुल्य ४ सय ८ रुपैंया छ। तामाकोशीको राईट सेयर जारी हुँदा माथिको तथ्यांक अनुसार डिम्याटमा नगएका जिल्लाबासीले राईट सेयर भर्न बाट बञ्चित हुँदा करिब ३ अर्ब रुपैंया गुमाउने जोखिम बढेको छ । हाल सम्म सेयरलाई डिम्याटमा नसारेका क वर्गका २२ सय जनाको २ लाख २४ हजार कित्ता, ख वर्गका ५० हजार जनाको २४ लाख कित्ता र ग वर्गका १ लाख ६३ हजार जनाको ५५ लाख ४२ हजार कित्ता गरेर कुल ८१ लाख ६६ हजार ४ सय कित्ता सेयर बोकेका जिल्लाबासीले राईट सेयर भर्नबाट बचित भए भने आयोजनाको बजार मुल्य बराबरको ४ सय ८ रुपैंयाले हिसाब गर्दा ३ अर्ब रुपैंया गुमाउनेछन्।  

बिक्री प्रबन्धक कम्पनी सनराईज क्यापीटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले राईट सेयरबाट दोलखाबासी बञ्चित हुन सक्ने अवस्था आउने कारण बैंक तथा बित्तिय संस्थाहरुलाई घर दैलोमा पु¥याएर भएपनि डिम्याटमा खोलेर सेयर अभौतिकिकरण गर्नुपर्ने सुनाए। ‘यो नगरी नहुने काम हो’ उनले भने– ‘हामीले पटक पटक सुचना तथा शिविरहरु सञ्चालन गर्दै आएका छौं, पछिल्लो पटक विगु गाउँपालिका संग मिलेर त्यहाँ समेत शिविर गर्यौं तर अपेक्षीत उपलब्धी हासिल गर्न सकेनौं’। उनले जिल्ला भर रहेका बित्तिय संस्थाहरुलाई घर दैलोमा पु¥याएर यो काम गर्न सकिने बताए।  

आयोजना निर्माण भएको विगु गाउँपालिकाले स्थानीय बैंकहरुमा मार्फत गाउँमा शिविर सञ्चालन गरेर डिम्याट खाता खुलाईरहेको छ। पालिका अध्यक्ष सञ्जिव ओलीले राईट सेयरबाट गाउँपालिकाबासी बञ्चित हुन नपरोस भनेर गाउँपालिकाले समन्वय गरेर बित्तिय संस्थाका कर्मचारी खटाएर डिम्याट खाता खुलाउने काम चलिरहेको सुनाए। ‘हाम्रो अधिकार वापत पाएको सेयरलाई हेलचक्र्याई गर्दा ठुलो रकम गुमाउदैछौं भन्ने कुरा नागरिकलाई बुझाएर खाता खुलाउन प्रेरित गरिरहेका छौं’ उनले भने। विगु गाउँपालिकामा मात्र ७५ प्रतिशत नागरिकले हाल सम्म डिम्याट भरेका छैनन्।  

आयोजनाका प्रवक्ता मित्रमणी पोखरेलले डिम्याटमा नजानु चिन्ताको बिषय भएको बताए । ‘सुचना तथा प्रचारको कामलाई तिव्रता दिदैछौं’उनले भने– ‘डिम्याट खाता आफ्नो नजिकको बैंकमा गएर खोल्न सकिन्छ, तत्कालै खोलेर माथिल्लो तामाकोशीको आफ्नो सेयरलाई डिम्याटमा ल्याउने गरी सबै दोलखाबासीलाई यो कार्य छिटो भन्दा छिटो गर्न आग्रह गर्छौ’। 

प्रकाशित: ३० वैशाख २०८० ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App