६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उल्लेख गरे। उनले सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको बताए। दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको बताए। उनले नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको बताए। प्रधानमन्त्री दाहालले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको बताए।

उनले भने,‘विकास लक्ष्यहरू हासिल गर्ने हाम्रो प्रयासमा, हामीले महत्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौं। यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन्। साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न हाम्रा प्रयासहरूसँग मिल्न हामीलाई निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी चाहिन्छ। हामी नविन, दिगो समाधानहरूमार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौं। सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध छ। हामी हाम्रो विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारहरूसँग निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक छौं।’

प्रधानमन्त्री दाहालले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताए। उनले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको बताए।  

प्रकाशित: २९ वैशाख २०८० ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App