१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्रका चुनौती समाधानमा पहल गरौं’

बायँबाट दायातर्फ क्रमशः पुष्पकमल दाहाल (प्रधानमन्त्री),केपी शर्मा ओली (अध्यक्ष नेकपा एमाले), महाप्रसाद अधिकारी (गभर्नर), पवन गोल्यान(अध्यक्ष बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल)

मुलुक आर्थिक मन्दीमा फसेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइतबार राजधानीमा भएको नेपाल बिजनेस समिट २०२३ मा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन्।  

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई दीर्घकालीन रूपमा समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको बताए। ‘अर्थतन्त्रमा विगतमा केही समस्या र चुनौतीहरू देखापरेका छन्,’ दाहालले भने, ‘सबै मिलेर समस्या समाधान गर्नुपर्छ। ’

प्रधानमन्त्री दाहालले भने ‘हामी हाम्रै बलबुतामा उल्लेखित समस्या एवं चुनौतीहरूको सामना गर्ने र समाधान गर्र्ने सामथ्र्य राख्छौं र सक्छौं। ’त्यसका लागि नेपाल सरकार, जिम्मेवार निकायहरू र तपाईं सम्पूर्ण सरोकारावालाबीच बलियो र घनिष्ट सहकार्य र परस्पर सहयोग जरुरी छ। ’प्रधानमन्त्री दाहालले कोभिड–१९ को महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक÷आर्थिक परिघटनाहरूका कारण नेपालको अर्थतन्त्र प्रभावित बनिरहँदा हाम्रो अर्थतन्त्रप्रति आमरूपमा व्यापक चिन्ता र चासो बढेको बताए।  

‘आर्थिक गतिविधिहरूलाई तीव्र बनाउनु र संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता हुन आएको छ,’प्रधानमन्त्री दाहालले भने, ‘विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्। ’  

प्रधानमन्त्री दाहालले अन्य विकसित एवं विकासशील मुलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले विभिन्न प्रक्षेपणहरूका बाबजुद नेपालको अर्थतन्त्रमा भने विगत केही समयदेखि शोधानान्तर घाटामा समेत उल्लेखनीय मात्रामा सुधार आई शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि उल्लेख्य मात्रामा सुधार भएको बताए।  

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्था जटिल अवस्थामा रहेको बताउँदै ढेड–दुई वर्षमा देश भोकमरीमा जान सक्ने बताए। मुलुकको जटिल आर्थिक अवस्थाबाट बच्न सबैबीच सहकार्य हुनुपर्ने बताए। ‘भोकमरीबाट बच्न सरकार, निजी क्षेत्र सबै समन्वय गरेर उत्पादन बढाउनतिर लाग्नुपर्छ,’उनले भने।  अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए। मुलुकको आर्थिक वृद्धिदर खस्किएकोमा उनले चिन्ता व्यक्त गरे। ‘२ प्रतिशतभन्दा कम रहेको आर्थिक वृद्धिदरलाई वृद्धिदर भन्न सकिँदैन,’ ओलीले भने।  

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकसँग धेरै अपेक्षा गरिएको बताए। आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यौं भने समग्र वित्तीय प्रणाली संकटमा पर्ने उनले बताए। समग्र वित्तीय प्रणालीका हितमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने अधिकारीको दाबी छ।  

‘नेपालका वित्तीय संस्था सुरक्षित छन्,’अधिकारीले भने, ‘राष्ट्र बैंकले सबै संस्थाहरूको दैनिक रिपोर्टिङ लिन प्रणाली बनाएको छ। कुनै बैंक जोखिमा छैनन्। ’  

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले नेपालको आर्थिक विकासका लागि कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। ‘निजीक्षेत्र बलियो बने मात्र आर्थिक विकास हुन्छ,’ उनले भने, ‘बलियो अर्थतन्त्र भएको मुलुक मात्र विकसित र समृद्ध बन्न सक्छ। ’ नयाँ आर्थिक वर्षका लागि सरकारले बजेट निर्माणको तयारी गरिरहेको बेला देशको आर्थिक समृद्धिका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताए। 

प्रकाशित: २५ वैशाख २०८० ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App