२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाली ग्यास बुलेटलाई भारतीयले रोके

काठमाडौं- खाना पकाउने ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्ने सरकारको तयारीमा भारतीय अधिकारीले तगारो हालेका छन्। नेपाल आयल निगमले सबै प्रक्रिया पूरा गरेर नेपाली ग्यास बुलेटलाई ढुवानी अनुमति दिन गरेको आग्रहलाई भारतले तीन महिनादेखि अल्झाएर राखेको छ।

सरकारले ग्यास ढुवानी गर्ने बुलेटमा ६६ प्रतिशत भन्सार छुट दिएपछि उद्योगीले नेपाली नम्बर प्लेटका बुलेटआयात गरेर सञ्चालनमा ल्याउने तयारी गरेका थिए। भारतीय दूतावासदेखि नेपालका सबै कानुनी प्रक्रिया पुर्‍याएर अनुमतिको लागि पठाए पनि विष्फोटक पदार्थ खतरामुक्त रहेको 'एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेसन'ले प्रमाणित नगरेर तीन महिनादेखि रोकेको छ।

'एक्स्प्लोसिभ' प्रमाणीकरण भएपछिमात्र आइओसीका रिफाइनरीमा पेट्रोलियम पदार्थ र एलपीजी ग्यासको लोड दिने कानुनी प्रावधान छ। स्रोतका अनुसार नेपालमा ग्यास ढुवानी गरिरहेका भारतीय ट्रान्सपोर्टरको दबाबमा भारतीय अधिकारीले प्रमाणित नगरेर रोकेका हुन्।

करिब ६ सय ग्यास बुलेटले भारतका विभिन्न रिफाइनरीबाट ग्यास ढुवानी गरेर वार्षिक करिब साढे दुई अर्ब रुपैयाँ लैजाने गरेका छन्।

नेपाली बुलेटले ढुवानी गर्न सुरु भएपछि उनीको व्यवसाय गुम्ने भएपछि सरकारी अधिकारीलाई प्रभावमा पारेर रोकेको निगमका एक अधिकारीले बताए। 'अर्बौंको व्यवसाय गुम्ने भएपछि व्यवसायीले आर्थिक चलखेल गरेर भारतीय अधिकारीलाई प्रभावमा पार्ने प्रयास गरेका छन्,' ती अधिकारीले भने, 'एक्स्प्लोसिभ' प्रमाणित नगरेर अल्झाउन मिल्दैन।'

भारतीय व्यवसायीले नेपाल आयल निगमले बुलेट खरिदको अनुमति दिने प्रक्रिया अघि बढाएपछि नेपालमै आएर अनुमति नदिन चलखेल गरेका थिए। भारतमै तयार भएर आएका बुलेटलाई निगमले ग्यास खरिद अनुमति दिइसकेको छ।

ढुवानी अनुमतिको लागि आयल निगमसहित आपूर्ति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारतको सम्बन्धित निकायलाई पत्राचार गरिसके पनि विभिन्न बहाना बनाएर रोकेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। ग्यास बुलेट भारतकै मापदण्ड अनुसार भारतीय कम्पनीले नै तयार गरेको संघका अध्यक्ष शिव घिमिरेले बताए। 'भारतकै स्ट्यान्डर्ड अनुसार भारतीयलाई सेन्स होल्डर कम्पनीले बुलेट बनाएको हो,' घिमिरेले भने,  'नेपालीबुलेट रोक्नुपर्ने कुनै कारण छैन।' ग्यास उद्योगीले भारतको नागपुरमा रहेको एक्प्लोसिभ विभागका प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएका छन्। 'भारतमै पुगेर सम्बन्धित निकाय र भारतमा रहेको नेपाली दूतावासमार्फत् पनि पहल गरिरहेका छौं,' उनले भने।

एक्प्लोसिभ प्रमाणपत्र ग्यास बुलेटमात्र नभएर पेट्रोलियमपदार्थ ढुवानी गर्ने ट्यांकरले पनि लिनुपर्छ। डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकरले सोही प्रावधानअनुसार 'एक्स्प्लोसिभ' प्रमाणित अनुमति लिएर ढुवानी गरिरहेका छन्। एकपटक अनुमति लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ। 'पेट्रोलियम ट्यांकरलाई दिने बुलेटलाई नदिने भन्न मिल्दैन,' घिमिरेले भने, 'यो व्यवसायीको मात्र नभएर सरकारकै विषय हो।'

तीन महिनाअघि अनुमतिको लागि पठाए पनि ढिलाइ हुनुको कारणबारे जानकारी नआएको नेपाल आयल निगम एलपिजी विभाग प्रमुख दीपक बरालले बताए। 'ग्यासको पहिलोपटक भएकाले केही अन्योल भएको हुनसक्छ,' बरालले भने, 'प्रमाणित गर्न रोक्नुपर्ने कुनै कारण छैन।' निगमले आइओसीसँगलामो समयदेखि काराबार गरिरहेकाले छिट्टै यो समस्या सुल्झिने आस गरेको बरालले बताए।

निगमले ५३ ग्यास उद्योगीलाई करिब सात सय बुलेट किन्ने अनुमति दिएपछि उद्योगीले भारतका विभिन्न उद्योगमा ग्यास बुलेट तयार गरिरहेका छन्। 'करिब चार सय बुलेट निर्माणको चरणमा छन्,' संघका अध्यक्ष घिमिरेले भने, 'अहिले रोकिएकाले अनुमति पाउना साथ अरु पनि प्रक्रिया जान्छन्।'

व्यवसायीले कूटनीतिक रुपमापहल गरेर तुरुन्त स्वदेशी बुलेटबाट ग्यास ढुवानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन्। एउटा ग्यास बुलेटको मूल्य करिब ७० लाख रुपैयाँ पर्छ। करिब चार सय बुलेट खदिरको लागि पौने तीन अर्ब रुपैयाँ लगानी भइसकेको व्यवसायीको दाबी छ।

भारतीय परनिर्भरता हटाउन सरकारले नेपाली व्यवसायीलाई ग्यास बुलेट किन्न अभिप्रेरित गर्न भन्सार महसुलमा छुट दिएको थियो। करोडौं लगानी गरेका बुलेटले ढुवानीको लागि अनुमति नपाउँदा व्यवसायी अन्योलमा छन्।

भारतका पारदीप, हल्दिया, बरौनी, पानीपतलगायत रिफाइनरीबाट ग्यास ल्याउने गरेको छ। नेपालमा मासिक करिब ३० हजार मेट्रिक टन ग्यास खपत हुन्छ। हरेक वर्ष ग्यासको खपत १८ देखि २० प्रतिशत वृद्धि हुँदै गएको निगमले जनाएको छ।

यसअघि सरकारले ग्यास बुलेट खरिदमा दिएको दुई तिहाइ भन्सार छुटमा आयातित ग्यास बुलेट वीरगन्ज भन्सार कार्यालयले लामो समय रोकेको थियो। पछि अर्थ मन्त्रालयले कानुनी अस्पष्टता हटाएपछि बुलेट छाडेको थियो।

नेपाल एलपी ग्यास उद्योग संघले यसअघि नै भारतीय ट्रान्सपोर्टरलाई सन् २०१७ बाट नेपाली बुलेटले नै ढुवानी गर्ने जानकारी गराइसकेको जनाएको छ। ग्यास ढुवानीमा नेपाली बुलेट नहुँदा भारतीय ट्रान्सपोर्टरले समय-समयमा दुःख दिने गरेका छन्। नेपालमा ४२ वर्ष अघिदेखि ग्यास प्रयोग गर्न थालिए पनि अहिलेसम्म भारतीय बुलेटले नै ढुवानी गर्दै आएका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App