९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्थतन्त्रको समस्या समाधान गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राजस्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहकार्यमा बिहीबार विराटनगरमा आयोजित अन्तक्र्रियामा अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या रहेको स्वीकार गर्दै समस्या समाधानका लागि इमान्दार भएर काम गर्ने स्पष्ट पारे। उनले भने, ‘अर्थतन्त्रमा आएको शिथिलतालाई अन्त्य गर्न मौद्रिक नीति र वित्त नीति दुबैमा सुधार आबश्यक छ।’ महतले मौद्रिक नीतिलाई सुधार गर्ने जिम्मा राष्ट्रबैंकको भए पनि मौद्रिक नीति खुकुलो बनाउन राष्ट्रबैंको नेतृत्वलाई सरकारले भनिसकेको जानकारी दिए। ‘राष्ट्रबैंकको नेतृत्वले चाँडै आबश्यक नीति लिन निर्णयमा पुग्ने जवाफ दिएको  छ’ उनले भने, ‘म  राष्ट्रबैंकको निर्णय पर्खेर बसेकोछु।’ उच्च व्याजदरकै कारण बजारमा पूँजी प्रवाह नभइरहेको अर्थमन्त्री महतले बताए।

अर्थतन्त्रलाई चलायमान बनाउन बैंकको व्याजदर घटाउन धेरै ढीला नगर्ने पनि महतले स्पष्ट पारे। वित्त नीतिको नेतृत्व आफूले गरिरहेको र यसमा पनि सुधार ल्याउने उनले बताए। पूँजीगत खर्च नहुने समस्यालाई नीतिगत रुपमै समाधान गर्ने पक्षमा आफूरहेको महतले स्पष्ट पारे। पूँजीगत बजेट  खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए। ‘आगामी आर्थिक वर्ष देखि बजेट आएको डे वानबाटै काम सुरू गर्नुहोस्।’  अर्थतन्त्र सुधारका लागि  सरकारसँगै नीजि क्षेत्र पनि इमान्दार भएर लाग्नुपर्ने उनले बताए।  निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याएर एउटै लक्षकासाथ अर्थतन्त्रको सुधारमा लाग्नुपर्ने उनको भनाइ छ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कोही व्यक्तिलाई भन्दा समग्र अर्थतन्त्र र देशलाई फाइदा पुग्ने गरी बजेट ल्याउने उनले बताए। कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सीमानाका कारण भइरहेको चोरी तस्करी नियन्त्रणका लागि नीतिगत व्यवस्था गर्न माग गरेका छन्। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले सीमा क्षेत्रमा हुने चोरी पैठारीले नेपाली बजारको चहलपहल नै हराउन थालेको बताए। रिजालले खुल्ला सीमाका कारण हुने चारी पैठारी नियन्त्रण गर्न सरकारले आगामि बजेटमा नीतिगत व्यवस्था गर्न सुझाव दिए। रिजालले करिब २० वटा बस्तुमा मात्रै सरकारले भन्सारको दर परिवर्तन गरे अबैध आयात नियन्त्रणमा आउनसक्ने धारणा राखे। उनले राष्ट्रबैंकले लिएको मौद्रिक नीति, चालुपूँजी कर्जा र सीसीडी रेशियोका कारण नेपालको अर्थतन्त्र ध्वस्त भएको गुनासो गरे।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे चाँडो सञ्चालन गर्न माग गरे। अठार वर्ष पहिले साढे अठार किलोमिटर रेल्वे निर्माणका लागि काम सुरु भएकोे बताउँदै  साढे ७ किलोमिटर बनेर परीक्षण सम्पन्न भइसक्दा पनि आइसीपीसम्म रेल चल्न नसकेको गुनासो गरे। उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले सरकारले स्वदेशमा उत्पादन नबढाइ आयातलाई नियन्त्रण गर्दा तस्करीले प्रसय पाइरकेको गुनासो गरे।  

उनले भने, ‘चामल भन्दै चिनी तस्करी भइरहेको र पानीको नाममा रेड लेबल, ब्ल्याक लेबल, ह्विस्कीलगातका मदिरा आयात भइसकेको छ।’ घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरण गर्नुपर्ने भन्दै बाँझो खेत नराख्ने नीति ल्याउन सुझाव दिए। कोशी प्रदेशमा अघोषित लोडसेडिङले हैरान पारेको घिमिरेले बताए। अघोषित रुपमा दैनिक ९ घण्टासम्म लोडसेडिङ भइरहेको छ। ‘घोषित रुपमा लोडसेडिङ गर्न कुलमान घिसिङले लाज मानिरहेका छन्’ घिमिरेले भने। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य देवकीनन्दन अग्रवालले अवैध आयात रोक्न सके राजस्व सम्बन्धी समस्यासमेत समाधान हुने बताए।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भारतसँगको खुला सीमानाका कारण हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर परेको बताए। उनले खुल्ला सीमाका कारण ५० प्रतिशत खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तु चोरी पैठारी बाट आयात भइरहेको गुनासो गरे। उनले सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण नभई राजस्व पनि बढ्न नसक्ने स्पष्ट पारे।  

प्रकाशित: १४ वैशाख २०८० १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App