१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटन व्यावसायीको प्रधानमन्त्रीलाई अनुरोध: पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहल गरिदिनुपर्यो

भारत भ्रमणमा जाँदा हवाई रुटबारे कुरा गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री समक्ष मागपत्र पेश गर्दै पोखराका पर्यटन व्यावसायी। तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको साढे तीनमहिना बितिसकेको छ। गत पुस १७ गते विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका थिए। दाहालले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकास गर्ने र विमानस्थल निर्माण गर्नु सबैको सपना भएको त्यो बेला बताएका थिए।  

प्रधानमन्त्री दाहालले उद्घाटन गरेको त्यो विमानस्थलबाट तत्कालै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए। तर, व्यावसायीको त्यो अपेक्षा साढे तीनमहिना बित्नै लाग्दा पनि पुरा भएको छैन। अन्तर्राष्ट्रिय उडानको त्यही अपेक्षा पुरा गराउन माग गर्दै पोखरेली पर्यटन व्यावसायीले प्रधानमन्त्रीलाई नै गुहारेका छन्। व्यावसायीले जतिसक्दो छिटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरि पहल गरिदिन समेत आग्रह गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने व्यवस्था छिटो गराईदिन उनीहरुको माग छ।

व्यावसायीले मागपत्र पेश गरेपछि प्रधानमन्त्री दाहालले आफुभारत भ्रमण जाने क्रममा हवाई रुटबारे कुरा गर्ने वचन दिएका छन्। प्रधानमन्त्री दाहाललाई भेट्न पुगेको टिममा रहेका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीका अनुसार भारत भ्रमणको क्रममा हवाई रुटबारे प्रस्ताव राख्ने आश्वासन व्यवसायीलाई प्रधानमन्त्रीले दिएका छन्। ‘म भारत भ्रमणमा जाने बेलामा हवाई रुट बारे कुरा गर्नेछु,’ प्रधानमन्त्रीको भनाई उद्घृत गर्दै मुल्मीले भने।

त्यो बेला मुल्मीले प्रधानमन्त्रीलाई हवाई रुटमा परेको समस्या र नयाँ मार्गबारे प्रस्ताव राख्न पनि सुुझाएका थिए। मुल्मीका अनुसार अहिले सुरक्षाको कारण देखाउँदै भारतले गोरखपुरको आकाशबाट हवाई रुट दिन मानेको छैन। तर, गोरखपुरबाट ११० किलोमिटर पश्चिम पर्ने कपिलबस्तुको कृष्णनगरको बणनी नाकाको आकाशबाट हवाई रुट दिन सक्ने अवस्था भएमा पहल गरिदिन मुल्मीले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। मुल्मीको प्रस्तावपछि प्रधानमन्त्री दाहालले नयाँ रुटबारे सम्भावना भए नभएको बुुझने जवाफ दिएका थिए।  

त्यसबाहेक पर्यटन क्षेत्रलाई चलायमान बनाउन आक्रामक रुपमा बजारीकरण गर्ने जरुरी रहेको भन्दै व्यवसायीले सुुझाएका थिए। ‘लगानी निरुत्साहित गर्नु भएन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौ। नेपाली पर्यटन बजारको बजारीकरण आक्रामक रुपमा भएको छैन। आक्रमक रुपमा प्रवद्र्धनात्मक गतिविधि नभएसम्म पर्यटन चल्दैन भनेर हामीले भनेका छौ,’ मुल्मीले भने, ‘थोरै पैसामा धेरै गन्तव्य घुम्न पाइने देश नेपाल हो। तर, पर्यटकलाई नेपाल भित्रिन महंगो पर्ने भएकोले पर्यटकले चाहेर पनि आउन सकेका छैनन। त्यसैले पोखराबाट भारत र चीनका सहरसम्म उडान गर्नका लागि प्रस्ताव पनि व्यवसायीले गरेका छौ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि प्रधानमन्त्री दाहालबाट भारत भ्रमण जाँदा प्राथमिकताका साथ हवाई रुटबारे कुरा गर्ने जवाफ पाएको बताए। ‘पोखराबाट भारत र चीनसम्म उडान गर्नका लागि आफ्नो भ्रमणको एजेन्डा बनाउने प्रधानमन्त्रीले बचन दिनुभएको छ,’ श्रेष्ठले भने, ‘हामी अलिकति आशावादी भएका छौ। हवाई रुट नभएका कारण पोखरासम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान नभएसम्म पाुहना आउन नसक्ने हामीले प्रधानमन्त्रीलाई जानकारी गराएका छौ ।’  

त्यसबाहेक व्यवसाय ओरालो लाग्दै गर्दा भने बैंक तथा वित्तीय संस्थाको ब्याजदर उकालो लागेकोमा प्रधानमन्त्रीलाई व्यावसायीले गुनासो पोखेका थिए। ‘पर्यटन व्यवसायी दुईथरी चपेटामा परेका छौं, पाहुना आएका छैनन्, व्यवसाय चौपट छ, बैंकले ताकेता गरेका ग¥यै छन्, किस्ता र ब्याज बुझाउन सकेका छैनौ,’ व्यावसायीले भने, ‘७–८ प्रतिशतको ब्याजदर दोब्बर वा त्यो भन्दा माथि पुगेको छ।’

प्रधानमन्त्री समक्ष व्यवसायीले मागपत्र पेश गर्दै व्यवसायमा आएको गिरावट र चर्काे बैंक ब्याजदरकै कारण कतिपय पर्यटनकर्मीले व्यवसायबाट हात धोइसकेकाले व्यावसायी बचाउन पनि आग्रह गरेका थिए। व्यावसायीले कर्जा तिर्न नसकेको भन्दै कर्जाको पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरे। बैंक ब्याजदर एकल अंकमा झार्न पनि उनीहरुको माग छ। त्यसैगरि  बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नीतिलाई ब्यूताइदिन पनि आग्रह गरेका छन।  

त्यस्तै स्थलमार्ग हुदै भित्रिने पर्यटकहरुलाई सहज र मुख्य शहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरुको सुधारलाई गति दिनुपर्ने पनि माग राखेका छन्। देश र विदेशमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्न पनि सरकारसँग व्यावसायीको माग छ। पर्यटन बोर्डको बजेट नितान्त पर्यटन प्रवद्र्धनका लागि मात्रै खर्च गर्न, मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड अनिवार्यको व्यवस्था खारेज गर्न पनि व्यावसायीको माग छ।  

पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्नुपर्ने, मोटर जाने ठाउँमा गाइड र सहयोगीको नियम व्यावहारिक नभएको व्यवसायीको तर्क छ। त्यस्तै साहासिक पर्यटनको मुख्य गन्तब्य पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडानलाई असर नगर्ने गरी पूर्ववत ठाउँमा स्थापित गर्न पनि व्यवसायीले माग गरेका छन्। अहिले पोखराको आकाशको प्याराग्लाइडिङ सराङकोटबाट बिस्थापित भई झन्डै पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा पुगेको छ।  

प्रकाशित: २८ चैत्र २०७९ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App