coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक समृद्धिमा सहकार्य गर्ने नेपालका लागि अमेरिकी राजदुतको प्रतिवद्धता

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मुलधारमा ल्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।  

राजदूत थम्पसनले व्यवसायीको दक्षता अभिवृद्धि, उद्यमशीलता र जलवायू परिवर्तन लगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य जारी रहने पनि बताए । राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँगको भेटमा अमेरिकी सरकार हाल जारी सहयोग परियोजनाहरुको निरन्तरताका साथै केही नयाँ कार्यक्रम सुरु गर्ने तयारीमा रहेको बताए।  

ती परियोजनाहरु नेपालको अर्थतन्त्र सुदृढीकरणको लागि महत्वपूर्ण हुन उनको भनाइ थियो। उनले भौगोलिक अवस्थिति अनुसार पोखरा सूचना प्रविधि उद्योगको लागि उपयुक्त भएको पनि बताए। ‘पोखरा युवाको रोजाइको सहर हो, सूचना प्रविधिका काम जहाँ बसेर पनि  गर्न सकिन्छ, मात्र सही सीप चाहिन्छ,’ उनले भने, ‘त्यसका लागि पोखरा उपयुक्त सहर बन्न सक्छ।’

उनले अमेरिकी सरकारबाट संचालित एमसीसी तथा अमेरिकी सहयोग नियोग (युएसएएड) मार्फत् भएका सहयोगले यहाँको विद्युत र यातायात एवं आर्थिक वृद्धिको लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे।

अमेरिकाले सन् १९६१ देखि संचालनमा ल्याएको पिस कर्प कार्यक्रम जारी रहने बताउँदै उनले आउँदो महिना पिस कर्पका स्वयंसेवक नेपाल आउने जानकारी दिए। ‘उनीहरुले शिक्षा र खाद्य सुरक्षाको क्षेत्रमा काम गर्नेछन्,’ उनले भने। भेटका क्रममा राजदूत थम्पसनले पोखराको औद्योगिक एवं व्यावसायिक वातावरण, महिला र युवा उद्यमशीलताबारे चासो राखेका थिए।  

राजदूत थम्पसन सहितको प्रतिनिधिमण्डलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अमेरिकी सहयोगले यो क्षेत्रको विकासमा सहयोग पुगेको बताए। नेपाल–अमेरिका दौत्य सम्बन्धको ७५ वर्षे यात्राक्रमको चर्चा गर्दै उनले भने, ‘सन् १९६१ देखि नेपाल आउन सुरु गरेका पिस कर्पका स्वयंसेवकबाट प्रदान गरिएको शिक्षा र व्यावसायिक तालिम एवं यो क्षेत्रको पर्यटन विकासको लागि प्रदान गरिएको सहयोगलाई  हामीले महत्वपूर्ण ठानेका छौं ।’  

पोखरा हिमालपार व्यापारको केन्द्र भएको बताउँदै कार्कीले पोखरा उद्योग वाणिज्य संघ  पोखरा र समग्र गण्डकी प्रदेशलाई हस्तकला, बास्तुकलाको केन्द्र बनाउने अभियानमा लागेको जानकारी गराए। नविनतम् प्रविधिको उपयोग, उत्पादित बस्तुको ब्राण्डिङ र बजारीकरण गर्न नसक्दा नेपाली व्यावसायी पछाडि परेको उल्लेख गर्दै उनले प्रविधि हस्तान्तरणको लागि अमेरिकासँग सहकार्य गर्न संघ तयार रहेको पनि बताए।  

संघकी उपमहासचिव शोभा गौतमले पछिल्लो समय पोखरामा महिला उद्यमशीलता फस्टाउँदै गए पनि महिलाकै नाममा सम्पत्ति नहुँदा, आवश्यक सीपको अभावले सोचेजस्तो अझै नभएको बताइन्।  

प्रकाशित: १५ वैशाख २०८० ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App