३ आश्विन २०७७ शनिबार
अर्थ

बाजेदेखि नातिसम्म व्यावसायिक कृषि

खोटाङ- बाँझेच्यानडाँडा-९ मबुका संग्राम राई जिल्लामा युवा किसानका रूपमा परिचित छन्। धारेढुंगा, पानीकुवा, मिनसेरुवा, मझौले, ढिलाबु लगायत ६० रोपनी जग्गामा उनले अलैंची लगाएका छन्। अलैँचीबाट वार्षिक १५ मन उत्पादन हुन्छ। उनका अनुसार १३ रोपनी जग्गामा व्यावसायिक रूपमा सुन्तलाखेती लगाइएको छ। हाल सय बोट सुन्तलाले फल दिन थालेको छ। अलैंचीको एउटा बोट १० रुपैयाँमा बिक्री हुन्छ। उनको बगैंचामा उत्पादित अलैंचीका बेर्ना ओखलढुंगा, भोजपुर, उदयपुर, धनकुटा र इलामसम्म पुगेको छ।

संग्रामले बाजेको पालादेखिको व्यावसायिक कृषिलाई अगाडि बढाएका हुन्। उनका हजुरबुवा पर्खनबहादुर राई जिल्लामा 'अलैँचीका पिता'का रूपमा चिनिन्थे।

कात्तिक ६ गते निधन भएका बाजे पर्खनबहादुरले अलैंची र चिया रोप्न, माछा पाल्न नपाइने जमानामा व्यावसायिक कृषिखेती सुरु गरेकामा राजकाजी मुद्दा खेपेका थिए भने लालटिन बालेर रातका समयमा समेत काम गरेर प्रसिद्धि कमाएका किसान हुन्। त्यस्तै, संग्रामका बुवा ध्यानबहादुर पनि 'एउटा हाँगोबाट कटिङ गरेर जुनसुकै बोटबिरुवाको नर्सरी उत्पादन'मा दख्खल राख्छन्।

बाजेले सुरु गरेको कामलाई बाबु ध्यानबहादुर र काका गणेशले निरन्तरता दिए, त्यसैलाई काँध दिइरहेका छन्, संग्रामले। बाजेले थालेको कृषि पेसालाई समयानुकूल परिमार्जन गर्दै लैजाने अभियानमा निरन्तर खटिरहेका छन् उनी।

कृषि स्रोत केन्द्र

बाबु र बाजेले घर वरिपरिका बगानमा लगाएका बोटबिरुवाको संरक्षण एवं नयाँ–नयाँ प्रजातिका र मूल्यवान बोटबिरुवा थप गर्न व्यस्त रहन्छन् संग्राम।

बाजेकै प्रेरणाले उनले ०६२ मा स्थापना गरेको डाँडाखर्क बहुउद्देश्यीय कृषि फर्मलाई ०६७ मा डाँडाखर्क बहुउद्देश्यीय कृषि स्रोत केन्द्र बनाएर व्यावसायिक कृषि गरिरहेछन्। उनको कृषि स्रोत केन्द्र जिल्लामा विभिन्न थरीका फलफूल, बेर्ना तथा माछा उत्पादनमा चर्चित छ। व्यावसायिक कृषि पेसाबाट आउने आम्दानीले नै उनको परिवारको आर्थिक गर्जो टरिरहेको छ। उनका अनुसार घरखर्च कटाएर वर्षमा तीन–चार लाख आम्दानी हुन्छ। उनको आम्दानीको मुख्य स्रोत अलैँची दाना र अलैँची बेर्ना हो। स्वास्थ्यका दृष्टिकोणले नियमित शारीरिक अभ्यास हुने तथा स्वस्थ, ताजा खाद्यान्न, तरकारी र फलफूल उत्पादन गर्न सकिने भएकाले कृषि पेसालाई नै रोजेको संग्राम बताउँछन्। 'बाजेले खेती किसानीमै जीवन बिताए, बाबु पनि खेतीपातीमै जम्नुभयो, मेहनत गरे कृषि सम्भावना भएकै क्षेत्र हो,' संग्रामले भने, 'कृषिलाई सम्मानित पेसाका रुपमा स्थापित गराउन जरुरी छ, त्यसैले मैले यो रोजेँ।'

कृषिप्रतिकै लगावले उनलाई जिल्लामा सफल युवा किसानका रूपमा स्थापित गराएको छ। मंसिर २९ र ३० गते दिक्तेलमा आयोजित बृहत व्यावसायिक कृषि मेला, कृषक दिवस तथा औद्योगिक प्रदर्शनी समापन अवसरमा कृषि क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्‍याएकामा उनी राष्ट्रपति पुरस्कारबाट पुरस्कृत भए।

थरीथरीका फलफूल

तीनपुस्ते मेहनतका कारण अलैँची, आल्चा, हलुवाबेद, सुन्तला, नासपाती, लब्सी, रुद्राक्ष, ठेकीफल, किबी, एभोकार्डो, अम्बा, भोक्से, निबुवा, कागती, ग्राउन्ड एपल, स्ट्रेबेरी, जापानिज काँक्रो, माछा, मौरी लगायतले बगान ढाक्दो छ। यस्तै, लोठसल्ला, बुद्धचित्त, फलाँट, दाबिलो, रानी चाँप, कन्या चाँप, साधन, कुट्की, पाखनबेद, पदमचाल, हाडजोडा, कञ्चिरना, निभारो, खन्यु लगायत 'लेकदेखि बेंसी'सम्म हुने बोटबिरुवाले घरवरपरको जग्गा हराभरा छ। यो सबै बाजेदेखि नातिसम्मको मेहनतको फल हो। 'थरीथरीका फलफूल लगाइएकाले बाह्रैमास फलफूल पाक्छ, चाहेको बिरुवा त्यही मिल्छ,' राईले भने, 'यहाँ आएका जोकोहीले रित्तो हात फर्कन पर्दैन।'

बगानमा पाँच किसिमका नासपाती, चार किसिमका अम्बा तथा विभिन्न प्रजातिका हलुवाबेद लटरम्म फल्छ। उनले १० वटा पोखरीमा रेम्बो ट्राउट, ग्रासकार्प, कमनकार्प, टिलापिया प्रजातिका माछा उत्पादन गर्छन्। टिलापिया जातको माछा जिल्लामै पहिलोपल्ट भिœयाइएको संग्रामको दाबी छ। घरछेउ घुर्‍यानमा रहेको पोखरीमा हुर्किएका माछा प्रतिकेजी ५ सयका दरले गाउँमै बिक्री हुन्छ।

माछापोखरीमा प्रयोगपछिको पानीलाई अलैंचीबारीमा उपयोग गरिएको छ। पछिल्लो समय उनीहरुको सिको गर्ने पनि उत्तिकै बढ्दो छ।

कृषिको व्यवसायीकरणकै लागि उनले ०७१ मा कृषि डिप्लोमा र ०६२ मा जेटिए उत्तीर्ण गरे। कृषि अनुसन्धान परिषद् नार्कमा नौ महिना काम गरेको, पञ्च मावि दिक्तेलमा एक वर्ष कृषि प्राविधिक शिक्षा पढाएको, कृषि मन्त्रालयको माछा विभागमा केही समय काम गरेको अनुभवलाई उनले आफ्नो बगानलाई व्यावसायिक बनाउन उपयोग गरिरहेका छन्।

'पैसाका लागि विदेश ताक्न वा अरु जागिर खान पर्छ भन्ने छैन,' संग्रामले भने, 'आफ्नै माटोमा श्रम गरे पुग्छ, चाहेको कुरा यसैबाट पुग्छ।' बाजे पर्खनबहादुरकै बाटो पछ्याउने क्रममा संग्रामका दाइ नीरबहादुर कृषि विकास कार्यालय धनकुटामा बाली संरक्षण अधिकृत छन्। उनकी कान्छी बहिनी समिता पनि कृषि जेटिए अध्ययनरत छिन्।

प्रकाशित: १५ माघ २०७३ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App