६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

कृषि पकेट क्षेत्रमा लगाइएको बन्दाकोपी। तस्बिर: गणेश/नागरिक

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ। यस आर्थिक वर्षमा नेपालगञ्जको १६ नम्बर वडा जैसपुरलाई तरकारी पकेट क्षेत्र निर्माण गरिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नेपालगञ्जमा थप तरकारी पकटे क्षेत्र निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको कृषि शाखाले जनाएको छ।

तरकारी पकेट क्षेत्रका लागि जैसपुरको नसरा कृषक समूह छनोटमा परेको छ। नेपालगञ्जमा तरकारीको क्षेत्रफल बढाउन, आत्मनिर्भर बनाउन र आयात रोक्न तरकारी पकेटक्षेत्र निर्माण गरिएको कृषि शाखाकी अम्बिका रिजालले जनाइन्।

‘तरकारी पकेटक्षेत्रले आयातलाई केही हदसम्म कम गर्नेछ,’ उनले भनिन्, ‘आफ्नै ठाउँको ताजा तरकारीसमेत खान पाइने छ। यहाँका किसान कृषिमा आत्मनिर्भर समेत हुने अपेक्षा गरिएको छ।’

 तरकारी पकेट क्षेत्रका लागि पहिलो वर्ष ११ लाख रूपैयाँ खर्च हुने छ भने दोस्रो वर्ष करिब ६ लाख रूपैयाँ खर्च हुनेछ।

‘एउटा पकेट क्षेत्र कार्यक्रम दुई वर्ष चल्छ,’ उनले भनिन्, ‘कार्यक्रम राम्रो भयो भने निरन्तरता पाउँछ। उद्देश्यअनुसार भएन भने कार्यक्रम दोस्रो वर्षका लागि निरन्तरता दिँदैनौं।’

यो पकेट क्षेत्र निर्माणका लागि १० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुनुपर्ने उनको भनाइ छ। ‘यस कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन मदत पुग्नेछ,’ उनी भन्छिन्।

अहिले यहाँ बन्दाकोपी, काउली, फर्सी, लौका, काँक्रा लगायतका तरकारी लगाइएको नसरा कृषक समूहका अध्यक्ष सलम कवडियाले जनाए। ‘तरकारी राम्रो भएको छ,’ उनले भने, ‘हामीले पनि राम्रो गर्ने प्रयास गरेका छौं।’

गत वर्ष नेपालगञ्जले १९ नम्बर वडामा तरकारी पकेट क्षेत्र निर्माण गरेको थियो। यस वर्ष पनि उक्त तरकारी पकेट क्षेत्रलाई निरन्तरता दिइएको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको कृषि शाखाले जनाएको छ।

अहिले भारतीय बजारबाट ठूलो मात्रामा तरकारी तस्करी हुने गरेको बेलाबेला गुनासाहरू आउने गरेका छन्। विषादी प्रयोग गरिएका भारतीय तरकारीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आएको छ। नेपालगञ्जमा तरकारीको माग उच्च छ। स्थानीय उत्पादनले मात्र धान्न नसक्दा भारतीय बजारबाट तरकारी भित्रिने गरेको कतिपयको भनाइ छ।

यहाँका किसानले तरकारीबाट राम्रो उत्पादन गरेर बजारिकरण गर्न सक्नेछन्।

च्याउ पकेट क्षेत्र बनाइँदै

नेपालगञ्जमा कन्ये च्याउ पकेटक्षेत्र निर्माण गर्न थालिएको छ। च्याउ उत्पादनमा किसानलाई आकर्षित र आत्मनिर्भर बनाउन कन्ये च्याउ पकेटक्षेत्र निर्माण गर्न थालिएको हो।

यसभन्दा पहिला पनि नेपालगञ्ज उपमहानगरपालिकाले उक्त च्याउ पकेट क्षेत्र निर्माण गर्न थालेको थियो तर किसान, उनीहरूको समूह र सहकारीबाट प्रस्तावना आएको थिएन। त्यतिबेला दुईवटा मात्र प्रस्तावना आएको र उक्त प्रस्तावना मापदण्ड नपुगेकाले पुनः अहिले पकेटक्षेत्र निर्माणका लागि प्रक्रिया थालिएको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको कृषि शाखाले जनाएको छ।

कन्ये च्याउ पकेटक्षेत्रमा एक हजार बीउबाट च्याउ उत्पादन गर्नुपर्नेछ। ‘यसका लागि प्रस्तावना माग गरिएको छ,’ कृषि शाखाकी रिजालले भनिन्, ‘प्रस्तावना नेपालगञ्जका कृषक, कृषक समूह, सहकारीले दिन सक्नेछ।’

प्रस्तावना आएपछि नगरको आर्थिक विकास समितिको बैठकमा छलफल हुनेछ। त्यसपछि प्राविधिक समितिले अनुगमन गर्ने र अनुगमनपछि पुनः आर्थिक विकास समितिको बैठकले पकेट क्षेत्र छनोट गर्नेछ।

प्रकाशित: २२ वैशाख २०८० ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App