४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र एकसयवटा नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो।  

सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गरे। न्यून आय भएका व्यक्तिको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ।  

पोखरा महानगरपालिका क्षेत्रभित्र रहेर सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो। महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम सातलाख रुपैयाँसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ।  

लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सातलाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछ। उक्त कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याज लाग्ने भने यस बाहेक सेवा शुल्क भने लिइने छैन। सम्झौताको कुल रकम सात करोड रुपैयाँ रहेको छ। प्रत्येक लाभग्राहीलाई ७ लाख रुपैयाँका दरले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र ११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ। सम्झौता अनुसार १ वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ।  

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवासविहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने बताए। महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ। ‘हामी अहिले उनीहरुलाई निस्सा वितरण गरिरहेका छौं’, प्रमुख आचार्यले भने, ‘यसले घर नहुनेलाई घरको मालिक बनाउने छ।’ आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घर निर्माण गर्ने उनले बताए।  

लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरु लागि रहेको बताइन। पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना  सेवा विकास बैंकको सहयोगमा हालसम्म १०३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा ६ वटा नयाँ गरी १०८८ घर निर्माण गरिएको उनले बताईन। यस परियोजनाले कम लागतमा भूकम्प प्रतिरोधात्मक घर निर्माण र गरिबी न्यूनीकरणमा सहयोग पुगेको मानन्धरले बताईन।  

सम्झौताको तेस्रो पक्ष कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले लुमन्ती र पोखरा महानगरपालिकासगँको सहकार्यमा आवास विहीनको आवास निर्माण कार्यमा साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे।  

प्रकाशित: ५ वैशाख २०८० १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App