coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ब्याजदर नघटाएसम्म अर्थतन्त्र सुध्रिदैनः मल्होत्रा

मोवाइल वितरण संघको पोखरामा भएको केन्द्रीय साधारण सभामा सहभागि। तस्बिरः सन्देश/नागरिक

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन्।

नेपाल मोवाईल वितरक संघको केन्द्रीय साधारण सभामा शनिबार पोखरामा बोल्दै उनले समस्याग्रस्त अर्थतन्त्र बन्नुको मुख्य कारण महंगो ब्याजदर भएको बताएका हुन्। अर्थतन्त्र सुदृढ गर्न ब्याजदर घटाउनै पर्ने बताउँदै उनले भने, ‘जबसम्म ब्याजदर घट्दैन तबसम्म अर्थतन्त्र सुदृढ हुँदैन।’

मल्होत्राले ब्याजदर कुनै पनि हालतमा घटाउनुपर्ने बताए। उनले व्यापार ध्वस्त भईसकेपछि कर्जाको ब्याजदर घटाउनुको कुनै औचित्य नहुने बताए। त्यसैले समय छँदै ब्याजदर घटाउनुपर्ने बताउँदै उनले भने, ‘व्यापार ध्वस्त भईसकेपछि ब्याजदर घटाएर के फाईदा! मान्छे बेला नै हो औषधी खुवाउने। मरेपछि त किन खुवाउनु प¥यो औषधी?’  

मल्होत्राले बैंकसँग पैसा भएपनि राष्ट्रबैंकको नीतिका कारण कर्जा दिन नसकेको दाबी गरे। अर्थतन्त्र बिग्रिनसकेको बताउँदै उनले ब्याजदर घटाउने हो भने बिस्तारै अर्थतन्त्र सुध्रिने बताए। उनले अहिले कर्जाको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएकाले यसलाई बैंकले पछि तिर्नेगरी मिलाउनुपर्ने बताए। ‘त्यसो भयो भने व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्नका लागि भौतारिनुको सट्टा व्यवसायमा समय दिन थाल्छन्। व्यवसायीको व्यवसाय सप्रिन्छ र बैंकले पनि व्याज र किस्ता पाउँछ,’उनले भने।

मल्होत्राले अबको ३–४ दिन भित्रमा मोवाईलमा एमडिएमएस लागु हुने दाबी गरे। विदेशबाट फर्किनेले बोक्ने १–२ वटा मोवाईलको सम्बोधन गर्न केहि समय लागेपनि अब यो समाधानको बाटोमा गएको उनको भनाई छ। ‘नेपालमा ४० देखि ५० प्रतिशत मोवाइल चोरी पैठारीबाट आउँछ,’ उनले भने, ‘यसले गर्दा व्यवसायीले नोक्सानी बेहोर्छ, राज्यले राजश्व गुमाउँछ अनि उपभोक्ता ठगिने गर्छन्। त्यसैले यसको नियन्त्रणका लागि एमडिएमएस लागु गरेरै छाड्छौं।’

नेपाल मोवाईल वितरक संघका केन्द्रीय अध्यक्ष दीनेश चुल्याधोले नेपालमा करिब चारकरोड मोवाईल एक्टिभ रहेको र त्यसमध्ये २ करोड मोवाईल चालु अवस्थामा रहेको जानकारी दिए। मोवाईलमा मात्र झण्डै साढे ७ अर्ब लगानी रहेको र करीब ५० हजारले रोजगारी पाईरहेको उनले बताए।

मोवाईल अत्यावश्यक वस्तु भइसकेको जिकीर गर्दै उनले भने, ‘मोवाईल गाँस, बास र कपास जत्तिकै अत्यावश्यक भईसक्यो।’ उनले अवैध रुपमा भित्रिने मोवाइलका कारण व्यवसाय भने खस्केको बताए।

प्रकाशित: १६ वैशाख २०८० १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App