१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साढे ४ प्रतिशतसम्म ब्याजमा ऋण दिन बेलायती संस्थाको प्रस्ताव

काठमाडौं- युरोपको एक वित्तीय संस्थाले नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ सस्तो ब्याज दरमा उपलब्ध गराउने प्रस्ताव गरेको छ। युरोपेली राष्ट्र बेलायतमा रहेको उक्त वित्तीय संस्थाले न्यूनतम तीनदेखि अधिकतम साढे चार प्रतिशत वार्षिक ब्याज दरमा ऋण उपलब्ध गराउने प्रस्ताव गरेको हो। यो प्रस्ताव लिएर उक्त संस्थाको भारत नयाँदिल्लीस्थित कार्यालयका एक उच्च अधिकारी नेपाल आएका थिए।

'वार्षिक तीनदेखि साढे चार प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने प्रस्ताव लिएर बेलायतस्थित एक वित्तीय संस्थाका अधिकारी आएका थिए,' निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बुधबार नागरिकसँग भने, 'उनीहरूको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं। अहिले मौखिक प्रस्ताव आएकाले अब लिखित प्रस्ताव पेस गर्न भनेका छौं।' उनले प्रस्तावक संस्थाको नाम भने उल्लेख गर्न चाहेनन्।

अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले अनुमोदन गरेपछि अब पैसा जोहो गर्नतिर व्यवस्थापन लागेको छ। जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्ने छ।

बेलायतस्थित उक्त वित्तीय संस्थाबाहेक युरोपकै अन्य केही वित्तीय संस्थाबाट पनि सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने प्रस्ताव आएको कंसाकारले जानकारी दिए। 'सबैले दुईदेखि बढीमा चार वा साढे चार प्रतिशत ब्याजमा ऋण दिने मौखिक प्रस्ताव गरेका छन्,' उनले भने, 'हामीलाई स्वदेशी तथा विदेशी वित्तीय संस्थाबाट आएको प्रस्ताव हेर्दा सरल ब्याज दरमा ऋण लिने विकल्प प्रशस्त छन्।'

उनका अनुसार स्वदेशका हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक तथा सरकारी बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडसँग पनि ऋणका लागि कुराकानी भइरहेको छ। हिमालयन, इन्भेस्टमेन्ट र नबिलले लिखित प्रस्ताव पेस गरेका छन् भने राष्ट्रिय वाणिज्य र नेपाल बैंकसँग मौखिक कुराकानी भइरहेको छ।

राष्ट्रिय ध्वजावाहक निगमलाई दुईथान वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले गत असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो। अर्थको जमानीपत्र आउनुअघि भदौ २९ मै कर्मचारी सञ्चय कोषले वायुसेवा निगमलाई दुइटा वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो। कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिले पनि कोषले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफल भने हुन बाँकी छ।

सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ। यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ। सरकारी वित्तीय संस्थाबाहेक निजी क्षेत्रका 'क' वर्गका हिमालयन, इन्भेस्टमेन्ट र नबिल बैंकले जहाज खरिदका लागि आवश्यक रकम सहवित्तीयकरणमा उपलब्ध गराउन तयार रहेको प्रस्ताव पेस गरेका हुन्। 'तर, कसको नेतृत्वमा ऋण प्रवाह गर्ने भन्ने निर्णय हुन बाँकी छ,' एक बैंकका अधिकारीले भने।

एएआरको प्रस्ताव अनुमोदन भएपछि उताबाट गत साता नेपाल आएका दुई उच्च अधिकारीसँग निगमका अधिकारीहरूले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्न केही दिन वार्ता समेत गरिसकेका छन्।

'वार्ता गरेर एएआरको टोली फिर्ता भइसक्यो,' महाप्रबन्धक कंसाकारले भने, 'यो साताभित्र हामी इमेलमार्फत समझदारीपत्रमा हस्ताक्षर गर्ने छौं। त्यसपछि बल्ल द्विपक्षीय खरिद–बिक्री सम्झौताको प्रक्रिया अगाडि बढ्ने छ।'

उनका अनुसार अब पहिलो वाइड बडी आगामी २०७४ मंसिरमा र दोस्रो वाइड बडी त्यही वर्ष फागुन अन्तिमसम्ममा काठमाडौं अवतरण गर्ने पक्कापक्की भएको छ। पुरानो मितिअनुसार भने पहिलो वाइड बडी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी आउने तालिका थियो। 

निगमलाई युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान वाइड बडी जहाज बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। तीमध्ये एएआर कर्पोरेसनले सबैभन्दा सस्तो मूल्यमा दुईथान वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो। उसले 'ब्रान्ड न्यु' (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको छ।

निगमले दुईथान वाइड बडी जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

निलम्बित क्याप्टेनसँग थप स्पष्टीकरण

नेपाल वायुसेवा निगम व्यवस्थापनले चिनियाँ वाई१२–ई जहाज उडाउने ण्वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईलाई अर्को स्पष्टीकरण सोधेको छ। यसअघि 'आफूभन्दा माथिका पदाधिकारीलाई अभद्र व्यवहार गरी पदअनुसार आचरण पालना नगरेको' भन्दै स्पष्टीकरण सोधिएको थियो।

पहिलो स्पष्टीकरण सोधिएको एक महिनापछि मंगलबार निगम व्यवस्थापनले 'वाई१२–ई जहाज उडान नगर्न अरू पाइलटलाई उचाली परिपञ्च रचेको' भन्दै क्याप्टेन भट्टराईलाई सात दिनभित्र चित्तबुझ्दो लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिइएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार भट्टराईलाई दिइएको पत्रमा 'सात दिनभित्र जवाफ नदिए निगगमको सेवामा भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्न सकिने' उल्लेख छ।

यसबारे निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्थाको नीति–नियम उल्लंघन गरेका कारण क्याप्टेन भट्टराईलाई कारबाही गरिएको बताए। 'क्याप्टेन भट्टराईलाई अनुशासनको कारबाही गरिएको हो,' उनले भने, 'जहाज उडाउने विषयमा हेल्चेक्र्याइँ गरेको तथा विभागीय प्रमुखमाथि अनुशासनहीन व्यवहार गरेपछि निलम्बन गरेका हौं। अबको स्पष्टीकरणको जवाफ हेरेपछि मात्र के कारबाही गर्ने भन्ने निर्णय हुन्छ।'

चिनियाँ जहाज उडाउन पाइलटको खडेरी परेका बेला व्यवस्थापनले क्याप्टेन भट्टराई र अर्का क्याप्टेन सञ्जयबादे श्रेष्ठलाई निलम्बन गरेको छ। सम्बद्ध स्रोतले क्याप्टेन भट्टराईलाई 'नियतबस' निलम्बन गरेको दाबी गरेको छ। वाई१२–ई जहाज कमान्ड गर्न निगमसँग जम्मा चारजना मात्र क्याप्टेन छन्। तीमध्ये एकैचोटि दुईजनालाई निलम्बन गरेपछि उडान प्रभावित भएको छ।

'निगमको उडान सञ्चालन (अपरेसन) विभागका निर्देशक वरिष्ठ क्याप्टेन आरके (रविन्द्रकुमार) शेरचनले क्याप्टेन भट्टराईलाई वाई१२–ई जहाजबाट लुक्लाका लागि 'प्रुभिङ फ्लाइट' गर्नैपर्छ भनेपछि उनले लुक्ला उडान नगरेको लामो अवधि भएकाले नसक्ने जानकारी दिएका थिए,' स्रोतले भन्यो, 'त्यसको ४३ दिनपछि महाप्रबन्धक कंसाकारको हस्ताक्षरसहित आएको पत्रमा 'आफूभन्दा माथिका पदाधिकारीलाई अभद्र व्यवहार गरी पदअनुसार आचरण पालना नगरेको' भन्दै स्पष्टीकरण सोधिएको थियो।'

स्रोतका अनुसार दुवै क्याप्टेनले स्पष्टीकरण पेस गरेको १५ दिनपछि अपरेसन विभागका निर्देशक शेरचनले टेलिफोनबाट 'अर्को सूचना नआउन्जेल उडान नगर्नू' भन्ने आदेश दिएका थिए। निलम्बनमा परेका वरिष्ठ क्याप्टेन भट्टराई अपरेसन विभागअन्तर्गत आन्तरिक उडानका उपनिर्देशक थिए। तर, माथिल्लो तहबाट काममा 'हस्तक्षेप र अनावश्यक दबाब' बढेपछि उनले गत कात्तिक ४ गते पदबाट राजीनामा दिएर उडानमा फर्किएका थिए।

प्रकाशित: १३ माघ २०७३ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App