१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्लाका बगैंचामा स्याउ फुलेर सेताम्मे

यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

जुम्लामा उत्पादित स्याउ निकै स्वादिलो र स्वस्थकर मानिन्छ। चैत र बैशाख महिनामा स्याउ फुलेर सेताम्य हुन्छन् भने भदौ महिनामा स्याउ पाकेर राताम्य हुन्छन्।

जुम्लामा २०२२ सालदेखि स्याउ खेती सुरु भएको इतिहास पाइन्छ। त्यसबेला भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर स्याउ खेती सुरु गरिएको थियो। अहिले जुम्लाको ८ वटै स्थानीय तहमा स्याउ खेती गरिन्छ। जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् भने ६० वटा वडा छन्।

यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले ‘एक घर एक बगैंचा’ नीति ल्याएपछि किसानको मोह स्याउखेती तिर बढेको छ।

२०६४ सालमा जुम्लालाई अर्गानिक जिल्लाका रूपमा घोषणा गरेपछि  अर्गानिक स्याउ उत्पादन हुन थालेको हो। जुम्लामा  गोेल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, जातको स्याउ फल्ने गर्दछ।

केही वर्ष यता इटालिएन फुजी र गाला जातका स्याउको खेती पनि गरिएको छ । जुम्लाको स्याउ काठमाडौं, नेपालगञ्ज, बुटवल, पोखरालगायत सहरमा पुग्ने गरेको छ। सिञ्जा–६ का स्याउ किसान सौर्यबहादुर रोकायाले कर्णाली राजमार्ग खुलेदेखि जुम्लाको स्याउ विभिन्न ठाउँमा पुग्ने गरेको बताए। गुणस्तरीय स्याउ उत्पादन भए बजारको कुनै समस्या नहुने अनुभव उनले सुनाए।

दशक अघिसम्म सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट ढुवानी गरेरै स्याउ बिक्री हुन्थ्यो। कर्णाली राजमार्ग कालोपत्रे भएदेखि जिल्लाबाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा बढेको छ।

स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान खुसी हुने गरेका छन्। यस्तै अर्का स्याउ किसान जयलाल रावतले जुम्लाको स्याउको पहिचान भिन्नै रहेको बताए। यो समयमा स्याउको फूल फुल्ने र कोपिला लाग्ने बेला हो । पटकपटक असिना पानी पर्ने गरेकाले उत्पादनमा पनि ह्रास आउने गरेको छ। कालोतुसारो लागेर स्याउ चिचिलामै झारिरहने समस्या पनि उत्तिकै छ।

दशक अघिसम्म सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट ढुवानी गरेरै स्याउ बिक्री हुन्थ्यो। कर्णाली राजमार्ग कालोपत्रे भएदेखि जिल्लाबाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा बढेको छ।

जुम्लामा १६ हजार स्याउ बगैंचा रहेका छन्। १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरमा स्याउ बगैंचा स्थापना भएको कृषि कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए। उनका अनुसार जुम्लामा अहिले ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। हरेक वर्ष जुम्लामा स्याउको क्षेत्रफल बढ्दै गएको छ ।

प्रकाशित: १२ वैशाख २०८० ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App